वडा तहसम्म मानव वेचबिखन विरुद्ध संयन्त्र बनाइने
Sunday, August 1st, 2021, 5:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ साउन
नेपालगन्ज उप-महानगरपालिकाका सबै वडासम्म संयन्त्र निर्माण गरिने भएको छ । मानव बेचबिखन नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन स्थानीय मानव बेचबिखन नियन्त्रण समितिसँगको बार्षिक समीक्षा र योजना बैठकमा उममेयर उमा थापामगरले सो जानकारी दिएकी हुन् ।
आईतबारदेखि सुरु बैठकमा थापामगरले विगतको कामको समीक्षा गर्दै सम्पूणर् वडा तहसम्म समिति गठन गरेर अघि बढ्ने योजना रहेको बताइन् । उप-महानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले मानव बेचबिखन नियन्त्रणका लागि टोलस्तरसम्म प्रभावकारी संयन्त्र निर्माण गरि अघि बढ्न खोजिएको बताइन् ।
नेपालगन्ज उपमहानगरपालिका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिको आयोजनामा भएको बैठकमा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, वडा सचिव तथा मानव बेचबिखन नियन्त्रणको अभियानमा सहभागी संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको छ । सामाजिक विकास समितिका संयोजक वशन्ता जोशीको अध्यक्षतामा भएको कार्यक्रममा माईती नेपालका केशव कोइराला, अधिकारकर्मी कमला पन्त, महिला विकास अधिकृत मञ्जु पाण्डे लगायतले विभिन्न विषयमा सहजिकरण गरेका छन् । मानव बेचबिखन नियन्त्रणलाई प्रभावकारी बनाउन मुलुककै पहिलोपटक नेपालगन्ज उप-महानगरपालिकाले कार्यविधि बनाएको छ । कार्यविधि अनुसार समिति गठन लगायतका काम भईरहेको छ ।