मापदण्ड पालना गर्न बाँके प्रशासनको चेतावनी
Friday, August 6th, 2021, 8:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ साउन
बाँके जिल्ला प्रशासनले फेरि कोरोना संक्रमण उकालो लागेको भन्दै भीडभाड नगर्न र स्वास्थ्य मापदण्डलाई पूणर्रुपमा पालना गर्न अनुरोध गरेको छ ।
पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमण पुष्टि हुनेक्रम बढेपछि प्रशासनले स्वास्थ्य मापदण्ड पूणर्रुपमा पालना गर्न चेताजनीसहितको सूचना जारी गरेको हो ।
‘अस्पतालमा कोभिड-१९ संक्रमितहरुको बढ्दै गएको अवस्था हुँदा रोकथाम र नियन्त्रणका लागि पूर्व सावधानी अपनाई संक्रमणदर शून्यमा झार्न सबैको अहंम जिम्मेवारी र भूमिका रहन्छ, सूचनामा भनिएको छ ।
जिल्लामा निषेधाज्ञा कायमै रहेको अवस्थामा पनि विभिन्न व्यक्ति र समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, तोकिएको स्वस्थ्य सुरक्षाको मापदण्ड पालना नगरी सार्वजनिक गतिविधिमा संलग्न हुने गर्दा जोखिम उच्च हुन गई संभावित तेस्रो लहरको प्रतिकार्यमा समेत बाधा पुग्न जाने भएकाले तत्काल त्यस्ता गतिविधि नगर्न र नगराउन सचेत पारिएको छ ।
जारी निषेधाज्ञा र स्वास्य मापदण्डको उल्लंघन गरेको पाइएमा कारबाही गरिने पनि सूचनामा उल्लेख छ । तर, सरकारी निकायमै स्वास्थ्य मापदण्डको उल्लंघन भइरहेको छ । नापी, यातायात व्यवस्था लगायतका सरकारी निकायमा दिनहुँ अव्यवस्थित भिड हुने गरेको छ ।
कोरोना उकालोमै
जिल्लामा शुक्रबार दुई महिना यताकै एकैदिन सबैभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा दुई सय ७ नमुना परीक्षण गर्दा शुक्रबार थप ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीका अनुसार भेरीको प्रयोगशालामा १०९ नमुना परीक्षण गर्दा ३२, मेडिकल कलेज कोहलपुरमा ४९ नमुना परीक्षण गर्दा १० र बागेश्वरी प्रयोगशालामा पनि ४९ परीक्षण भएकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये बाँकेका १३, बर्दियाका २३, दाङका ७ र ५ जना अन्य जिल्लाका रहेका छन् ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ७ सय ६ पुगेको छ ।