बाँकेमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
Friday, July 2nd, 2021, 7:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ असार
बाँकेमा शुक्रबार एक सय ३६ नमुना परीक्षण गर्दा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरु मध्ये ८ जना बाँकेका हुन् भने बाँकी अन्य जिल्लाका हुन् ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको ८८ नमुना परीक्षणमध्ये ३४ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा गरिएको ३१ नमुना परीक्षणमध्ये २ जना र बागेश्वरी ल्याबमा गरिएको १७ नमुना परीक्षणमध्ये १ जनामा संक्रमण पुष्टि भएको हो ।
पोजेटिभ भेटिएकामा २२ जना बर्दियाका छन् । जसमध्ये १७ ठाकुरबाबा नगरपालिकाका मात्रै छन् । यस्तै, सुर्खेतका ३ जना, सल्यान, प्यठान, दाङका र बाजुराका १-१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यसैबिच, शुक्रबार देशभर २ हजार २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न पीसीआर प्रयोगशालामा ६ हजार ५६६ नमुना परीक्षण गर्दा एक हजार तीन सय ९१ जना र एन्टिजेन विधिबाट चार हजार ३० नमुना परीक्षण गर्दा नौ सय आठ जना गरी कूल दुई हजार दुई सय ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।