टाइब्रेकरमा धम्बोझीले हरायो न्यु दर्पणलाई
Tuesday, May 12th, 2026, 8:24 pm
Kalpristha
प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगितामा
गणेश राई
खजुरा, वैशाख २९ गते

……….
नेपालगन्जको धम्बोझी क्लबले प्रथम अशोक स्मृति कप (यु–२०)फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशाला मैदानमा धम्बोझी क्लबले न्यु दर्पण स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा खेल सकिएको थियो । खेलमा धम्बोझीका गोलकिपर नविनराज परियार प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो ।
उहाँलाई आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरी र प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान अध्यक्ष तिलकवीर सुनारले पुरस्कृत गर्नु भएको थियो ।
श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–०४ बाँकेको सह–आयोजना र ब्रदर्श एफसीको विशेष सहयोगमा भैरहेको प्रतियोगितालाई एलिसा ज्वैलर्सले मुख्य प्रायोजन गरेको छ । जेठ ३ गते सम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।
पुर्व फुटबल खेलाडी अशोक विकको स्मृतिमा भैरहेको प्रतियोगितामा २० वर्ष उमेर समुहका खेलाडीलाई सहभागि गराइएको छ । प्रतियोगिताको विजेता टिमले ५१ हजार रुपैयाँ, उपविजेताले ३१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरीले बताउनु भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २ हजार ५ सय रुपैयाँ, ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको प्रथम पुरस्कार रकम रु.५१ हजार रुपैयाँ खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी हाल अमेरिकामा रहनु भएका समाजसेवी तथा खेलप्रेमी लील बहादुर थापाले प्रायोजन गर्नु भएको प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष तिलकवीर सुनारले जानकारी गराउनु भयो । त्यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई फायर फास्ट फुड एण्ड रेष्टुरेन्टले जनही १ हजार रुपैयाँ प्रायोजन गरेको छ ।
२० वर्ष उमेर समुहका खेलाडीले प्रतिस्पर्धा गरिरहेको प्रतियोगितामा कालिका युवा क्लब, न्यु डाँफे स्पोर्टस क्लब, मोडेल एफसी, धम्बोझी एफसी, न्यु दर्पण स्पोर्टस क्लब, ब्रदर्श एफसी, सिमलघारी, चन्द्र ज्योति, खजुरा– ११ (आयोजक), योगिनी युवा क्लब, बागमति युवा क्लब र महिन्द्र दल गण भुपुको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत वैशाख ३० गते बुधबार योगिनी युवा क्लब र बागमति युवा क्लबले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक तिलकवीर सुनारले जानकारी गराउनु भयो ।