४ वर्षपछि सभागृह निर्माण अन्तीम चरणमा
Wednesday, September 15th, 2021, 1:51 pm
Kalpristha
सभागृह निर्माणको काम तोकिएको मितिमा पनि सम्पन्न नहुने भएपछि ६ महिना म्याद थपगरी २०७७ असार मसान्तसम्म पुर्याइयो । तर म्याद थपिएको दुुई महिनामै कोरोना महामारी फैलिएपछि सभागृहको निर्माणको काम प्रभावित बनेको थियो ।
लिलाधर वली
दाङ, ३० भाद्र
घोराहीमा निर्माणाधीन अवस्थामा रहेको बहुउद्देश्यीय सभा गृह अन्तिम चरणमा पुगेको छ । घोराही उप-महानगरपालिका-१४ को पुुरानो बसपार्कमा निर्माणाधीन अवस्थामा रहेको बहुउद्देश्यीय सभागृहको करिब ९५ प्रतिशत निर्माण काम सकिएको हो ।
२०७४ सालमा निर्माण कार्य सुरु गरिएको बहुउद्देश्यीय सभागृह दशैअघि काम सक्नेगरी अहिले काम भई रहेको छ । दुई वर्षअघि निर्माण सक्ने गरी सुरुमा सम्झौता भएपनि विविध कारण निर्माणमा ढिलाई भएको पश्चिम नेपालकै ठूलो र आकर्षक बहुउद्देश्य सभागृह चार वर्षपछि निर्माणको अन्तिम तयारीमा रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए ।
लुम्बिनी प्रदेशकै नमूना सभागृह बनाउने गरी दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा संघीय र प्रदेश सरकारको २६ करोड ७७ लाख रुपैयाँ र उवासंघको तीन करोड २३ गरी करिब ३० करोड रुपैयाँ लगानी बहुउद्देश्य सभागृहमा हालसम्म खर्च भएको छ । गतवर्षको असार मसान्तमै सभागृहको काम सम्पन्न भई सक्नुपर्ने भएपनि कोरोना संक्रमणको जोखिमका कारण सभागृह निर्माणको काम हुन नसकेपछि दोश्रोपटक म्यादथप गरिएको अध्यक्ष बुढाथोकीले बताए । उनका अनुसार कोरोना संक्रमणको प्रभाव निर्माणमा परेको भन्दै निर्माण व्यवसायीले दुई वर्ष काममा ढिलाई गर्दा निर्माणमा ढिलाई भएको हो ।

सभागृह
२०७४ असोजदेखि निर्माण सुरु भएको बहुुउद्देश्यीय सभागृह २०७६ पुुस मसान्तभित्र सम्पन्न भई सक्नुुपर्ने थियो । सभागृह निर्माणको काम तोकिएको मितिमा पनि सम्पन्न नहुने भएपछि ६ महिना म्याद थपगरी २०७७ असार मसान्तसम्म पुर्याइयो । तर म्याद थपिएको दुुई महिनामै कोरोना महामारी फैलिएपछि सभागृहको निर्माणको काम प्रभावित बनेको थियो । लकडाउनका कारण निर्माण ठप्प भएपछि तोकिएकै मितिमा सम्पन्न हुन नसकेको गौरी शंकर पार्वती कन्सट्रक्सन प्रालीले जनाएको छ ।
उवासंघका अध्यक्ष बुढाथोकीका अनुसार अहिलेसम्म सभागृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ‘सभागृहको करिव ९५ प्रतिशतभन्दा बढी काम निर्माण भैरहेको छ’, उनले भने,‘अहिले बाँकी रहेका सिट जडान, टायल बिछ्याउने, रंगरोगनलगायतका बाँकी कामहरु भई रहेका छन् ।’
सभागृह निर्माणको काम असोजभित्रै सम्पन्न गरिसक्ने गरी काम भई रहेको अध्यक्ष बुढाथोकीले बताए । ‘अहिले निर्माणको काम भई रहेको छ । यो हिसाबले असोजभित्र सबै काम तयार भएर सञ्चालनमा आउने गरी निर्माण भइरहेको छ’,अध्यक्ष बुढाथोकीले भने, ‘निर्माणको काम अन्तिम चरणमा भएकाले चाडै काम सकिनेछ ।’
नले निर्माणको काम असोज महिनाभन्दा ढिलाई नहुने बताए । सभागृह निर्माण भएसँगै दाङमा राष्ट्रियस्तरका ठूला गोष्ठी तथा भेलाहरु गर्न सहज हुने अपेक्षा गरिएको छ । १९ कट्ठा १७ धुुर जग्गामा निर्माणाधीन अवस्थामा रहेको सभागृहमा आठ सय भिआइपी सिट र दुुई सय सामान्य सिट गरी एक हजार सिट क्षमता रहेको उद्योग वाणिज्य संघले जनाएको छ ।