खरिदारले बलात्कार गरी जन्मिएको बच्चा गायव पारे
Wednesday, August 25th, 2021, 2:46 pm
Kalpristha
कालपृष्ठ डेस्क
जुम्ला, ९ भदौ
जुम्लाका हिमा गाउँपालिकाका एक खरिदारले एक बालिकालाई जबरजस्ती करणी गरेको र जन्मिएको बच्चालाई अपहरण गरेर गायव पारेको खुलासा भएको छ । डेढ वर्षअघि जुम्लाको हिमा गाउँपालिका-३ कि १६ वर्षकी ती बालिकालाई सीप विकाससम्बन्धी एक तालिम लिन गाउँपालिकामा आएको बेला खरिदार दानबहादुर रोकायाले जबरजस्ती करणी गरेको पाइएको हो ।
आवासीय तालिममा सहभागी भइरहेकै अवधि एकदिन ती बालिकालाई मोबाइल चार्ज गर्न दिने बाहनामा कोठामा लगेर जबरजस्ती शारीरिक सम्बन्ध राखेको पाइएको हो ।
बालिको गएको कात्तिकमा उनको बच्चा जन्मिएको र १० महिनापछि तिनै व्यक्ति (खरिदार)ले बच्चा गायब बनाइदिएका छन् । भदौ ३ गते उनले आफ्नो अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई अपहरण गरेर गायब बनाएका हुन् ।
बच्चा अपहरण गरेको अभियोगमा रोकायामाथि मुद्दा चलिरहेको छ । भदौ ५ गते उनी सुर्खेतबाट पक्राउ परेका थिए । ७ गते सुर्खेत प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार उनीमाथि जिल्ला अदालतबाट सुरूमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
रोकायले आफ्नो बच्चा जन्मिएपछि उनैसँग विवाह गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने मनस्थितिका साथ बच्चा अपहरण गरेको देखिएको छ । हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाका अनुसार खरिदार रोकाय निलम्बनमा परिसकेका छन् ।
प्रहरीका अनुसार उनले अपहरण गरेको उक्त बच्चा अहिले कहाँ छ भन्ने कुरा खुलिसकेको छैन ।