एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत पूरा
Wednesday, August 25th, 2021, 2:27 pm
Kalpristha
काठमाडौं, ९ भदौ
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद र केन्द्रीय सदस्यले पार्टी दर्ताका लागि सनाखत गरेका छन् ।
माधव नेपाल नेतृत्वको पक्षमा नेकपा (एकीकृत समाजवादी) बाट ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् । नेता झलनाथ खनालले भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन् ।
नेता नेपाल पक्षीय अरू नेताहरू निर्वाचन आयोग पुगेर सनाखत गरे । यस्तै जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न संघीय संसदका १४ जना सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि बुधबार आयोगमा प्रतिनिधि र राष्ट्रिय सभाका १४ सांसदले सनाखत गरेको नेता केशव झाले जानकारी दिए ।
जसपाका प्रतिनिधि सभामा ३४ र राष्ट्रिय सभामा तीन जना सांसद छन् । तीमध्ये दुई जना निलम्बनमा परेका छन् ।
निलम्बनमा परेका सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएको झाले बताए । चौधरीसहित प्रतिनिधि सभाका १४ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेको झाले जानकारी दिए । सनाखत गरेसँगै नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोसपा दर्ता हुने भएको छ ।
केही समयअघि जारी भएको अध्यादेशअनुसार कुनै दल विभाजन हुन केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत मत भए पुग्ने व्यवस्था छ ।