तरङ्गित विद्रोही चेत
Saturday, September 25th, 2021, 8:00 am
Kalpristha
— खगेन्द्र गिरि ‘कोपिला’
दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ
सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ
हजारौं जनताको आहुतीको खै क्षमा याचना ! संबोधन?
तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ
झट्ट सुन्दा यी पङ्क्तिहरु राजनैतिक आक्रोशको जोशिलो अभिव्यक्तिजस्तो देखिन्छन् । सडकमा उभिएर कुनै आक्रोशित युवाले लगाएको नाराजस्तो भान पनि पर्छ । तर पढिसकेपछि र सुनिसकेपछि यी पङ्क्तिहरुले पाठक र स्रोतालाई एकछिन गम्भीर बनाउँछन् । सोचमग्न बनाउँछन् । पाठकको मनमा कुतूहल र जिज्ञासा जगाउँछन् ।
यी पङ्क्तिमा विपन्न, असहाय र निमुखा नागरिकको आर्तनाद पोखिएको छ । आम मानिसले सधैं देखेका, व्यहोरेका र भोगेका कुराहरुलाई शब्दमा गुँथेर प्रकट गर्नु र त्यसबाट पाठक र स्रोताको अन्तरहृदयमा कुनै न कुनै प्रकारको प्रभाव पार्नु नै साहित्य हो । कुनै पनि स्रष्टाको साहित्यिक क्षमता भनेकै यही हो ।
माथि उल्लेखित पङ्क्तिहरु कल्पना पौडेल ‘जिज्ञासु’ को मुक्तकसङ्ग्रह ‘विद्रोहका तरङ्ग’बाट उद्दरण गरिएका हुन् । यस्तै-यस्तै अर्थपूणर् र मर्मस्पर्शी भाव बोकेका दुई सय छत्तीस वटा मुक्तकहरुको यो सङ्ग्रह कल्पना फाउण्डेसन, नेपालद्वारा २०७७ साल माघ महिनामा प्रकाशित गरिएको हो ।
मुक्तक नेपाली साहित्यमा लघु आकारको विधाको रुपमा चिनिन्छ । यद्यपि आजभोलि मुक्तकभन्दा पनि सानो आकारका विधाहरु साहित्यमा भित्रिसकेका छन् । तैपनि मुक्तकको महत्व, धाक, उपस्थिति र लोकप्रियतालाई कुनै विधाले पनि उछिन्न सकेको छैन । मुक्तक आकारमा सानो र छिटोछरितो भएर मात्रै लोकप्रिय भएको हैन ।
मुक्तकलाई मुक्तक बनाउनको लागि मुक्तकमा अर्थपूणर् र मर्मश्पर्शी भाव त हुनै पर्यो । त्यसमा चमत्कारी प्रस्तुति, चोटिलोपन र घतलाग्दो अभिव्यक्ति पनि हुनैपर्छ । कवियत्री कल्पना पौडेल ‘जिज्ञासु’ आफ्ना मुक्तकलाई यस्ता मुक्तकीय गुणहरुले भरिपूणर् बनाउनमा सचेत नै देखिएकी छन् ।
आफ्ना मुक्तकलाई छरितो भाव र प्रहारक क्षमता दिनमा उनले राम्रो प्रयास गरेकी छन् । उनका केही घतलाग्दा मुक्तक हेरौं :—
चेतनाको दृष्टिकोण तार्किक हुनुपर्छ
मन पग्लिनलाई अवस्था मार्मिक हुनपर्छ
सम्बन्धलाई दीगो जोगाईराख्नु छ भने
दुई पक्षबीचको भावना हार्दिक हुनुपर्छ
————————————————————
एउटा बन्द हुँदा अरु हजार खुल्छन् बाटाहरु
