महिलाहरुलाई आय आर्जन सहयोगी सामग्री प्रदान
Thursday, August 5th, 2021, 5:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, २१ साउन २१
नेपालगञ्ज उप-महानगरपालिकाले महिलाहरुलाई आय आर्जन सहयोगी सामग्रीहरु प्रदान गरेको छ । नगर कार्यपालिका सदस्यहरुद्वारा सञ्चालित कार्यक्रम अन्तर्गत बिहीबार महिलाहरुलाई सिलाई मेसिन, इन्टरलक मेसिन र साईकल सहयोग गरिएको हो ।
७४ जना महिलालाई सिलाईकटाई मेसिन, १२ जनालाई इन्टरलक मेसिन उपलब्ध गराइएको छ । यसैगरी ४९ जनालाई साईकाल सहयोग गरिएको छ । सहयोग पाउने महिलाहरु दलित, सिमान्तकृत, मधेसी, मुस्लिम र अल्पसंख्यक समुदायका रहेका छन् ।
नगर प्रमुख डा. धवल शम्शेर राणाले महिलाहरुलाई सामग्री हस्तान्तरण गर्दै सहि सदुपयोग गर्न आग्रह गरे । उप-महानगरपालिकाले यसअघि तालिम प्राप्त महिलाहरुलाई व्यवसायमा जोड्न सहयोग गरिएको भन्दै राणाले यसबाट व्यक्तिगत र पारिवारिक जीवन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
गत आवमा नगर कार्यपालिका सदस्यहरुले सञ्चालन गर्ने कार्यक्रमका लागि १२ लाख रुपियाँको कार्यक्रम विनियोजन गरिएकोमा कोभिडका कारण आयआर्जन मुलक कार्यक्रम सञ्चालन हुन नसकेपछि यसअघि तालिम प्राप्त महिलाहरुलाई सिलाईकटाई तथा इन्टरलक मेसिन उपलब्ध गराइएको हो ।
नेपालगञ्ज उप-महानगरपालिकामा नगर प्रमुख र उपप्रमुख तथा वडा अध्यक्षसहित कौसलकुमार धोवी, देउमल सुनार, वशन्ता जोशी, इन्दिरा शाही, नन्कैै पठानी, सीमा बैश्य, मञ्जु नेपाली र देवेन्द्र पाल सिंह कार्यपालिका सदस्य रहेका छन् ।