जीविकोपार्जन सुधार परियोजनाको समापन
Tuesday, October 5th, 2021, 7:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ असोज
जनजागरण समाज बाँकेले सन्चालन गरेको पारिवारिक खेती सबलीकरण एवं कोभिड-१९ बाट प्रभावितहरुको लागि जीविकोपार्जन सुधार परियोजनाको समापन गरिएको छ । गरिब तथा विपन्न परिवारहरुलाई कृषिको माध्यमबाट आर्थिक उपार्जनको विकल्प प्रदान गर्ने एवं कोभिड-१९ बाट प्रभावित युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्ने उदेश्यले गतवर्षदेखि उक्त परियोजना सन्चालन गरिएको परियोजना टिम लिडर ऋषिराज ओलीले जानकारी दिए ।
उक्त परियोजनाको मंगलबार नेपालगन्जमा एक कार्यक्रम गरी समापन गरिएको हो । परियोजना अन्तर्गत पाँच सय घरपरिवारलाई तरकारी र मकैको बीउ, पानी सिचाईंको लागि ट्यान्की वितरण गरिएको, दुई सय ४० परिवारलाई कुखुरा वितरण गरिएको र ६० जना युवा युवतिहरुलाई एक सय ६० घण्टे तालिम प्रदान गरिएको कार्यक्रममा जानकारी दिइयो ।
६० जना युवाहरुमध्ये २० जनालाई प्लम्बर, २० जनालाई मोबाइल रिपेरिङ र २० जनालाई वाइरिङको तालिम दिइएको छ । नेपालगन्ज उप-महानगरपालिकाका मेयर डा. धवलशमशेर राणको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा सीप लिएकाहरुलाई सीपको प्रयोग गरी व्यवसायिक बन्न आवश्यक पर्ने साधनहरु पनि वितरण गरिएको छ । तालिममा सहभागी युवामध्ये २३ प्रतिशत विदेशबाट फर्केकाहरु रहेको कार्यक्रममा जानकारी दिइयो ।

सीप प्रयोग गर्ने सधान वितरण गरिँदै
कार्यक्रमलाई संबोधन गर्दै मेयर राणाले युवाहरुलाई सीप प्रदान गर्नु परियोजनाको सबल पक्ष रहेको बताए । सीपले युवाहरुमा व्यवसायिक बन्ने क्षमता आउने र वैदेशिक रोजगारी पनि सुरक्षित एवं परीणाममूखी हुने बताए । तालि पाएका युवाहरुलाई उनले सुरुमा कोही अनुभवीसँग काम गरेर निखार ल्याउन र त्यसपछि आफै व्यवसायिक बन्न सुझाव दिएका छन् ।

कार्यक्रमलाई संबोधन गर्दै मेयर धवलशमशेर राणा
परियोजना जर्मन सहयोग, जिआइजेड र लिबर्डको सहकार्यमा सन्चालन गरिएको थियो ।