समयसंगै निको हुन्छन् घाउका सबै खाटाहरु
रातपछि दिनजस्तै दुःखसुखको चक्र चल्छ
यसैगरि काटिने छन् जिन्दगीका पाटाहरु
————————————————————
जतिसुकै किनेर ल्याऊ तिमीले सामान बजारबाट
अहँ ! जित्न सकिन्न कसैको मन कृत्रिम संसारबाट
सोंच विचारको संगमले नै फुल्छ विश्वासको फूल
युद्ध र तरवारबिना पनि संसार जितिन्छ प्यारबाट
उपरोक्त मुक्तकहरु केही उद्दरण गरिएका नमूनामात्रै हुन् । कल्पना पौडेल ‘जिज्ञासु’ को मुक्तकसङ्ग्रह ‘विद्रोहका तरङ्ग’ भित्र यस्ता थुप्रै घतलाग्दा र चोटिला मुक्तकहरु सङ्ग्रहित छन् ।
कवयित्री नारी भएको कारणले पनि उनका मुक्तकमा नारीसुलभ ममता र वात्सल्य प्रेमको भाव पनि छताछुल्ल भएर पोखिएको पाइन्छ । एउटा उदाहरण हेरौं :—
दुधे बच्चा छोडी विदेसिने कुनै आमाको रहर हुँदैन
चर्किन्छ छाती सन्तान सम्झी नरोएको नजर हुँदैन
पुरुषबाटै शोषित पीडित कैंयौं नारी प्रवासमा छन्
उनको त्याग र साहसको किन यहाँ कदर हुँदैन?
यो अधिकांश नेपाली महिलाहरुको साझा समस्या र प्रायः सबैले भोगेको पीडा हो । देशमा रोजगारको अवस्था नभएको र खेतीपातीबाट मानिसका सबै आवश्यकताहरु पूर्ति हुन सक्ने स्थिति नभएकोले पुरुष मात्र हैन नारीहरु पनि अचेल रोजगार खोज्दै विदेशिन वाध्य छन् ।
अथर्ोपार्जन गरी सुन्दर भविष्य निर्माण गर्ने अभिलाषा बोकेर विदेशमा भासिएका नारीहरुले अनेक प्रकारमा दुःख, कष्ट र पीडा बोक्नु परेका कथाहरु पनि थुप्रै छन् । कल्पना पौडेल ‘जिज्ञासु’ले आफ्ना मुक्तकमा यसरी रोजगारी खोज्दै विदेसिएका नारीका साझा मर्मश्पर्सी पीडाहरुलाई पनि समेटेकी छन् ।
भावनाको गहिराईलाई छोएर लेख्यो भने साहित्यिक रचनाहरु सबैको मन छुन सक्षम हुन्छन् । ‘विद्रोहका तरङ्ग’मा समेटिएका मुक्तकमा प्रायः समाजका यथार्थ विषयबस्तुहरु नै पाइने भएकोले यो सङ्ग्रह पनि पाठकको मन छुन सक्षम छ । यस सङ्ग्रहमा जीवन र समाजका यथार्थ कुराहरु समेटिएकोले यसलाई यथार्थवादी मुक्तकसङ्ग्रह भन्न सकिने अवस्था छ ।
कल्पना पौडेल ‘जिज्ञासु’ ले मानिसको जीवन, समाज र राष्ट्रको चिन्तन गरेकी छन् । मानिसका व्यक्तिगत र सामाजिक सरोकारका कुराहरुलाई पनि आफ्ना मुक्तकमा ढालेकी छन् । उनले जुनजुन विषयमा मुक्तक लेखेकी छन् ती सबैमा हृदय बोलेको प्रतीत हुन्छ । कहीं कतै बनावटीपनको आभास हुन्न ।
