युरो कप अर्थात ‘मिनि वल्डकप’
Sunday, June 20th, 2021, 9:49 am
Kalpristha
जी. थापा
नेपालगंज, ६ असार
सन् २०२० मा आयोजना हुने भनिएको युरो कप कोभिड महामारीको कारण २०२१ तिर धकेलिएको हो । कोपा अमेरिकाका दुई महाशक्ति राष्ट्र ब्राजिल र अर्जेन्टिनाबाहेक युरोपका लगभग सबै बलियो टोलीको उपस्थिति रहने यस युरो कपलाई मिनी वल्र्डकप पनि भन्ने गरिन्छ ।
जर्मनी, स्पेन, फ्रान्स, इटली, नेदरल्यान्ड्स, पोर्चुगल, इंग्ल्यान्डजस्ता फुटबलका शक्तिशाली राष्ट्रहरुले युरो कपमा प्रतिस्पर्धा गर्ने भएकोले यस युरो कपलाई मिनी वल्डकप भन्ने गरिएको हो । युरो कपमा खेल्ने राष्ट्रहरुको स्तर र प्रदर्शन झण्डै झण्डै एकै नासको हुने भएकोले पनि युरो कपको चर्चा परिचर्चा फुटबल वृत्तमा निकै हुने गरेको पाईन्छ ।
यस पटकको युरो कपमा २४ राष्ट्रहरु सहभागी छन् । ती राष्ट्रहरुलाई ६ वटा ग्रुममा विभाजन गरिएको छ । प्रत्येक ग्रुपमा चार÷चार राष्ट्रहरु समेटिएको छ । हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी रहेको ग्रुप ‘एफ’ सर्वाधिक चर्चामा रहेको छ । यस समूहलाई ‘ग्रुप अफ डेथ’ को संज्ञा पनि दिइएको छ । यस अर्थमा, यस पटकको युरो कपका प्रबल दाबेदारी राष्ट्रहरुमध्ये पोर्चुगल, फ्रान्स र जर्मनी एउटै ग्रुममा परेकोले यी टोलीहरुको दोस्रो चरण पुग्ने यात्रा कठिन बन्न सक्छ ।
स्टार खेलाडी र युरो कप सर्वाधिक जित्ने राष्ट्रबीचको भिडन्त ः
यस पटकको युरो कपमा क्रिस्टियानो रोनाल्डो, एमबाब्बे, ग्रिजम्यानजस्ता नाम चलेका स्टार खेलाडीहरुलाई आप्mनो राष्ट्रका लागि उपाधि दिलाउने अभिभारा छँदै छ । एकातिर तीन÷तीन पटक युरो कप जितिसकेका जर्मनी र स्पेन छन् भने अर्कोतिर दुई पटकको विजेता फ्रान्स लगायत इटली, नेदरल्यान्ड्स, पोर्चुगलजस्ता देशहरु बलियो प्रतिद्धन्दीको रुपमा उभिएका छन् ।
यस पटकको युरो कपमा खेल जीवनमा खारिएका रोनाल्डो एवं युवा प्रतिभाले भरिएको एमबाब्बेजस्ता सम्भावना बोकेका खेलाडीहरुको जमघटले युरो कपको चर्चा चुलिएको छ । यस अर्थमा पनि यो पटकको युरो कपलाई स्टार खेलाडी र युरो कप सर्वाधिक जित्ने राष्ट्रबीचको भिडन्तका रुपमा हेरिएको छ ।
मल्टीनेशनल कम्पनीको बजार प्रबद्र्धन ः
युरोपेली राष्ट्रहरुको प्रतिष्ठित अन्तरराष्ट्रिय प्रतियोगिता युरो कपमा ठूला मल्टीनेशनल कम्पनीहरु आप्mना सामाग्रीहरुको बजार प्रबद्र्धनका लागि प्रायोजक बनेका हुन्छन् ।
