राप्तीसोनारी गाउँपालिकाले कर नबढाउने
Wednesday, July 7th, 2021, 6:30 am
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्तीसोनारी, २२ असार
बाँकेको राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ मा कुनै पनि कर नबढाउने निणर्य गरेको छ । गाउँपालिकाको नवौं गाउँ सभाले कर नबढाउने प्रस्तावलाई बहुमतले पारित गरेको हो । गाउँपालिकाको कार्यालय अगैयामा मंगलबार गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सभा बसेको गाउँसभाले कुनैपनि बस्तुमा कर नबढाउने निणर्य गरेको हो । सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले आगामी वर्षका लागि करको दायरा नबढाइने बताए ।
गतवर्षकै करलाई यथावत गरिएको उहाँको भनाई थियो । ‘हामीलाई प्राप्त सुझाव अनुसार आगामी वर्षको लागि कुनैपनि कर बढाएका छैनौ, गतवर्ष कै करलाई यथावत राखेका छौँ,’ उनले भने । सो क्रममा बोल्दै सभाका सदस्य टिकाराम बस्नेतले जनताको ढाँड सेक्ने गरी गाउँपालिकाले आगामी वर्षका लागि कर बढाउन नहुने धारणा राखेका थिए । जनप्रतिनिधी भएर काम गर्ने यो नै अन्तिम वर्ष भएको बताउँदै जाने बेलामा जनतालाई करको भारी बोकाउन नहुने उनको तर्क थियो । सभाका सदस्य जितबहादुर थारुले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ जनसंख्याको हिसाबले ठुलो वडा भएपनि बजेट कम विनियोजन भएको बताए । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष एवम् सभाका सदस्य रामलखन थारुले गाउँपालिकाले गरेका निणर्य कार्यान्वयन हुनुपर्ने सुझाव दिए । गाउँपालिकाले कतिपय निणर्य गरेपनि त्यसलाई कर्मचारीको संयन्त्रले कार्यान्वयनमा कन्जुस्याई गरेको उनको भनाई थियो । सो क्रममा गाउँ सभाका सदस्य रामलौटन थारु, रति ओली लगायतले पनि आफ्नो धारणा राखेका थिए । सभामा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, ९ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यको उपस्थिती रहेको थियो । यही असार १० गतेबाट सुरु भएको सभामा आगामी वर्षको बजेट, गाउँपालिकाको समग्र विकासका विषयमा छलफल भएको छ । गाउँपालिकाको नवौं सभा यही असार २९ गते दिउँसो १ बजे पुनः बस्ने तय भएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।