‘शैक्षिक सुधार गर्न व्यवहारिक शिक्षा र इच्छाशक्तिको खाँचो’
Tuesday, August 10th, 2021, 9:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ साउन
सामुदायिक विद्यालयको स्तर सुधार्नका लागि व्यवहारिक र प्राविधिक शिक्षाको सुरुवात गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शिक्षाका लागि नागरिक सन्जाल बाँकेको आयोजनामा मंगलबार नेपालगन्जमा आयोजित एक अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले प्राविधिक र व्यवहारिक शिक्षा अहिलेको आवश्यक्ता रहेको बताउदै परम्परागत शिक्षण विधि परीवर्तन गर्न आवश्यक रहेको बताए । प्रविधिको विकास भइरहेकोले विद्यालयमा प्रविधिको प्रयोग बढाउनुपर्ने र हरेक सामुदायिक विद्यालयमा कक्षा ८ भन्दा माथि प्राविधिक शिक्षाको सुरुवात गर्नुपर्ने उनिहरुको भनाई छ । हालको पढाइले ज्ञान बढाएको तर सिप विकास गर्न नसकेकाले आधारभूत तहदेखि नै प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।
नेपालगन्ज १८ का वडा सदस्य दिगविजय ढुंगानाले भने, ‘नेपालगन्जको निजी विद्यालय स्प्रीङ डेलले आधारभूत तहका बालबालिकालाई हलुवा पकाउन सिकाउछ । बालबालिकाहरु अन्य प्राविधिक सिप सिकेर दक्ष बनीरहेका छन् । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको सुरुवात गर्न के ले छेकेको छ र ?,’ उनको प्रश्न छ ।
विद्यालयले इच्छाशक्ति देखाएमा परिवर्तन सम्भव रहेको उनले बताए । अन्य सामुदायिक विद्यालयको उदाहरण दिदै उनले भने ‘डेढ दशक अघिसम्म नेपालगन्जको धम्वोझी स्कुल कस्तो थियो ? अहिले कस्तो बन्यो ? कोहलपुरको त्रिभुवन मावि, खजुराको ज्ञानोदय लगायतका विद्यालयहरु नमुना बन्न सक्छन् भने अन्य विद्यालय किन बन्न सक्तैनन ?’ यसका लागि इच्छाशक्तिको आवश्यक्ता रहेको उनको भनाई छ ।
विद्यालय सुधारका लागि वडाले गरेको प्रयासका बारेमा बताउदै उनले भने ‘हाम्रो वडामा रहेको लग्दहवा मावि पुरानो भइसक्यो । भवनहरु जीणर् अवस्थामा छन् । त्यो भवन कस्ले बनाइदिने ?’ जनप्रतिनिधिका आफ्नै बाध्यता रहेको बताउदै उनी अघि थप्छन् ‘वडामा आएको बजेट बाटोघाटो, ढल नाला बनाउदैमा सकिन्छ। स्थानीयको पहिलो चाहाना नै यहि हुन्छ ।’ शिक्षाले नै मानव जीवनको महत्वपुणर् र पहिलो आवश्यक्ताका रुपमा आफूले बुझेको उनको भनाई छ । ‘मेरो प्राथमीकतामा शिक्षा र स्वास्थ्य सधै प्राथमीकतामै पर्छ, तर सुधारका लागि एक क्षेत्रको वुझाइले मात्र पुग्दैन । त्यस क्षेत्रका स्थानीयको पनि चेत विकसित हुनुपर्छ ।’
विद्यालयको भौतिक विकासका लागि वडाले बनाइरहेको योजना सुनाउदै उनले थपे ‘विद्यालय मुख्य सडक सुर्खेतरोडको छेउमा छ । सडकछेउको जमीन भएकाले उक्त जमीनमा सटरहरु निकाल्ने र भाडामा दिन सकिन्छ कि भनेर वडाध्यक्ष र मैले योजना बनाइरहेका छौँ । त्यो रकमले विद्यालयको भौतिक पुर्वाधार निर्माण गर्ने एउटा योजना छ भने अर्को विद्यालयका साना बालबालिका लागि स्कुल बस व्यवस्था गर्न सकिन्छ कि भन्ने सोच छ।’
सामुदायिक विद्यालयमा अंग्रेजी भाषालाई प्राथमीकतामा राख्नुपर्ने वक्ताहरुले बताए । नीजी विद्यालयमा अंग्रेजी भाषामा पढाइ हुने भएकाले यसतर्फ अभिभावकहरुको चासो बढेको पाइएकाले सामुदायिक विद्यालयमा समेत यो अभ्यासको सुरुवात गर्नुपर्ने नेपालगन्ज १८ का वडासदस्य चक्रबहादुर बुढाले बताए । आफूले विद्यालय व्यवस्थापन समितिमा रहेर काम गरीसकेको अनुभव रहेको बताउदै उनले भने ‘अंग्रेजी भाषा विश्वभरको साँझा र आवश्यक भाषा भएकाले सामुदायिक विद्यालयमा पनि यसलाई अभ्यासमा ल्याउनुपर्छ।’ शिक्षा सुधारका लागि आफू प्रतिवद्ध रहेको बताउदै उनले विद्यालयमा गरेको अभ्यासबारे सुनाए ‘वडा नं २० राँझा नजीकै थपुवामा रहेको विद्यालयमा विद्यार्थीलाई अनिवार्य स्कुल डे्रस टाई, सुट, अनुशाशन र हाजीरीमा कडाई गर्यौँ । विद्यालयबाट भाग्नेबालबालिकाका अभिभावकहरुलाई जानकारी दिन थाल्यौँ’ यो अभ्यासले विद्यालयको स्तरमा सुधार आएको महसुस गरेको उनले बताए । कोरोनाको समयमा शिक्षकहरुले आफै पनि बालबालिकाकोमा गएर केही सिकाउन सकेको भए यो समयमा उपलव्धी हुने उनको तर्क छ ।
कोभिडका कारण बालबालिकाको पढाई प्रभावित भइरहेकोले यसले पनि शिक्षा क्षेत्रमा ठुलो प्रभाव पार्ने शिक्षक जयन्ति गीरीले चिन्ता व्यक्त गरिन् । अनलाईन कक्षा सन्चालन भइरहेको भएपनि कतिपय बालबालिका यसको पहुँचमा नभएको उनको भनाई छ । गतवर्ष पनि कात्तिक र मंसीरमा पढाइ भएको बताउदै उनले २ महिने पढाइले बालबालिकालाई नपुग्ने उनको भनाई छ ।
हाल सुधार हुँदै गएका अधिकांश सामुदायिक विद्यालयहरुमा शिक्षकको दरबन्दी खाली रहेको उनको गुनासो छ । नेपालगन्ज २० राँझाको आर्दश माविमा शिक्षक अभाव रहेको बताउदै उनले भने ‘कक्षा ९ मा करीब १ सय ४० जना विद्यार्थी छन् । उनिहरुलाई हेर्नका लागि माविको दरबन्दीमा एक जना मात्र शिक्षक छन् ।’
यस्तै शिक्षकको अभाव लग्दहवा माविमा पनि छ । वडासदस्य ढुंगानाले भने ‘एक जना शिक्षकको मात्र दरबन्दी छ, प्रधानाध्यापक केहि समयमै सेवानिवृत हुदैहुनुहुन्छ । त्यसपछि विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी कस्ले समालीदिने ?’
मानवअधिकारकर्मी कृष्णमुरारी प्रसाद भट्ट भन्छन् ‘दरबन्दीमा पनि पुँहुचको भरमा आफ्नालाई राख्ने गरीएको छ । विद्यालयमा गइसकेपछि शिक्षकले शिक्षकको काम गर्नुपर्ने हो । तर राजनीति किन ?
जिल्ला शिक्षा समन्वय इकाइ बाँकेका प्रमुख रामशुरेस यादवले दरबन्दी प्रयाप्त नरहेको अवस्थामा कतिपय मर्ज गर्ने अवस्थामा रहेका विद्यालयका शिक्षकहरु यहाँ व्यवस्थापन गर्न सकिने बताए । यसका लागि जनप्रतिनिधि, अभिभावक र विद्यार्थीको समन्वय हुनुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा विद्यालयमा राजनीति हुने गरेकाले पनि शैक्षिक क्षेत्रमा समस्या भएको बताए । शिक्षामा समेत माफियाहरु रहेकोले थप समस्या रहेको उनिहरुको भनाई छ । शिक्षा सरकारी शिक्षकले निजी विद्यालयमा लगानी गर्ने र छोराछोरी समेत निजी विद्यालयमा पढाउने शिक्षकहरु बाँकेमा पनि रहेको उनिहरुको भनाई छ ।
सामुदायिक विद्यालयमा तालीम प्राप्त शिक्षक भएपनि कुनै विद्यालयमा विद्यार्थी नै नभएको र विद्यार्थी भएका विद्यालयमा शिक्षकको दरबन्दी भएको, भौतीक पुर्वाधार जीणर् भएको, विद्यालयमा हुने राजनीति, अभिभावकको वेवास्ता लगायतका कारणहरुले शैक्षिक संस्थाहरुको गुणस्तर खस्कदै गएको भन्दै शिक्षासेवि विष्णुप्रसाद सुवेदिले प्रस्तुत गरेको २८ वुँदे कार्यपत्रमाथि छलफल गरीएको थियो ।
छलफलपछि विद्यालय अनुगमन र मुल्यांकन नियमीत गर्ने, वैकल्पीक सिकाईमा जोड दिने, प्राविधिक शिक्षा, अभिभावक शिक्षा, आवश्यक शिक्षकको व्यवस्था गरी शैक्षिक प्रणालीमा सुधार ल्याउन सरोकारवालाहरुले प्रतिवद्धता गरेको शिक्षाका लागि नागरीक सन्जाल बाँकेका अध्यक्ष तारा खनालले जानकारी दिए । पुर्व सांसद खड्गवहादुर वुढाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष भद्र प्रसाद देवकोटाले गरेका थिए । त्यस्तै कार्यक्रमको सन्चालन उषा भण्डारीले गरेकि थिइन् ।