‘यो हप्तादेखि संक्रमण बढेको देखियो’
Thursday, August 5th, 2021, 2:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ साउन
बाँकेका कोरोना फोकल पर्सन् तेज वलीले यो हप्तादेखि कोरोना संक्रमितको संख्या बढेको बताएका छन् । वलीले जिल्लामा संक्रमितको संख्या बढेको भन्दै सबैमा उच्च सावधानी अपनाउन अनुरोध गरेका छन् ।
जिल्लामा बिहीबार ठूलो संख्यामा संक्रमण पुष्टि भएको वलीले जनाएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जिल्लामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यो संख्या साउन महिना कै उच्च संक्रमित संख्या हो ।
कूल एक सय ८८ जनाको कोभिड जाँच गर्दा थप १६ जना महिला र सातजना पुरुषमा संक्रमण पुष्टि भएको केन्द्रले जनाएको छ । थपिएका संक्रमितको संख्यामध्ये ९१ प्रतिशत संक्रमित कोहलपुर नगरपालिकाका संक्रमित रहेको केन्द्रले जनाएको छ । २३ मध्ये २१ जना संक्रमित कोहलपुरका रहेका छन् ।
त्यस्तै केन्द्रको तथ्यांक हेर्दा बाँकेमा पुनः कोरोनाको जोखिम बढ्दै गएको देख्न सकिन्छ । साउन महिनामा जिल्लामा निको हुनेभन्दा थपिने क्रमम बढेको छ । जिल्लामा बिहीबार जम्मा दुईजना महिला र एकजना पुरुष गरी तीनजनामात्र संक्रमण मुक्त भएका छन् ।
तर जिल्लामा मृत्यु हुने संक्रमितको संख्या भने शून्यनै रह्यो ।
हालसम्म जिल्लामा कूल १७ हजार ६ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ भने कूल १७ हजार दुई सय ६३ जना संक्रमण मुक्त भएका छन् । साथै हालसम्म जिल्लामा तीन सय २२ जना संक्रमितको मृत्यु भएको छ ।