२४ जनाले पाए खोज तथा उद्धार तालिम
Thursday, August 5th, 2021, 4:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ साउन
बाँकेमा थप २४ जनाले बाढीसँग सम्बन्धित आपत्कालिन खोज तथा उद्धार तालिम पाएका छन् । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ३ दिने पानीजन्य आपत्कालीन खोज तथा उद्धार तालिम दिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति/आपत्कालनीन कार्यसंचालन केन्द्रको समन्वय भएको उक्त तालिममा डुडुवा र खजुरा गाउँपालिका अन्र्तगत विपद् प्रभावित क्षेत्रका समुदाय र सम्बन्धित वडामा रहेको प्रहरी चौकीका प्रतिनिधिसहित २४ जनाको सहभागिता रहेको थियो ।
बाढी विपद्को पूर्वतयारी गर्ने क्रममा समुदाय स्तरका व्यक्तिहरुलाई दक्ष बनाउने अभिप्रायले आयोजित प्रशिक्षणमा पानीजन्य आपत्काल, स्थानीय साधन श्रोतको प्रयोग गरी उद्धार गर्ने विधि, रबरबोट चलाउने तारिका र घाइते व्यक्तिहरुलाई प्राथमिक उपचार गर्ने विधि लगायत विषयमा प्रशिक्षण दिइएको मुख्य प्रशिक्षक शसस्त्र प्रहरी बल शम्शेरगंजका सई टेकप्रसाद आर्चायले जानकारी दिए । आर्चायसहित रमेश थापा, रेडक्रसका दोलखबहादुर डाँगी, रुपन ज्ञवाली र प्रहलाद विश्वकर्माले तालिमको सहजीकरण गरेका थिए ।
सहभागीहरुले उद्धार सामग्री र भएका सामग्रीको उपयोग गर्ने तरिका नजानेका अवस्थामा जोखिम लिएर उद्धार गरेको अनुभव सुनाउदै अबका दिनमा आफ्नो प्रथम सुरक्षा गर्दै सिकाइएको विधिअनुसार उद्धार गर्न सक्षम भएको बताएका छन् । तालिममाको अन्तिम दिनमा डुडुवा गाउँपालिका वडा नं. ५ ननपुर्वा स्थित पोखरीमा सीप परिक्षण अर्थात कृत्रिम घटना अभ्यास समेत गरिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पहिलो उद्धारकर्ता समुदाय आफै भएकोले उनीहरुको क्षमता विकासमा नेपाल रेडक्रसले ठूलो सहयोग गरेको बताए ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा बुधबार सम्पन्न तालिम समापन कार्यक्रममा प्रजिअ गेलाल, शसस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक अशोक बम, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपाने, नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी लगायतको उपस्थिति रहेको थियो ।