‘डाँडाको बरपीपल’ छायांकनमा
Wednesday, August 25th, 2021, 11:17 am
Kalpristha
भदौ ९
करिब १६ वर्षपछि भुवन केसी र शिव श्रेष्ठ एकसाथ देखिने चलचित्र ‘डाँडाको बरपीपल’ छायांकनमा गएको छ । धादिङको धार्केबाट फिल्मको छायांकन थालिएको हो ।
६० दिनको छायांकन सेड्युलमा काठमाडौं र चित्लाङमा फिल्म खिचिनेछ । शोभित बस्नेतको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायत मुख्य भूमिकामा छन् ।
बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी छ । फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राई/रामजी लामिछानेको नृत्य निर्देशन, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।
२००५ मा रिलिज भएको शोभित बस्नेत निर्देशित सुपरहिट फिल्म ‘राजु राजा राम’ पछि भुवन र शिवले एकसाथ काम गरेका थिएनन् । १६ वर्षपछि शोभितले नै दुई सुपरस्टारलाई एकसाथ पर्दामा उतार्न लागेका हुन् । त्यस्तै, यो फिल्ममा गौरी मल्ल र शिव श्रेष्ठ करिब २० वर्षपछि एकसाथ देखिँदै छन् ।