खेलाडी अनुबन्धमा ठूला क्लबहरुको मौनता
Sunday, July 4th, 2021, 1:03 pm
Kalpristha
जी. थापा
नेपालगन्ज, २० असार
नयाँ सिजनको लागि एन्फाले लिगको मिति सार्वजनिक गरेसँगै ‘ए’ डिभिजन क्लबबीच खेलाडी अनुबन्ध प्रक्रियामा तीब्र प्रतिस्पर्धा हुनुपर्ने हो । आगामी आश्विन ३ गतेदेखि शुरु हुने लिगको लागि एन्फाले साउन १५ गतेदेखि खेलाडी दर्ता खुल्ला गरेको छ । सहिद स्मारक ए डिभीजन लिगका नियमित दाबेदार टोली मनाङ, थ्रीस्टारलगायत खेलाडी अनुबन्धनमा सुस्त देखिएका छन् ।
नेपाल सुपर लिगमा प्रभाव छाड्न सफल खेलाडीहरु कतातिर लाग्छन् । लिग नजिकिँदै जाँदा खेलाडी अनुबन्ध प्रक्रियामा ठूला क्लबहरुमा देखिएको मौनता चाँडै अन्त्य हुने अपेक्षा गरिएको छ ।
एक दशकअघि लिगको लागि स्टार खेलाडी अनुबन्ध गर्न ठूला क्लबहरुबीच हान थाप नै हुन्थ्यो । उदाहरणको लागि अनिल गुरुङ, सन्तोष साहुखल, सागर थापा, बिराज महर्जन, विकास मल्ल, किरण चेम्जोङलाई क्लबमा भित्र्याउन ठूला क्लबबीच निकै चासो र रुचि राख्थे । त्यो बेला नयाँ खेलाडीलाई अवसर दिन कुरामा ब्रिगेड ब्याज क्लबको नाम अगाडि आउँछ । ब्रिगेड ब्याइजबाटै अनिल र किरणले आप्mनो ए डिभिजन फुटबल करियर शुरु गरेका हुन् । यी दुबै खेलाडी भित्रयाउन मनाङ र थ्रीस्टारले रुचि देखाउँदा अनुबन्ध बजारमा कसले बाजी मार्ने हो भन्ने अनुमान गर्न कठिन हुन्थ्यो । अरु क्लबका राम्रा खेलाडी अर्को सिजन कि त मनाङ जान्थे कि थ्रीस्टार रोज्थे । विभागीय टोलीमध्ये पुलिस क्लब राम्रा खेलाडी अनुबन्ध गर्न सफल मानिन्थ्यो । बसन्त थापाका समकालीन हरि खड्का पुलिस क्लबमा राम्ररी जमरै बसे । उनले एन्फाबाट पुरस्कार स्वरुप कार पुरस्कार पनि थापे ।
एक दशक यता लिगमा हरि खड्का, बसन्त थापा, कुमार थापा, बसन्त गौचन, प्रदिप महर्जन, राजु तामाङ जस्ता प्रतिभाशाली खेलाडीको अभाव खड्किएको देखिन्छ ।
खेलाडी अनुबन्ध प्रक्रियाले विस्तारै गति लिँदै ः लिग शुरु हुन झण्डै अढाई महिना समय बाँकी छ । केही दिन यता नवप्रवेशी सात दोबाटो, एनआरटी, हिमालय शेर्पालगायतले खेलाडी र प्रशिक्षक नियुक्तिमा चासो देखाउँदा खेलाडी अनुबन्ध प्रक्रियाले विस्तारै गति लिन थालेको छ ।
यस्तोमा गत वर्षको लिग विजेता मछिन्द्रले आप्mना पुरानै खेलाडीहरुलाई निरन्तरता दिदै एनएसएलमा राम्रो प्रभाव देखाएका सुनिल बललाई अनुबन्ध गर्दै नयाँ सिजनमा क्लबको अवस्था थप बलियो बनाउने संकेत देखाएको छ ।
साफ च्याम्पियनसिपको तयारीका साथै एशियन कप छनौट प्रतियोगिताको लागि एन्फाले राष्ट्रिय स्तरका खेलाडीहरुलाई क्लोज क्याम्पमा बोलाउँदा खेलाडीहरु क्लबको सम्पर्कमा नहुँदा खेलाडीसँग नयाँ सिजनको लागि खेलाडी उपलब्धतामा ढिलाइ भएको देखिन्छ । इराकसँग मैत्रिपूर्ण खेल खेलेसँगै फिफा विश्व छनौट खेलका लागि कुवेत पुगेका राष्ट्रिय खेलाडीहरु आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा व्यस्त छन् । आगामी सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिप तयारीको लागि एन्फाले राष्ट्रिय खेलाडीहरुलाई होल्डमै रहँदा ठूला क्लबहरुले चाहेर पनि लिगका लागि राम्रा खेलाडीहरु भित्रयाउन नसकि रहेको अवस्था छ ।