यी मुक्तकहरु लेख्नको लागि मात्रै लेखिएकोजस्तो लाग्दैनन् । कवियत्रीका व्यक्तिगत रागअनुराग र जैविक प्रतिकृयाहरु पनि मुक्तकमा ढालिंदा त्यसमा प्रेमिल झङ्कार उत्पन्न भएको आभास हुन्छ । मानिस र मानिस बीचको सम्बन्धलाई उनले शारीरिक आवश्यकतामात्र नठानेर जीवनको उर्जा र शक्तिको रुपमा ग्रहण गर्नु पर्ने सन्देस दिएकी छन् ।
उदाहरणको लागि यी मुक्तक हेरौं :—
जीवनरुपि यात्रा बीचमा हुनाले त्यो परिचय
उनीसँग पोख्न थालें मनका भाव कतिपय
सहज बन्दै जाँदा साथ सामिप्य बढ्दै गयो
जिन्दगी काट्न उनैसंग हुन गयो समन्वय
————————————————————
बलिरहने छ तिम्रै नाममा पिरतीको टुकी
जबसम्म रहन्छ यो ज्यानमा ढुकढुकी
बदलिने छैन मन जस्तो मोड आए पनि
सागरसरि मेरो माया जाने छैन सुकी
————————————————————
बढ्दै जाँदा सामिप्यता सम्बन्धले यस्तै माग्छ
मित्रताको सम्बन्ध सबैभन्दा माथि लाग्छ
जीवनरुपि यात्रामा भेटिन्छन् कोही चौतारी बनी
पीडा बिसाउने छहारी बन्छ दुःख पीडा टाढा भाग्छ
मुक्तक सङ्ग्रह ‘विद्रोहका तरङ्ग’ विविध भावभूमि र अनुभूतिका अनेक रङहरुले सिंगारिएको भएपनि यसको मूल आत्मा भनेको विद्रोही चेत नै हो । यहाँ भएका र भैरहेका कुराहरुप्रति कवयित्रीमा प्रायः असहमति र असन्तुष्टी नै देखिन्छ । बिग्रेका कुराहरु सुध्रियुन् भन्ने उनको आग्रह रहेको छ । बिगार्नेहरु सही बाटोमा हिडुन् भन्ने उनको अभिप्राय रहेको छ ।
उनको विद्रोह आफ्नै मनसंग छ । आफ्नै जीवनसंग छ । आफ्नै समाज र आफ्नै वातावरणसंग छ । अनेक आयाममा विस्तारित उनको विद्रोहको ध्येय भने मानिस र समाजलाई सुधार्नुनै हो । सबै सुध्रिए भने देशले अग्रगति लिने छ भन्दै उनले सुन्दर भविष्य निर्माणको मीठो कल्पना गरेकी छन् ।
यस सङ्ग्रहमा समेटिएका विषय अनेक तरङ्गमा अनुवाद भएर पोखिएका भए पनि साहित्यको सर्वोपरि सत्ता भनेको मानव जीवननै हो । मानव जीवन भनेको अनुभवको दस्तावेज हो । अनुभूतिको भण्डारण हो । संघर्षको पाठशाला हो र चुनौतिहरुको प्रयोगशाला हो ।
कवयित्री कल्पना पौडेल ‘जिज्ञासु’ ले पनि जीवनलाई प्रयोगशाला र पाठशालाकै रुप बुझेकी छन् र व्यहोरेकी छन् । जीवनमा आएका दुःख र पीडाहरुलाई उनले बरदानको रुपमा ग्रहण गरेकी छन् । यस सङ्ग्रहको निष्कर्षको रुपमा उल्लेख गर्न मिल्ने उनका यस मुक्तकले जीवनलाई अनुभवहरुको दस्तावेज नै ठानेको प्रतीत हुन्छ :—
दुःखसंग नजिकबाट चिनजान भयो जिन्दगीमा
आफन्त र पराईको पहिचान भयो जिन्दगीमा
आउँछन् जब जटिल मोड चुनौतिको सामना गर्छु
पीडाको अग्लो पहाड बरदान भयो जिन्दगीमा
-(आदर्शमार्ग, नेपालगंज)