आईएनएफले मनायो मानपुरमा ७४औं स्थापना दिवस
Friday, November 20th, 2026, 11:07 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ मंसिर
आईएनएफले बुधबार नेपालगन्जमा ७४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा जानकी–३ मानपुरस्थित साइनिङ्ग अस्पताल, परिसरमा आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र पुन मगरले कुष्ठरोग उपचारमा आईएनएफ साइनिङ्ग अस्पतालले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भयो । उहाँले अस्पताललाई प्रदेश सरकारका तर्फबाट गर्न सकिने सहयोगका लागि प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँके प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक रोशनलाल चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
आईएनएफ अस्ट्रेलियाका सिईओ रिचर्ड रीभले नेपालका लागि गरिरहेको सहयोग र आगामी परियोजनाबारे बताउनु भयो । यस्तै साइनिङ्ग अस्पतालबाट उपचार सेवा लिएका गुलाम हसमत साई र निर्मला थापाले आफ्नो उपचार अनुभव सुखद रहेको बताउनु भयो ।
आईएनएफ बोर्ड सदस्य सविना तिवारीको अध्यक्षतामा सम्पन्न ७४औं स्थापना दिवस कार्यक्रममा आईएनएफका मेडिकल सर्भिसेस डाइरेक्टर डा. अरुण कुमार बुढाले संस्थाको स्थापना, विगत र वर्तमान तथा भावी कार्यदिशाबारे बताउनु भयो । कार्यक्रम संचालन आईएनएफ साइनिङ्ग अस्पतालका प्रशासकीय अधिकृत नरेन्द्र साउदले गर्नु भयो ।
सन् १९५२ मा नेपालमा स्थापित आइएनएफले हाल गण्डकी, लुम्बिनी, कर्णाली गरी चार प्रदेशका ११ जिल्लामा कार्य क्षेत्र बनाएर काम गरिरहेको छ । हरेक वर्ष नोभेम्बर १७ मा आईएनएफ दिवस मनाइन्छ ।