खोपलगायत ३४ बुँदे मागसहित शिक्षकहरुको धर्ना
Saturday, July 3rd, 2021, 8:41 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ असार
शिक्षक, उमेर पुगेका विद्यार्थीहरुलाई अविलम्ब कोरोना खोपको व्यवस्था गर्नुपर्ने मागसहित नेपालगन्ज उप- महानगरपालिकामा शुक्रबार शिक्षकहरुले तीन घन्टा धर्ना दिएका छन् । सरकारले आफ्ना विभिन्न ३४ बुदेँ माग तथा विगतमा भएका सम्झौता पनि कार्यान्वयन नगरेको भन्दै सामुदायिक विद्यालयका शिक्षकले धर्ना दिएका हुन् ।
नेपाल शिक्षक महासंघको आन्दोलनको चौथो चरण अन्तर्गत हरेक पालिकामा धर्ना दिने राष्ट्रिय समितिको निणर्यअनुसार उप-महानगरपालिकामा बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म धर्ना दिइएको थियो । धर्नामा सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीहरु, बालविकास शिक्षकहरु तथा पेशागत संघ संगठनको प्रतिनिधिमुलक उपस्थिति रहेको थियो ।
सरकारले शिक्षक, उमेर पुगेका विद्यार्थीहरुलाई अविलम्ब कोरोना खोपको लगाइनुपर्ने तथा बालबिकास शिक्षक, विद्यालय कर्मचारीका बारेमा विगतका सम्झौता पूरा नभएको भन्दै उनीहरु चरणवद्ध आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।
धर्नापछि नेपालगन्ज उप-महानगरपालिका प्रमुख डा.धवल समशेर राणालाई कार्यकक्षमा भेटेर आन्दोलनको औचित्य, प्राप्त ऐक्यवद्धता तथा स्थानीय सरकारको भूमिकाबारे थप जानकारी गराउँदै जारी आन्दोलनको आगामी कार्यक्रमसहित मागपत्र पनि बुझाइएको स्थानीय आन्दोलन परिचालन समिति संयोजक मनोजराजा श्रीवास्तवले जानकारी दिए ।
भेटका क्रममा प्रमुख राणाले आफ्नो अधिकारक्षेत्र भित्रका मागहरु पूरा गर्ने आश्वासन दिए । धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघ केन्द्रीय सदस्यद्वय द्रोण वली, गणेशा कार्की, प्रदेश सदस्य मीना चन्द, नेपाल शिक्षक संघ बाँके अध्यक्ष वीरेन्द्र यादव, नेपाल शिक्षक परिषद अध्यक्ष बृजेशबहादुर सिंह लगायतका शिक्षक नेताहरुको सहभागिता रहेको थियो ।



