आधारभूत स्वास्थ्य सेवालाई बस्तीस्तरसम्म पुर्याउँदै डुडुवा
Friday, June 25th, 2021, 7:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ असार
बाँकेको डुडुवा गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवालाई बस्तीस्तरसम्म पुर्याएको छ । गाउँपालिकाका ६ वटा वडामा सन्चालित स्वास्थ्य केन्द्रहरुलाई प्रभावकारी बनाउनुका साथै थप दुई स्थानमा स्वास्थ्य इकाई स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर २ को राप्तिपारी पर्ने क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच पुग्न सकेको थिएन । उक्त स्थानमा वर्षा मौसममा स्वास्थ्य सेवाको पहुँच पुर्याउन झनै समस्या हुने गरेको थियो । वडा नम्बर २ बेतहनीस्थित स्वास्थ्य चौकीमा पुग्न त्यहाँमा स्थानीयहरुलाई टाढा पर्ने गरेको थियो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धन बहादुर बुढाका अनुसार सोही अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले अहेवको नेतृत्वमा सन्चालन हुनेगरी स्वास्थ्य इकाई स्थापना गरेको छ । स्वास्थ्य इकाई स्थापनापछि स्थानीयहरु आधरभूत स्वास्थ्य सेवाको पहुँचमा पुग्न सजिलो भएको बुढाले दावी गरे ।
यस्तै, गाउँपालिकाको वडा नम्बर ५ को डलैपुर क्षेत्रमा पनि स्वास्थ्य सेवाको सुगम पहुँचका लागि स्वास्थ्य इकाई स्थापना गरिएको उनले जानकारी दिए । स्थानीय तह गठन हुँदा गाउँपालिका क्षेत्रमा ६ वटा स्वास्थ्य संस्थाहरु थिए भने अहिले ८ वटा पुगेका छन् । सबै स्वास्थ्य संस्थाहरुमा स्वच्छ पिउने पानीको समेत व्यवस्था गरिएको छ ।
ॅगाउँपालिकाले स्वास्थ्य संस्थाबाट माथिल्ला सरकारको बजेटबाट सन्चालित आमा सुरक्षा लगायतका कार्यक्रममा अपुग हुन आउने रकमलाई थपेर भएपनि नागरिकहरुलाई आधारभूत स्वास्थ्य सेवाबाट बन्चित हुन दिएका छैनौँ,’ गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भने । गाउँपालिकाले गत आर्थिक वर्ष २०७७-७८ मा आमा सुरक्षा तथा राष्ट्रिय कार्यक्रममा अपुग हुन आउने रकम भनेर २० लाख रुपैयाँ गाउँपालिकाको बजेटबाट विनियोजन गरेको थियो ।
यसैगरी, गाउँपालिकाले वडा नम्ब २,५, र ६ मा गरी तीन ठाउँमा स्वास्थ्य जाँच प्रयोगशाला स्थापना गरेको छ । ती प्रयोगशालामार्फत गाउँपालिकाले निःशुल्क सेवा दिइरहेको छ । सामान्य स्वास्थ्य जाँचका लागि पनि नेपालगन्ज पुग्नैपर्ने बाध्यतालाई दृष्टिगत गरी गाउँपालिकाकै स्वास्थ्य चौकीमा प्रयोगशाला सुविधा दिने योजना अघि सारेको शाखा प्रमुख बुढाले बताए । सन्चालित प्रयोगशालामा दिसा, पिसाब, रगत, खकार, मधुमेह, टाइफाइड, जेन्डिस, कलेजोसँग सम्बन्धित समस्याको परीक्षण गर्ने गरिन्छ । ल्याबमा तीनजना प्राविधिकसहितको टोलीले सेवा दिने गरेको छ । स्वास्थ्य परीक्षण सेवाको अभावमा नागरिकको उपचार सेवा प्रभावकारी नहुने तथ्यलाई ध्यानमा राखेर निःशुल्क प्रयोगशाला सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
चौधरीका अनुसार गाउँपालिकाले हरेक वडामा निःशुल्क प्रयोगशाला सञ्चालन गर्ने लक्ष्य तय गरेको छ । ६ वटा वडामध्ये तीनवटा वडामा प्रयोगशाला सन्चालनमा ल्याइसक्दा आगामी आर्थिक वर्ष २०७८-७९ मा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने नीति तय गरेको छ ।
निशुल्क ल्याब संचालनमा आएपछि घरमै विरामीहरुलाई सेवा लिन सहज भएको छ भने सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यता समेत हटेको छ ।
गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने लक्ष्यमा केन्द्रित रहँदै आगामी आर्थिक वर्ष २०७८-७९ मा वडा नम्बर २ स्थित बेतहनी स्वास्थ्य चौकीमा चिकित्सक सहितको ईमरजेन्सी स्वास्थ्य सेवा सञ्चालन गरिने नीति लिएको छ । उक्त योजनाका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ । स्वास्थ्य शाखा प्रमुख बुढाका अनुसार स्वास्थ्य चौकीमा मेडिकल अधिकृतको व्यवस्था गर्ने शिर्षकमा समेत उक्त बजेट खर्च हुनेछ । संघीय सरकारको लगानीमा डुडुवा-४ शाहपूर्वामा गाउँपालिका स्तरीय १५ शय्याको अस्पताल पनि निर्माणको चरणमा छ । स्वास्थ्य शाखा प्रमुख बुढाले भने, ॅउक्त अस्पताल बनेर सन्चालनमा आउन केही वर्ष लाग्न सक्छ । त्यसकारण अस्पताल बनुन्जेल कुर्नुभन्दा जति सकिन्छ त्यत्ति क्षमताको चिकित्सकसहितको सेवा दिऔँ भनेर यो योजना अघि सारेका हौँ ।’
गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोभिड-१९ महामारी नियन्त्रण, स्वास्थ्य नीति र आधारभूत स्वास्थ्य सेवा ऐन तर्जुमा, फोहर मैला व्यवस्थापन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
यस्तै, बालमैत्री तथा अशक्त मैत्री गाउँपालिका, वातावरण मैत्री गाउँपालिका, धुँवा रहित गाउँपालिका, पूणर् खोपयूक्त गाउँपालिका, पूणर् साक्षर गाउँपालिका र खुल्ला दिशा मुक्त गाउँपालिका जस्ता अभियानलाई दीगो र स्थायी बनाउने क्रियाकलाप संचालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । खानेपानीबाट वञ्चित बस्तीहरुमा स्वच्छ खानेपानी उपलब्ध गराउन वडा नम्बर ५ र वडा नम्बर २ मा संघीय सरकारको सहयोगमा वृहत् खानेपानी आयोजना संचालन गर्ने र खानेपानी धारा वितरण कार्यक्रमलाई निरन्तरता दिईने पनि गाउँपालिकाको नीति छ ।