अस्पताल र स्वास्थ्यकर्मीले लापरबाही गरेको समितिको निष्कर्ष
Monday, September 13th, 2021, 6:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ भाद्र
नेपालगन्जस्थित भेरी अस्पतालमा भदौ ९ गते मृत शिशुको हातमा दुईजना आमाको ट्याग लागेको घटनामा अस्पताल र स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । बालरोग विशेषज्ञ डा. रोमा बोराको संयोजकत्वमा भदौ ११ गते गठित समितिले उक्त घटनामा अस्पतालले बिरामीको चाप अनुसार स्वास्थ्यकर्मी र बेडहरु व्यवस्थापन गर्न नसक्दा घटना भएको निष्कर्ष निकालेको हो ।
दुई हप्ता लगाएर समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाएको छ । विज्ञसहितको छानबिन समितिका संयोजक डा. बोराले अस्पतालमा एउटै बेडमा दुईजना शिशु राख्दा अलमल भएर एकै शिशुको हातमा दुईवटा ट्याग लगाउन पुगेको कर्मचारीहरुले बयान दिएका कालपृष्ठलाई बताइन् । एउटै बेडमा शिशु राख्ने कर्मचारीको ड्युटी सकिएर नयाँ आएका कर्मचारीले झुक्किएर एकै बच्चाको हातमा दुईवटा ट्याग लगाइदिएको पाइएको उनले बताइन् । डा. बोराले भनिन्, ‘अस्पतालले बिरामी अनुसारको स्वास्थ्यकर्मी व्यवस्थापन गर्न नसकेको पाइयो । हुन त अस्पतालमा बिरामीको चाप पनि त्यसबखतमा अन्य समयभन्दा बढी नै थियो । तैपनि एउटै बेडमा दुईवटा बच्चा राख्दा उक्त घटना हुन गएको देखियो ।’
डा. बोराले अस्पतालको कमजोर व्यवस्थापन र कर्मचारीको लापरबाहीले निम्तिएको उक्त घटना ठूलो घटना हुनसक्ने जोखिमको संकेत भएको बताइन् । ‘अस्पतालमा सानो गल्तिले पनि ठूलो दुर्घटना निम्तिन सक्छ,’ डा. बोराले भनिन्, ‘यस घटनालाई पाठको रुपमा लिएर अस्पतालले आफ्नो सेवा सुधार गर्ने र कर्मचारीहरुले थप जिम्मेवार बन्नेतिर कदम चाल्नुपर्छ ।’
प्रतिवेदनमा के सुझाव छ ?
प्रतिवेदनमा अस्पतालमा बिरामीको चापअनुसार स्वास्थ्यकर्मी व्यवस्थापन गर्न, एन आइसियुमा एक बच्चाको साथमा एकजना कर्मचारी व्यवस्थापन गर्न, सेवाग्राहीलाई आवश्यक जानकारी र परामर्श दिन र सेवामा देखिएका समस्यालाई सुधार गरी आगामी दिनमा गल्ती नदोहोर्याउन सुझाव दिएको छ ।

सुझाव
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिवेदन आवश्यक अध्ययन गरी सार्वजनिक गरिने जानकारी दिए । साथै, अस्पताललाई पनि प्रतिवेदनले सुझाएका सुझावहरुसहित सेवा सुधार गर्न अस्पताललाई निर्देशन पनि दिइने उनले बताए ।
भदौ १० गते भएको सहमतिअनुसार छानबिन समितिको प्रतिवेदनले दोषी ठहर गरेका व्यक्ति उपर प्रचलित काुनअनुसार कारबाही गर्नेपनि उल्लेख छ । तर समिति संयोजक डा. बोराले आफूहरुलाई घटनाको यथार्थ पत्ता लगाउने र देखिएका कमजोरीहरु सुभार गर्न सुझाव दिने म्याण्डेड दिएकोले सोहीअनुसार प्रतिवेदन तयार गरिएको बताइन् । समितिले प्रतिवेदनमा किटान गरेर कसैलाई पनि कारबाही सिmारिस नगरिएको उनको भनाई छ । प्रजिअ गेलालले प्रतिवेदन अध्ययन पश्चात थप प्रकृया अघि बढाइने बताएका छन् ।
गत भदौ ९ गते खजुरा गाउँपालिका-६ की २० वर्षीया चन्द्रा विक जन्माएको शिशुु भेरी अस्पतालको एनआइसियुमा मृत्यु भएको थियो । मृत्यु भएका शिशुुको हातमा अस्पतालका कर्मचारीले दुईवटा आमाको ट्याग लगाइदिएका थिए । परिवारले शिशुुको अन्तिम संस्कार गर्न लाग्दा हातमा अर्कैको ट्याग देखेपछि आशंका उत्पन्न भई उनीहरुले बालकलाई खाडलबाट निकालेर खजुबाट पुनः अस्पताल ल्याएका थिए ।
९ गते राती अस्पतालमा तनाव उत्पन्न भएको थियो । १० गते अस्पताल प्रशासन र पीडित पक्षबिच भएको वार्तामा घटनाबारे छानबिन गर्न समिति गठन गर्न जिल्ला प्रशासनलाई अनुरोध गर्ने निणर्य भएको थियो । त्यसको पछिल्लो दिन जिल्ला प्रशासन कार्यालयले डा. बोराको संयोजकत्वमा समिति पाँच सदस्यीय समिती गठन गरेर ७ दिनभित्र घटना घट्नुको कारण, सेवा प्रवाहमा भएका कमिकमजोरी र सुधार गर्नुपर्ने कुरासहितको प्रतिवेदन तयार गरि बुझाउन निर्देशन दिएको थियो ।
त्यसपछि घटनाबारे छानविन गर्न समिति बनाउने, शिशुको डिएनए परीक्षण गर्नेलगायतका बिषयमा सहमति भएको थियो । शिशुको डिएनए परीक्षणका लागि नमुना संकलन गरेर काठमाडौं पठाइएको छ ।
भेरी अस्पताल घटना प्रकरणः समितिले बुझाउन सकेन प्रतिवेदन |