माटोका सामानको माग बढ्दै, तर माटो नपाइने चिन्ता
Sunday, August 15th, 2021, 5:39 pm
Kalpristha
केही वर्षयता कट्का चिया, मट्का दही जस्ता परिकारहरुको प्रचार र लोकप्रियता नेपालगन्जमा बढ्दै गइरहेको छ । नेपालगन्जको विपी चोक, त्रिभुवन चोक, सेतु विक चोक लगायतका स्थानमा चिया र दही मट्का बेच्ने पसलहरु सन्चालनमा छन् । ती पसलहरुले कुम्हालहरुसँग मासिकरुपमा कपको लागि अर्डर दिने गर्छन् ।
वीरेन्द्र जैसी
नेपालगन्ज, ३० साउन
नेपालगन्ज-२१ पुरैनीका युवा रामु कुम्हार एक विद्यालयमा जागिर गर्छन् । जागिरबाट बचेको उनको समय माटो सँगै खेल्दै बित्थ्यो । अहिले त अधिकांश समय माटाका भाडा बनाउनमै दिइरहेका छन् उनी । माटाका भाँडा बनाउने उनको पुख्र्यौली पेशा हो । उक्त पेशा एक समय लगभग बन्द नै हुने स्थितिमा पुगेको थियो । त्यसको कारण थियो बजारमा माटाका भाँडाको विकल्पमा प्लाष्टिकका सामानहरु उपलब्ध हुनु र मानिसहरु पनि सहजताले तिनै सामानतिर आकर्षित हुनु । ‘एक समय प्लाष्टिकका सामानहरुले हाम्रो पेशा नै लोप भइहाल्छ भन्ने अवस्था आइसकेको थियो । हामीहरु पनि एकदमै कममात्र माटाका सामानहरु बनाउथ्यौँ,’ रामुले भने ।
तर केही वर्ष यता मुर्झाउन लागेको माटोका भाँडा बनाउने पेशामा पुनः आशाको सन्चार भएको स्थानीय ज्येष्ठ नागरिक मलहे कुम्हार बताउँछन् । बजारमा माग बढेको देखेर आफ्ना छोराहरुले माटाका भाँडाबाटै राम्रो जीविकोपार्जन गर्न सक्छन् भन्ने आशा पलाएको उनी बताउँछन् । त्यसको कारण हो पछिल्लो समय बजारमा केही विशेष परिकारहरुका लागि माटामा सामानहरु प्रयोग हुने क्रम बढ्नु । त्यसरी बजारमा माग बढेका सामानहरु परम्परागत भन्दा फरक छन् । पछिल्लो समय बजारमा धेरै माग भएका सामानहरु चिया र दही खाने कपहरु हुन् । ‘पुराना खाले सामान पनि बिक्छन् बिक्न त । तर चाडबाडका बेला मात्रै । तर यी कपहरु त बाह्रै महिना माग आउन थालेको छ,’ यही वर्ष एसईई पास गरेका रामुका काकाका छोरा भगवतीले भने ।
रामुजस्तै उक्त टोलका करिब एक दर्जन युवाहरु माटाका भाँडा बनाउने पेशामा आफ्नो भविष्य देख्न थालेको बताउँछन् । आफ्नो समुदायको पेशाप्रति मोह राख्ने र लोप हुने अवस्थाप्रति चिन्ता राख्ने रामु बाँकेमा मात्रै करिब एकसय कुम्हाल समुदायका युवाहरु कुनै न कुनैरुपले माटाका भाँडा बनाउने पेशामा संलग्न रहेको दावी गर्छन् । नेपालगन्जमै तीन चार स्थानमा रहेका कुम्हाल टोलमा पनि दर्जनौँ युवाहरु माटामा सामानहरु बनाइरहेका छन् । पहिले चाडबाडका बेला काम लाग्ने भुर्की, पाला, गाग्रालगायतका सामानहरुमात्रै बिन्ने गरेकोमा पछिल्लो समय बजारमा चिया र दहीसमेत माटाका कपमा बिक्न थालेपछि उनीहरुले भविष्यमा थप संभावना देख्न थालेका हुन् ।
