खै गजलले मात्रै स्थापित बनाएको ?
Saturday, August 14th, 2021, 8:00 am
Kalpristha
–महानन्द ढकाल
वहरमा गजल लेख्नेहरू र गैर वहरमा गजल लेख्नेहरूको लडाइँ केही दिनदेखि हेरिरहेका छौं । यो लडाइँले फेरि नेपाली गजल धरापमा पर्न सक्ने, मुर्छित हुन सक्ने र ओरालो लाग्न सक्ने सङ्केतहरू प्रष्ट देखिन थालेका छन् ।
अति गरे खति हुन्छ । गजलमा अति गर्नेहरूको बिगबिगी बढ्न थालेको छ । पहिलो कुरा त कुनै पनि साहित्यिक विधाको पक्ष विपक्षमा लाग्नु नै गलत छ । त्यसमा पनि भर्खरै स्थापित हुन थालेको नेपाली गजललाई आफ्नो मात्रै पेवा बनाउन खोज्नु झनै गलत र निन्दनीय छ । दोस्रो कुरा कसले कुन स्तरको गजल लेखिरहेको छ भन्ने कुरा गजल मन पराउनेहरूले कुनै न कुनै रुपले मुल्यांकन गरिरहेकै छन् । मनमुटुमा चट्ट सजाएर राखिराख्ने शेरको खोजमा/पर्खाइमा गजलका पारखीहरू अहिले पनि तड्पिरहेका छन् । यो पर्खाइले कुनै न कुनै दिन मूर्त रुप लेला भन्ने आशा पनि हराउने सङ्केत देखिन थालेका छन् । गजलका ठेकेदारहरू यो वा त्यो (वहर/गैर वहर) निहुँमा गजलको घाँटी निमोठ्ने कार्यमा उफ्रिउफ्री लागिरहेका छन् । तर वास्तवमा गजलको विषयलाई लिएर अति गरिहाल्नु पर्ने जरुरी छैन ।
गजल मन पराउनेहरूलाई थाहा छ-गजल गीत हो, गजल कविता हो अझ भनौं गजल दुवै गुण बोकेको काव्य विधा हो । गजलमा कोमलता हुन्छ । सरलता हुन्छ गजलमा । हिन्दी र उर्दू गजल सुन्नेहरूले उग्रता भेट्टाउँदैनन् गजलमा । नेपाली गजल हिन्दी र उर्दू गजलको हाराहारीमा पुग्न अझै कयौं दशक लाग्ने देखिन्छ तर गजलको विकासको नाममा विनास सुरु भएको छ नेपाली गजलको । गजलकारहरूमा भाइरल बन्ने मोह जाग्न थालेको छ । आफंै लेखक, आफै समालोचक हुन थालेका छन् कतिपय गजलकारहरू ।
“लेखक आफैं, सङ्गितकार आफैं र गायक आफैं बनेर पछिल्लो समयको सर्वोत्कृष्ट गीत, सङ्गीत र गायन’ भनेर प्रचारप्रसार गर्नु कत्तिको उक्तिसङ्गत होला ? यस्तै भएका छन् हाम्रा आशा लाग्दा गजलकारहरू । वहर र गैर वहरको पक्ष-विपक्षमा हात धोएर लागेका छन् गजलकारहरू ।
हाम्रा वहरे गजलहरु कालजयी बन्न सकेका छैनन् । हाम्रा गैर वहरे गजलहरूले युग बोक्न सक्ने भएकै छैनन् । यो स्वीकार्न किन सकिरहेका छैनन् गजलकारहरू । एक दुई दर्जन गजल लेख्दैमा र एक दुई गजलका कृति प्रकाशन गर्दैमा किन ठेकेदार सम्झिन्छन् आफूलाई गजल लेखनको ? वरिष्ठ बन्ने भोक कति छिटो लागेको ? समग्र साहित्यसङ्ग गजल साहित्य तथा समग्र स्थापित साहित्यकारहरूको लेखनसँग आफ्नो गजल लेखनलाई तौलिन किन सकिरहेका छैनन् ? आत्ममुल्याङ्कन केले रोकेको उनीहरूलाई अहमले वा अज्ञानताले ?
