दाङमा चोरी भएका १३ मोटरसाइकल सहित ८ जना पक्राउ
Friday, July 2nd, 2021, 7:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ,१८ असार
दाङमा चोरी भएका १३ वटा मोटरसाइकलसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी चोरी गरिएका १३ वटा मोटरसाईकलसहित चोरीमा संलग्न एक भारतीय नागरिकसमेत ८ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रोल्पा सुनिल स्मृती गाउँपालिका-३ निवासी ग्लोबल बजाज सर्भिसका संचालक २८ वर्षीय श्रीताज अन्सी, रोल्पाकै लुङ्ग्री गाउँपालिका-४ निवासी २६ बर्षीय लेखनाथ विष्ट, सोही गाउँपालिका-५ बडाचौर निवासी २६ वर्षीय टेकेन्द्र विष्ट, वडा नम्बर ५ गुम्चाल निवासी २६ वर्षीय नुमबहादुर रोका मगर,सोहि ठाउँका २२ वर्षीय हिराबहादुर विष्ट रहेका छन् ।
त्यस्तै भारत बलरामपरका घर भएका २२ वर्षीय मोहम्मद रिफक, दाङको घोराही १९ का १९ वर्षीय जावेद खान, प्युठानको स्वर्गद्धारी नगरपालिका ३ जलुकेका २४ वर्षीय ठगीराम थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । रोल्पामा ग्लोबल बजाज सभिर्स नामक ग्यारेज संचालन गर्दै आएका श्रीताज अन्सीले चोरी भएका मोटरसाईकल ५० हजारमा खरिद गर्दै महंगो मुल्यामा बिक्री गर्ने गरेका प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ । चोरीका मोटरसाइकलमा गिरोहले ५० हजार लगानी गरेर १ लाखदेखि २ लाखसम्म बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । मोटरसाइकल चोरी गिरोहका मुख्य नाईके पनि उनै भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
प्रहरी प्रमुख काफ्लेले मोटरसाइकल चोरी भएर नागरिक पीडित भएको गुनासो जिल्लामा आउनासाथ आफुले गम्भीरतापूर्वक अनुसन्धानमा जुट्न निर्देशन दिएपछि प्रहरीलाई सफलला मिलेको र यसले नागरिकमा प्रहरीप्रती अझै विश्वासको वातावरण सिर्जना गर्ने बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङबाट असई युवराज गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले चोरीको मोटरसाइकिलसहितको गिरोहलाई पक्राउ गर्न सफल भएको प्रवक्ता रिजालले जानकारी दिएका छन् । प्रवक्ता डिएसपी रिजालका अनुसार घट्ना बारे थप अनुसन्धान भइरहेको छ ।