केही वर्षयता कट्का चिया, मट्का दही जस्ता परिकारहरुको प्रचार र लोकप्रियता नेपालगन्जमा बढ्दै गइरहेको छ । नेपालगन्जको विपी चोक, त्रिभुवन चोक, सेतु विक चोक लगायतका स्थानमा चिया र दही मट्का बेच्ने पसलहरु सन्चालनमा छन् । ती पसलहरुले कुम्हालहरुसँग मासिकरुपमा कपको लागि अर्डर दिने गर्छन् । अर्डर नपाएकाहरुले पनि बजारमा पुर्याएर बेच्ने गरेका छन् । कतिपय पसलेहरु घरमै पुगेर सामान लिएर आउँछन् । नेपालगन्जबाहिर सुर्खेतसम्म माटाका भाडाहरुको माग रहेको रामु बताउँछन् । नयाँ प्रविधिको प्रयोग गर्न सक्ने हो भने र बजारमा माटाका सामान खपत हुने अरु क्षेत्र पनि पत्ता लगाई सोहीनुसार उत्पादन गर्न सक्ने हो भने यसमै सयौँ युवा स्वरोजगार बन्न सक्ने रामुको बुझाइ छ ।
माग बढिरहँदा माटो निकाल्ने ठाउँको चिन्ता
एकातिर माटोका भाँडाको माग बढिरँदा कुम्हाल युवाहरु खुसी छन् भने अर्कोतिर उनीहरुले माटो निकाल्ने तलाउहरु मासिँदै जाँदा चिन्तामा पनि । ‘माटोका भाँडा बनाउन जहीँतहीँको माटोले हुँदैन । विशेष माटो चाहिन्छ । तर त्यस्तो माटो पाइने तलाउहरुमा अब हाम्रो अधिकार खोसिएको छ,’ रामुले भने । कुनैबेला उनीहरुले निर्धक्क माटो निकाल्ने गरेका नेपालगन्जका कान्तीतलाउ र फुल्टेक्र तलाउमा अहिले उनीहरु जानै डराउनुपर्छ । ती दुवै तलाउहरु नेपालगन्ज उप-महानगरपालिकाले भौतिक संरचना बनाउनेगरी उपयोग थालेको छ । विशेषगरी कान्ती तलाउ सौन्दर्यकरणको अन्तिम चरणमा छ । त्यहाँ अब कुम्हाल समुदायले माटो निकाल्ने कल्पना गर्ने ठाउँ पनि छैन । फुल्टेक्रा तलाउमा पनि क्रिकेट स्टेडियम बनाउने योजना उपमहानगरको छ । त्यहाँ पनि कुम्हाल समुदायले पहिलेजस्तो माटो निकाल्न दिइँदैन । ‘लुकीचोरी माटो निकालेर कठ्ठामा बोक्दै यतिसम्म जम्मा गरेका छौँ,’ घरमा जम्मा गरेको माटो देखाउँदै रामुले भने । यद्धपि उक्त तलाउमा भौतिक संरचा बनाउन नपाइने भन्दै बाँके जिल्ला अदालतमा मुद्धा परेको छ । अदालतले मुद्धाको टुंगो नलागुन्जेलसम्म संरचना नबनाउन आदेश दिएको छ ।
फुलटेक्रा तलाउमा हिन्दु र मुस्लिम धर्मावलम्वीहरुका लागि धार्मिक प्रयोजनका लागि भन्दै ठाउँ छुट्याइएको थियो । तर पुस्तौँअघिदेखि त्यही तलाउबाट माटो निकालेर सामान बनाउँदै आएका मुम्हाल समुदायलाई एक इन्च जमिन नछुट्याइएकोमा उनीहरु दुःखित छन् । ‘कुनै बेला माटो थियो तर बजारमा माग थिएन, अहिले माग बढेको छ तर माटो पाइँदैन कि भन्ने चिन्ता छ,’ रामुले भने । स्थानीय सरकारले स्थानीय कलाको संरक्षण गर्नुपर्नेमा वेवास्तापूर्वक पेशा नै अप्ठ्यारोमा पार्ने काम गरेको कुम्हाल समुदायको भनाइ छ ।