‘तकदिर’ ले पाकिस्तानी जेलहुँदै नेपाल आए बलबहादुर
Wednesday, September 1st, 2021, 8:28 am
Kalpristha
एकदिन माछा मार्ने क्रममा थाहै नपाइ उनी चढेकोसहित ६ वटा बोटहरु पाकिस्तानको समुद्रमा पुगेछन् । त्यहाँबाट पाकिस्तानको जलसेनाले उनीसँगै तीन दर्जन भारतीयलाई नियन्त्रणमा लिएर कराँचीको जेलमा राख्यो । बलबहादुरले अदालतमा उपस्थित गराइँदा भने, ‘म भारतीय होइन, नेपाली हुँ ।’
वीरेन्द्र जैसी/विक्रम बुढाक्षेत्री
नेपालगन्ज, १५ भाद्र
करिब ८ वर्षको उमेरमा घरपरिवारसँग बिछोडिएका बर्दिया जमुनीका बलबहादुर भण्डारी ४७ वर्षपछि पाकिस्तानको जेलबाट छुटेर घर आइपुगेका छन् ।
नेपालगन्जको घरबारीटोलका एकजना चिनजानका व्यक्तिको घरमा काम गर्ने र पढाइसमेत गर्नेगरी घरबाट छुटेका बलबहादुरलाई तकदिर’ले (उनकै शब्दमा)करिब ४४ वर्ष भारतमा घुमाइरह्यो । ‘तकदिर’ले नै अन्तमा उनलाई पाकिस्तानको जेलसम्म हुत्यायो । चार वर्ष उनी पाकिस्तानी जेलमा बसे । ‘तकदिर’ले नै करिब ६ दशकको उमेरमा फेरि मातृभूमि ल्याइपुर्याएको छ ।
मंगलबार नेपालगन्ज विमानस्थलमाआईपुग्दा बलबहादुरले आफूले बचपन बिताएको नेपालगन्जका बारेमा धेरै कुरा याद नभएको बताए । ४७ वर्षपछि पाकिस्तानको कराँची जेलमा भेटिएकाउनको पाकिस्तानस्थित नेपालीराजदुतावास र वैदेशिक रोजगार बोर्डको पहलमा स्वदेश फर्किने प्रयास सफल भएको छ । चार वर्षभन्दा बढी जेल बसेपछि र उनको नेपाली पहिचान खुलेपछि उनी सोमबार राति कराँचीबाट काठमाडौं आइपुगेका थिए । ५२ वर्षीय भाइ गुमानसिंह भण्डारी काठमाडौं गएर उनलाई हवाइजहाजबाटै कोहलपुर नगरपालिका-१४ स्थित घरमा ल्याइपुर्याएका छन् ।
नेपालगन्ज विमानस्थलमा कुरा गरौँ भनेर क्यामेरा खोल्दा बलबहादुरले अलिक संकोच प्रकट गरे । उनले छेउमा बसेका भाइतर्फ देखाउँदै ‘उहाँलाई सम्झादिनुस्’ भने । भाइले उनको संकोच दूर गर्दै भने, ‘म छु तपाइंलाई अप्ठ्यारो भएको ठाउँमा मैले भनिदिन्छु ।’
त्यसपछि स्वागत गर्दा ओढाइएको खादाले पसिना पुछ्दै बलबहादुरले भने, ‘यतिका वर्षपछि आफ्नो ठाउँमा आइपुगँे खुसी लागेको छ ।’ लामो समय भारतमा बसेका उनको लवज बिग्रिएपनि भाषा बिर्सेका रहेनछन् । नेपाली भाषामा खरर बोल्न नसकेपनि उनले हिन्दी शब्दहरु कम प्रयोग गर्ने प्रयास गरिरहे ।
सानैमा घरबाट बिछोडिएका उनले भारत जानु अघिको बाल्यकाल सम्झिँदै भने, ‘म नेपालगन्जमा सीता (राना) दिदीकोमा काम गर्न र पढ्न आएको थिएँ । यहाँबाट राजापुर गएँ । त्यसको केही वर्षमै चिनेका डा. सरोज रानाले लिएर गयो । उहाँको वाइफ केरलाको हो । उहाँले मलाई लिएर गयो । पढाउँछु लेखाउँछु भनेर । फेरि वाहाँ गएर घरको काम गराउने । सबै काम गराउने झाडुपोछा ।’
उनले भारतमा बस्दा अनेक दुःख पाएको बताए । घरको यादले सताएर फर्किन खोज्दा अनेकपटक आउन नपाएको तीतो अनुभव उनले सुनाए । ‘घरआउनको लागि वहाँबाट मद्रास आएँ ।मद्रासमा केहीवर्ष बसेँ । त्यहाँ काम गरेर नेपाल आउनको लागि पैसा जम्मा गरेको थें । पैसा साथीभाइले चोरी गरेर भाग्यो । फेरि वहाँबाट बम्बई गएँ । बम्बईमा वाचमेनको काम गरेँ। गोर्खाको काम गरेँ । त्यहाँबाट गुजरात आएँ ।’
उनले भारतमा बस्दा सबैभन्दा बढी बिताएको ठाउँ गुजरात नै हो । त्यहाँ उनले १५,१६ वर्ष बिताएकोबताउँछन् । गुजरातमा काम गरेर घर आउने पैसा जम्मा गरेकोमा त्योपनि चोरी भएको उनले दुःखद भोगाई पोखे । ‘गुजरातमा पनि घर आउनका लागि पैसा जम्मा गरेको थेँ, पन्ध्र सोल हजार । त्यहाँ पनि साथीभाईले पैसा लगेर भाग्यो ।’
