सरकारले राज्य असफल बनाउने कार्य बन्द गर्नु पर्छः कांग्रेस केन्द्रिय सदस्य गिरी
Tuesday, November 10th, 2026, 8:04 am
Kalpristha
कालपृष्ठ समाचारदाता
बुटवल, २३ कात्तिक
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य निमा गिरीले राज्यका विभिन्न तह र संस्थामाथि निरन्तर आरोप लगाएर बदनाम गर्ने तथा राज्य संयन्त्रलाई कमजोर बनाउने कार्य बन्द गर्न सरकारलाई आग्रह गर्नु भएको छ । फरक अभिमत राख्ने दल, व्यक्तिहरुलाई बदनाम गराउन लगाइएका आरोप पुष्टि नभए राज्यका संस्थाप्रति जनविश्वास कमजोर हुँदै उहाँले बताउनु भयो ।

………..
नेतृ गिरीले वर्तमान सरकारले राजनीतिक संस्कार परिवर्तन गरेर भाइरल संस्कारमा प्रवेश गरेको आरोप लगाउनु भयो । राज्य सञ्चालन गर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरूले विभिन्न निकाय र संस्थामाथि आरोप लगाउँदै समग्र राज्य व्यवस्थालाई नै असफल बनाउने दिशामा अघि बढेको उहाँको भनाइ थियो।
नेपाली कांग्रेसका कार्यकर्ताले राज्य सञ्चालकलाई उनीहरूले बुझ्ने भाषामै जवाफ दिनुपर्ने उहाँको भनाई थियो । राजनीतिक संस्कार र संस्थागत मर्यादा कायम राख्नुपर्नेमा जोड दिँदै गिरीले आरोपको राजनीति नभई तथ्य र प्रमाणका आधारमा विषय उठाउनुपर्ने धारणा राख्नु भयो ।
नेपाली कांग्रेसले सुरु गरेको ‘प्रविधिमैत्री वडा अभियान’ अन्तर्गत रुपन्देहीका चार स्थानीय तहमा केन्द्रीय प्रतिनिधिका रूपमा खटिएकी गिरीले पहिलो चरणको जिम्मेवारी पूरा गर्नु भएको छ । उहाँले बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा अभियानअन्तर्गत तोकिएको जिम्मेवारीको पहिलो चरण सम्पन्न गर्नु भएको हो ।

…………
अभियानका क्रममा स्थानीय तहमा पार्टीको संगठनात्मक गतिविधि, प्रविधिको प्रयोग र वडा तहसम्म प्रविधिमैत्री कार्यशैली विकास गर्ने विषयमा छलफल तथा समन्वय गरिएको जनाइएको छ।राजनीतिक आरोप–प्रत्यारोपभन्दा तथ्य, प्रमाण र जिम्मेवार अभिव्यक्तिमार्फत राज्यका संस्थाप्रतिको विश्वास कायम राख्नुपर्ने नेतृ गिरीको भनाइ छ।