गजल मात्रै लेखेर नेपालको कुन गजलकार स्थापित भएको छ ? हामीले मान्दै र स्थापित गजलकार भनेर नाम जप्दै आएका ज्ञानुवाकर पौडेलले मुक्तक समात्नु परेको छ, स्थापित हुनैको लागि । डा. कृष्णहरि बरालका गजल राम्रा छन्, तर उनलाई स्थापित हुन गीतको सहयोग लिनु परेको छ । गजलमा मनु ब्रजाकी नाम गजलकारहरू बाराम्बार लिन्छन्, तर समग्र साहित्यमा उनलाई कथाले बचाएर राखेको छ । बुंद रानाको गजल लेखन र गायनलाई हरेक गजलकारहरू मन पराउँछन्, तर साहित्याकाशमा बाल साहित्यले बुंद रानालाई ओजिलो बनाउन सहयोग गरेको छ । गजलमा पीएचडी गर्ने घनश्याम परिश्रमी, डा. नारायण प्रसाद शर्मा गैरे तथा टिकाराम उदासीले सबैको साहित्यकार बन्न समालोचना वा कविता समात्नै परेको छ । ललिजन रावल र नेत्र एटमहरू गजल मात्रै लेखेर परिचित भएका होइनन् ।
हाम्रोतिर उहिलेदेखि अहिलेसम्म गजलमा मरिहत्ते गर्ने र गजलकार भनेरै परिचय बनाएका खगेन्द्र गिरि कोपिलालाई मुक्तक र नियात्रा समात्नु परेको छ । दशकौं भयो गजल गजल भन्दै हिडेंको । खै गजलले मात्रै स्थापित बनाएको ? खै राष्ट्रिय पहिचान दिलाएको ? श्रेष्ठ प्रिया पत्थर पहिलो नेपाली गजलको कृति लेख्ने महिला भनेर गजलकारहरू बाहेक कतिलाई थाहा होला ? गजल मात्रै लेखेको भएपनि उनको जीवनी किताबका पानाहरूमा आउनुपर्ने होइन ? खै आएको ? आख्यान नसमातेको भए सायद भविष्यको के कुरा वर्तमानले नै बिर्सन्थ्यो प्रियालाई । यी उदाहरणहरूले गजल मात्रै लेखेर स्थापित हुन अझै गाह्रो छ भन्ने देखाउँदैन र ? पहिला गजल विधालाई नै स्थापित गर्ने तर्फ लाग्नु पर्ने देखिदैन र ?
कि विवादको माध्यमबाट स्थापित गर्न सकिन्छ भन्ने छ ?
पढ्दै नपढेका र कहिल्यै साहित्य नलेखेकाहरूको मुखैमा झुण्डिने खालको एउटा मात्रै शेर कुनै नेपाली वहरे र गैर वहरे गजलकारहरूले लेख्न सकेका छन् ? जुन शेर हजारौं वर्षपछि पनि जनजनको जिब्रोमा झुण्डिन सकोस् । त्यस्तो शेर कतै छ ? अझै पनि नेपाली गजलकारहरूले हिन्दी र उर्दूको समकक्षी गजल लेख्न सकिरहेका छैनन् । यस्तो बेलामा गजलको श्रीवृद्धिमा लाग्ने कि वहरे र गैर वहरे भनेर आरोप प्रतिआरोपमा लाग्ने ? गजल लेख्न कलमको निब चोपेकाहरूको हात काप्ने बनाएर तपाईंहरूले भने जस्तै गजलको उत्थान होला र ? नदी र परिवर्तनलाई कसैले रोक्न सक्दैन भन्ने बुझ्न किन नसकेको ? साहित्यमा ठेकेदारीपन सुहाउँदो हुँदैन भन्ने चेत कहिले आउने ?
वहर वा गैर वहर आफूलाई जुन सजिलो लाग्छ त्यसैमा राम्रो लेख्ने जमर्को गरौं । नेपाली गजल अझै स्थापित काव्य विधा भइसकेको छैन । आख्यान वा गैर आख्यानको दाँजोमा पुग्न सकेको छैन । वास्तविकता बुझिबुझी बुझपचाउने काम नगरौं । यो वा त्यो कित्तामा लागेर गजललाई विवादित नपारौं । गजललाई विवादित बनाउएर कसरी गजलको पारखी बन्न सकिएला र ?
कमजोरी दुबै पक्षमा कायमै छन् भन्ने यथार्थलाई बिर्सेर फेरि निषेधको लेखन किन गर्ने ? एकले अर्कोलाई किन धम्काउने ? स्वघोषित गजलको ठेगदार किन बन्ने ?
गजल मन पराउनु हुन्छ भने लेख्नुहोस्, लेख्न दिनुहोस् । लेख्नेहरूले पनि लेख्दै जाने हो । राम्रो लेख्न सके समीक्षा गर्नेले कुनै न कुनै दिन समीक्षा नगरेर सुखै छैन । राम्रो लेख्ने सयौं वर्षपछि पनि भाइरल हुन सक्छ ।