नेपाल सुपर लिगको आगमन र खेलाडीमा पलाएको आशा ः
भर्खरै राजधानी शहर काठमाडौंमा सम्पन्न नेपाल सुपर लिगको रौनकता अभैm गएको छैन् । एनएसएलमा खेलेबापत मार्की खेलाडीहरुले भने जत्ति मनगै पारितोषिक पाए । अन्य युवा खेलाडीहरुले पनि आकर्षक पारिश्रमिक पाए । माथिल्लो स्तरको लिग खेल्दाको अनुभव र पारिश्रमिकले उनीहरुमा एक प्रकारको आशा पलाएको छ । त्यत्ति मात्र होइन, एनएसएलमा प्रदर्शन गरेकै भरमा राष्ट्रिय टोलीमा सहभागी हुँदै फिफा विश्वकप, मैत्रीपूर्ण खेललगायतका ठूला प्रतियोगितामा सहभागी हुने अवसर पनि जुट्यो । जुन प्रतियोगिताले उनीहरुको फुटबल करियरलाई एउटा गतिलो शुरुवात दिन पर्याप्त रह्यो ।
खेलाडीहरु लिग केन्द्रित योजनामा भर पर्नु ः
शीर्ष डिभिजनका क्लबहरुको योजना लिग केन्द्रित हुने गर्छन् । वर्षेनी यस्तै हुँदै आएको छ । एन्फाले प्राविधिक कारण वा अन्य कारणले लिग आयोजना नगर्दा क्लबहरु केही गोल्डकपहरुमा सहभागिता जनाउँदै सिजन टार्न चाहन्छन् । पछिल्लो समय तीन महिना चल्दैआएको लिगका लागि बढीमा चार महिनासम्म क्लबहरुले खेलाडी अनुबन्ध गरेको अभ्यास छ । लिग सकिएसँगै खेलाडीहरुको अनुबन्ध लगभग एक महिना जसो बाँकी रहन्छ । त्यस अवधिमा मोफसलका केही प्रतिष्ठित प्रतियोगिताहरुमा खेलाडीहरु क्लबकै जर्सीमै देखिन्छन् । क्रमशः एउटै खेलाडी प्रतियोगिता पिच्छे भिन्ना भिन्नै क्लबको जर्सीमा देखिन्छन् । वर्षभरि फुटबल गतिविधि नहुँदा क्लबहरु पनि बाध्यताबस लिगलाई लक्ष्य गरेर निश्चित समयको लागि खेलाडी अनुबन्ध गर्नु परेको गुनासो गर्छन् ।
नयाँ संरचनामा आगामी लिग ः
एन्फाले यस सिजनदेखि लिगको अवधि ६ महिना लम्ब्याउने र राष्ट्रिय लिगलाई पनि सँगसँगै लैजाने सोच बनाएको छ । ए डिभिजन लिग चलिरहँदा राष्ट्रिय लिग पनि संचालनमा ल्याउने हो भने दुबै लिगको चुस्त, दुरुस्त एवं छरितो व्यवस्थापनमा कत्तिको तालमेल मिल्ने हो ? वा भनौं, प्रेसिडेन्ट्स लिगमा टप फोरमा पर्न सफल क्लबहरुले राष्ट्रिय लिगको खेलतालिका जिक ज्याक प्रकारको बनेको परिस्थितिमा लामो समयका लागि खेलाडी र अफिसियल्सहरुको व्यवस्थापन र खर्च धान्न कत्तिको व्यावहारिक हुने हो ? यसतर्फ एन्फा स्वयँले गम्भीरतापूर्वक अध्ययन गरेर लागू गर्नसकेमात्र नयाँ प्रयोगको रुपमा सँगसँगै अगाडि बढाउने भनिएको लिगको अवधारणा सफल बन्ला । अन्यथा, प्राविधिक, आर्थिक एवं व्यावस्थापकीय दृष्टिले पनि लिगको आयोजना नियन्त्रण भन्दा बाहिर जान सक्छ ।