युनियन बाँकेको लेखनवृत्ति प्रतियोगिता- २०८३ मा थारु लेहङ्गको बढ्दो माग शीर्षकको स्टोरी प्रथम
Friday, November 20th, 2026, 10:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ मंसिर
नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार महिला लेखनवृत्ति प्रतियोगिता–२०८३ मा बिमला चौधरीले लेखेको स्टोरी प्रथम भएको छ । प्रेस युनियन बाँकेले विगत ३ वर्षदेखि गर्दै आएको छ ।
यस पटकको कार्यक्रममा चौधरीको “थारु लेहङ्गको बढ्दो मागसँगै चम्किँदै गिताको उद्यमशीलता, मासिक डेढ लाख आम्दानी” शीर्षकको स्टोरी उत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।
प्रतियोगितामा ममता थापाले लेखेको स्टोरी द्वितीय भएको छ । “थापाको घुँघट र अशिक्षाको पर्खाल भत्काएर सत्ताको जिम्मेवारी सम्हाल्ने आँट गरेका जनप्रतिनिधि” शीर्षकको स्टारीले दोस्रो उत्कृष्ट हुन सफल भएको हो ।
यस्तै सुमित्रा पण्डितले लेखेको स्टोरी तृतीय भएको छ । पण्डितको “मुना हमालको संघर्षदेखि नेतृत्वसम्मको प्रेरणादायी यात्रा” शीर्षकको स्टोरी उत्कृष्ट तेस्रोमा परेको छ । यस वर्षको प्रतियोगितामा छ जना पत्रकार महिलाले सहभागिता जनाएका थिए । जसमध्ये साहिदा साहले लेखेको आशाका सपना, साहस, संघर्ष र दोहोरो जिम्मेवारी शीर्षकको स्टोरीले सान्त्वना स्थान हासिल गर्न सफल भएको हो ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय शुधान्सु कोइराला, सीता काफ्ले, लुम्बिनी प्रदेश सभा सदस्य, पुर्व मन्त्री बादशाह कुर्मी र नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डेले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको हो ।
बिजेताहरुलाई क्रमश नगद आठ, पाँच, तीन र एक हजारका दरले पुरस्कृत गरिएको छ । तीन सदस्य निर्णायक समितिले छ वटै स्टोरीको अध्ययन पश्चात निर्णय गरिएको युनियनका सचिव भिष्म लोधले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य कोइरालाले लोकतन्त्रको रक्षा केवल पत्रकारले गर्न सक्ने भएकाले पत्रकारिता जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । पत्रकारिता समाचार सम्प्रेष्ण मात्रै नभएर समाजमा चेतना फैलाउने कार्य पत्रकारिता भएको र यसले समाजको समस्या समाधानमा उल्लेखनीय भूमिका हुने बताउनुभयो ।
यसैगरी केन्द्रीय सदस्य काफ्लेले पत्रकार महिला लक्षित गरिएको यो कार्यक्रम एकदमै राम्रो रहेको बताउनुभयो । उहाँले प्रेस युनियनले गर्दै आएको यो कार्यक्रमले पत्रकार महिलाको क्षमता विकासमा सहयोग पु¥याउने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता बादशाह कुर्मीले पत्रकारिताकै कारण समाजको कुरा उठान हुने भएकाले यसलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । ‘बोल्न नसक्नेहरुको आवाज पत्रकार हुन्, उहाँले भन्नुभयो, प्रेस स्वतन्त्रताका लागि नेपाली काँग्रेस हमेश पत्रकारको साथमा छ ।’
यस्तै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य पाण्डेले सरकार, राज्य थाहा नपाउने बिषय पत्रकारले थाहा पाउने भएकाले देश निर्माणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले राज्यको आँखा खोल्ने कामसमेत पत्रकारले गर्ने भएको हुँदा पछिल्लो समय पछिल्लो समयको पत्रकारिता कतै आचारसंहिता भन्दा बाहिर गइरहेको त छैन, भन्ने कुरामा पनि ध्यान केन्द्रीत हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त उपाध्याय, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघका पूर्व केन्द्रीय महासचिव पोषण केसी, नेपाली काँग्रेस बाँकेका प्रेस सल्लाहकार निरज गौतम, नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी लगायतले बोल्नुभएको थियो ।
युनियन बाँकेका अध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर, नेपाली काँगेसका महाधिवेशन प्रतिनिधि रेनु सिंह, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य एव नेपालगन्ज उपमहानरपालिकाकी उपप्रमुख उमा थापा मगर, प्रेस युनियन बाँकेका पूर्व अध्यक्ष अर्जुन ओली, पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह, संचारिका समूहकी लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, दलित पत्रकार संघ लुम्बिनीका अध्यक्ष टेकेन्द्र बस्याल, क्रियाशिल महिला पत्रकार समूह बाँके अध्यक्ष सावित्री गिरीलगायतको उपस्थिति रहेको थियो ।