यस सन्दर्भमा चर्चाको विषय के रह्यो भने, पोर्चुगल र हंगेरीबीचको खेलपछि भएको पोष्ट मेच कन्फरेन्समा क्रिस्टियानो रोनाल्डोले विज्ञापन प्रयोजनको लागि टेबुल अगाडि राखेको लोकप्रिय पेय पदार्थ कोका–कोलाको बोतल हटाई उनले पानीको राखिदिए । यसको प्रभाव कोकाकोलाको विश्व शेयर बजारमा पर्न गयो । अघिल्लो दिन भएको उक्त विषयले विश्व शेयर बजारमा ठूलै तरङ ल्याइ दियो । अर्थात् कोका कोला कम्पनीले शेयर बजारमा एकै दिनमा ठूलो उतार चढावको सामना गर्नुपयो ।
यसैबीच ‘साझेदारी प्रतियोगिताको अभिन्न अंग भएको सबैलाई स्मरण गराउन चाहन्छौं र साझेदारीले युरोपको फुटबलको विकासलाई सुनिश्चिता गर्छ, युरो २०२० को आयोजकले गरेको आग्रहले प्रिन्ट मिडिया र अनलाईनमा ठूलै चर्चा बटुल्यो ।
भिडियो अस्टिटेन्ट रेफ्री (भिएआर) ः
सन् २०१६ तिर विभिन्न अन्तरराष्ट्रिय मैत्रिपूर्ण खेल एवं फिफा क्लब वल्डकपमा भिएआर प्रणालीको परीक्षण प्रयोग गरिए पनि २०१८ मार्च १६ तारिख बसेको फिफा काउन्सिलको बैठकले फिफा वल्डकप २०१८ मा पहिलो पल्ट आधिकारिक रुपमा भिएआरको प्रयोगको लागि प्रमाणीकरण गरेको थियो । त्यस यता अन्तरराष्ट्रिय स्तरको सबैजसो ठूला प्रतियोगितामा भिएआर प्रणालीलाई अनिवार्य रुपमा लागू गर्दै आएको छ । जारी युरो कपमा समेत मुख्य रेफ्रीबाट भएका त्रुटीहरुलाई भिएआरको सहयोगबाट सच्याउने गरिएका छन् ।
अन साइड, अफ साईड, हेण्ड बल, खेलाडीद्धारा गरिने डरलाग्दो फाउललाई प्रविधिको माध्यमबाट निगरानी गर्ने र त्यसबाट प्राप्त हुने नतीजाहरुलाई पुनरावलोकन गर्ने गरिएको छ । यसले गर्दा खेलको निश्पक्षता र विश्वसनीयताप्रति प्रश्न उठाउने समस्याहरु धेरै हदसम्म हल भएका छन् । प्रविधिमा आधारित भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोगले युरो कपमा भइरहेको प्रतियोगिताको विश्वनीयतालाई सबल बनाएको छ । यस किसिमको भिएआर प्रणालीले स्टेडियममा प्रत्यक्ष खेल हेर्ने दर्शकलाई भन्दा भर्चुअल माध्यमबाट खेल हेरिरहेका दर्शकलाई तुरुन्त अन फिल्ड रिभ्यू हेर्न पाइने भएकोले झनै रमाइलो हुने जानकारहरु बताउँछन् ।
युरो कपपछि सबैको नजर फिफा विश्वकप ः
युरो कपको समाप्तिसँगै सबैको ध्यान विश्वकप फुटबलतिर जाने हुन्छ । कोभिड महामारीबीच पनि सन् २०२२ को विश्वकप छनौट खेलहरु चलिरहँदा सबै राष्ट्रहरुले कतारमा हुने आगामी विश्वकपमा आप्mनो उपस्थिति होस् भन्ने चाहेका छन् ।
युरो कपको विजेता राष्ट्र बन्न सके अर्को वर्ष हुने विश्वकपमा ट्रफी जित्ने अभियान बलियो हुने फुटबल विश्लेषकको बुझाइ छ । किनभने फिफा विश्वकप फुटबलमा बलियो इतिहास भएका जर्मनी, स्पेन, इटली, फ्रान्स, इंग्ल्यान्ड, पोर्चुगल लगायतले युरो कप जितेर अरु महाशक्ति राष्ट्रहरुलाई मनोवैज्ञानिक रुपमा दबाब सृजना गर्न चाहन्छन् । यिनै कारणहरुले गर्दा युरो कपलाई मिनी वल्डकपकै रुपमा चर्चा परिचर्चा गर्ने गरिन्छ ।