दुग्ध वितरण आयोजनाले किसानलाई दियो भुक्तानी
Thursday, September 16th, 2021, 11:52 am
Kalpristha
आयोजना प्रमुख योगेन्द्र शाहले हालको अवस्थामा २०७८ साउन महिनासम्मको सबै बाँकी झुक्तानी किसानहरुलाई गरिसकिएको जानकारी दिए । उनले दुग्ध विकास संस्थानले २० करोड रुपैयाँ ऋण लिएर किसानको रकम भुक्तानी गरेको बताए ।
कालपृष्ठ समाचारदाता
नेपलगन्ज, ३० भाद्र
दुग्ध विकास संस्थानको नेपालगन्ज दुग्ध वितरण आयोजना कार्यालयले कोहलपुरले किसानलाई दुधको मुल्य भुक्तानी गरेको छ ।
गत आर्थिक वर्ष २०७७-०७८ को चैत देखि असार महिना सम्मको १ करोड २८ लाख ७५ हजार एक सय रुपैयाँभन्दा बढी रकम नदिएको किसानहरु मर्कामा थिए ।
आयोजनाले झण्डै ८० करोड बराबरको पाउडर दुध र मख्खन बिक्री नभएर गोदाममै थन्किएको बताउँदै किसानको रकम भुक्तानी गरेको थिएन । यस विषयमा कालपृष्ठ दैनिकमा साउन ८ गते समाचार प्रकाशित भएको थियो । त्यतिबेला किसानहरुले दुधको भुक्तानी नपाएको भन्दै गुनासो पाखेको थिए ।
किसानले पाएनन दुधको भुक्तानी |
आयोजना प्रमुख योगेन्द्र शाहले हालको अवस्थामा २०७८ साउन महिनासम्मको सबै बाँकी झुक्तानी किसानहरुलाई गरिसकिएको जानकारी दिए । उनले दुग्ध विकास संस्थानले २० करोड रुपैयाँ ऋण लिएर किसानको रकम भुक्तानी गरेको बताए । ‘हामीले तयार गरेका पाउडर दुध र मख्खन बिक्री नभएर भुक्तानी गर्न सकिएको थिएन । तर किसानहरुको मर्कालाई बुझेर डिडिसीले २० करोड ऋण लगेर देशभरका सबै किसानको बाँकी भुक्तानी गरेको छ,’ शाहले भने ।
तर, अहिलेपनि पाउडर दुध र मख्खन भने आयोजनाको गोदाममै थन्किएको छ । दुध तथा दुग्ध पदार्थबाट बनेको ९ सय मेट्रिक टन पाउडर दुध र ४ सय मेट्रिक टन मख्खन कोरोनाका कारण बिक्रि नभई गोदाममै थन्किएको शाहले बताएका छन् । पछिल्लो समय केही मात्रामा उक्त उत्पादनहरु बिक्री हुने क्रम भने सुरु भएको उनले जानकारी दिएका छन् ।
लकडाउनका बेला बजार बन्द दुधको खपत कम भएको थियो । त्यसबेला किसानको घरमा दुध लिन डिडिसीको ट्यांकर जान सक्ने अवस्था समेत थिएन । जुन सिजनमा मख्खन पाउडरको दुध बनाएर बजारमा बिक्रि गर्नुपर्ने हो त्यही समयमा कोरोना संक्रमणका कारण लकडाउन भएपछि झण्डै ८० करोड बराबरको ९ सय मेट्रिक टन पाउडर दुध र ४ सय मेट्रिक टन मख्खन आयोजनाको गोदाममा थन्किएको हो ।
गोदाममा थन्किएपनि उत्पादन बिग्रने अवस्था भने नरहेको प्रमुख शाहले बताएका छन् । डेढ वर्षसम्म उत्पादनहरु सुरक्षित हुने उनले बताए । आयोजनाको कोहलपुर कार्यालयले बाँके, बर्दिया, दाङ्ग, सुर्खेत र रुकुम जिल्लाबाट दुध संकलन गरी विभिन्न उत्पादन बनाएर बजारमा पठाउने गर्छ । कोहलपुर प्लान्टको प्रशोधन क्षमता एक हजार लिटर प्रति घण्टा रहेको छ । आयोजनाले सुख्खा सिजनमा सिजनमा प्रतिदिन दुई हजारदेखि तीन हजार लिटर सम्म र मुख्य सिजनमा १२ हजारदेखि १ हजार लिटर दुध संकलन गर्ने गर्दछ ।