गुजरातमै उनले बोटमा चढेर समुद्रमा माछा मार्ने काम पाए । त्यही कामले उनलाई पाकिस्तानको जेलसम्म पुर्यायो । एकदिन माछा मार्ने क्रममा थाहै नपाइ उनी चढेकोसहित ६ वटा बोटहरु पाकिस्तानको समुद्रमा पुगेछन् । त्यहाँबाट पाकिस्तानको जलसेनालेउनीसँगै तीन दर्जन भारतीयलाई नियन्त्रणमा लिएर कराँचीको जेलमा राख्यो । बलबहादुरले अदालतमा उपस्थित गराइँदा भने, ‘म भारतीय होइन । नेपाली हुँ ।’
उनको त्यो वयान पुष्टि गर्ने कुनै प्रमाण थिएन । उनको पक्षमा पाकिस्तानका सरकारी वकिलले वकालत गरे ।
कुरो पाकिस्तानस्थित नेपाली राजदुातावास सम्म पुग्यो । राजदूतावासलेबलबाहदुरसँग उनको जन्मस्थलको ठेगाना माग्यो । त्यहाँबाट सुरु भयो उनी नेपाली हुन् भन्ने कुराको प्रमाण जुटाउने काम ।स्थानीय प्रहरी-प्रशासन प्रमाण खोज्दै भाइ गुमानसिंहसम्म पुग्यो । गुमानसिंहले भने, ‘पाकिस्तानको कराँची जेलमा रहेको एक जनाले आफ्नो नाम बलबहादुर भण्डारी र आफ्नो घर बर्दियामा रहेको भनेको छ । तपाईंहरुको मान्छेपनि हराएको छ ? भनेर सोधे । त्यसपछि फोटो देखाएपछि यकिन भयो दाइ पाकिस्तानको जेलमा रहेछन् ।’
कराँची जेलबाट उद्धार गरेर नेपाल ल्याइएका बले क्षत्रीको काठमाडौं-नेपालगन्जको घरफिर्ती टिकट तथा काठमाडौं होटलमा केही दिन क्वारेन्टाइन बसाइको खर्च वैदेशिक रोजगार बोर्डले व्यहोरेको छ । भाइ गुमानसिंह ऋणधन गरेर महँगो हवाई टिकट तिर्दै काठमाडौं पुगे र दाइलाई लिएर आए ।

बलबहादुर (बायाँ) र गुमानसिंह (दायाँ)
जेलमा शारीरिक यातना भने नपाएको बलबहादुरले बताए । बरुएकपटकमा एउटा रोटीदिने गरेको र त्यसैमा चित्त बुझाउनुपर्ने गरेको उनले बताए । जेलमा बस्दा केही पोते बुन्ने लगायतका काम पनि गरेको उनको भनाई छ । आफू बसेको जेलमा थुप्रै भारतीयहरु रहेको उनी बताउँछन् । नेपालीहरु भने नभेटेको उनको भनाइ छ ।
जेल परेपनि बलबहादुरले पाकिस्तान सरकारलाई धन्यवाद दिए । ‘म नेपाली हुँ त भनेँ । तर मसँग कुनै प्रमाण थिएन । अहिलेपनि मसँग नागरिकता छैन । तैपनि अरु प्रमाणका आधारमा त्यहाँको अदालत र सरकारले मलाई छोडिदियो । उनीहरुलाई धन्यवाद छ,’ उनले भने । आफ्नो उद्धारमा संलग्न सबैप्रति आभार प्रकट गरे ।
चार दशकबढी भारतमा बिताएका र विभिन्न सहर घुमेका बलबहादुर त्यहाँ नेपालीहरुको परिचय इमान्दार मानिसहरुको रुपमा स्थापित रहेको बताउँछन् । ‘नेपालीहरुको राम्रो नाम छ । इमान्दार भनेर चिन्छन् हामीलाई,’ बलबहादुर भन्छन् ।
जहाँ गएपनि आफ्नो देशजस्तो अरु ठाउँ नहुने उनी बताउँछन् । ‘नेपाल साह्र्र्रै राम्रो ठाउँ हो । आफ्नो ठाउँजस्तो अरु हुँदैन,’ उनले भने ।
उनले गुजरातमा एक युवतीसँग प्रेम भएर विवाह गर्न खोजेको तर युवतीको परिवारले दुईलाख रुपैयाँ लिएर आएमात्रै विहे गर्ने बताएपछि हुन नसकेको बताए । ‘अब यतै विहे गर्छुँ,’ बलबहादुरले हाँस्दै भने ।
भाइ गुमानसिंहले अब दाजुको नागरिकता बनाउने मुख्य काम रहेको र त्यसपछि उनको सीपअनुसार रोजगारी वा व्यवसायबारे योजना बनाउने बताएका छन् ।
गुमानसिंहको परिवार हाल कोहलपुर १४ हवल्दारपुरमा छ । उनका एक छोराले समेत विहे गरिसकेका छन् । ७९ वर्षीय बुवा बलबहादुर भने बर्दियाको जमुनीमा कान्छा भाइसँग बस्दै आएका छन् । अहिले हवल्दारपुर भाइकोमा बसेका बलहादुर बुढा भइसकेका बुवालाई भेट्न आतुर रहेको बताउँदै थिए । घरतर्फ जान गाडिमा चढ्दै गर्दा सानैमा आमा गुमाएकाबलबहादुर भन्दै थिए, ‘मैले त अझै बुवा हुनुहोला भन्ने सोचेकै थिएन ।’