शिक्षक पेशालाई सम्मानजनक व्यवहार भएन : बाँकेका शिक्षाकर्मी
Tuesday, October 5th, 2021, 7:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
असोज, १९ नेपालगन्ज
शिक्षक पेशालाई सम्मानजनक व्यवहार नगरिएको बाँकेका शिक्षाकर्मीहरुले गुनासा गरेका छन् । बालबालिकालाई शिक्षा प्रदान गरी देशका लागि योग्य जनशक्ति उत्पादन गर्ने शिक्षकलाई सरकारले समेत पेशागत हकहितका लागि चासो नदिएको उनीहरुको गुनासो छ ।
४७ औँ अन्तराष्ट्रिय शिक्षक दिवसका अवसरमा शिक्षाका लागि नागरिक सन्जाल बाँकेले ‘शैक्षिक रुपान्तरणका लागि शिक्षक’ नाराका साथ नेपालगन्जमा आयोजना गरेको ‘सृजनशिल र सम्मुन्नत समाज निर्माणमा शिक्षकको भूमीका’ विषयक कार्यक्रममा सहभागीहरुले सो गुनासो पाखेका हुन् ।
कार्यक्रममा सहभागी मानवअधिकारकर्मी कृष्णमुरारी प्रसाद भट्ट्ले एक प्रतिवेदन प्रस्तुत गर्दै भने, ‘ती शिक्षक शिक्षिका जसले पहिलो घण्टीमा हाजिर लगाउँदा विद्यार्थी गयल भएको थाहा पाएपछि विद्यालयमा किन आएन, के कारणले आएन भनेर चिन्तित हुन्छन् । यसरी विद्यार्थीको भविष्यप्रति चिन्ता गर्ने शिक्षकलाई सम्मानजनक व्यवहार गरेको पाइँदैन । उल्टै शिक्षकलाई व्यापारी सम्झने प्रवृत्ति देखीएको छ ।’
पछिल्लो समयमा केही मानिसहरु शैक्षिक संस्था सन्चालन गर्ने नाममा व्यापारिक अभिष्टले अघि बढेका घटनाले समेत शिक्षक पेशाको सम्मानमा आँच आएको उनले बताए ।
बाँकेका अधिकांश विद्यालयमा शिक्षक दरबन्दीको अभाव छ । कतिपय विद्यालय भवन जीणर् अवस्थामा छन् । कतिपय विद्यालयमा वर्षा हुने बित्तिकै कक्षाकोठामा पानी पस्ने अवस्था छ । कतिपय विद्यालयमा भौतिक पुर्वाधारको अभाव छ । अभावै अभाव हुँदा पनि स्थानीय तहले चासो नदिएको बेलासपुर आधारभूत विद्यालयका प्रधानाध्यापक सरिता खड्काले बताइन् । विद्यालयका लागि स्थानीय तहले कुनै बजेट नदिएको उनको दुःखेसो छ ।
अभिभावकहरुले पनि छोराछोरीले शिक्षक बन्ने भनेपछि नाक खुम्च्याउने प्रवृत्ति देखिनुले पनि समाजले पनि यो पेशाको सम्मान गर्न नसकेको बुmिभने शिक्षाका लागि नागरिक सन्जाल बाँकेका अध्यक्ष तारा खनालले बताए । ‘डाक्टर, पाइलट पढाउनका लागि अभिभावकहरु कति उत्साहित हुन्छन् । तर कुनै क्षेत्रमा काम नलागेपछि बल्ल शिक्षक बन्ने भन्ने सोच छ’ खनालले भने ।
कार्यक्रममा सहभागी कतिपय शिक्षकहरुले शिक्षक दिवसबारे पहिलो पटक जानकारी पाएकोसमेत बताए ।
कार्यक्रममा शिक्षा पेशालाई सम्मानजनक बनाउनका लागि राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, शिक्षकहरुको हकहितका लागि पेशागत संगठन एउटै हुनुपर्ने, प्रधानाध्यापक सक्षम र अधिकार सम्पन्न हुनुपर्ने, शिक्षक पेशामा आउनका लागि कम्तीमा स्नातक तह उतीणर् गरेको र तालिम प्राप्त हुनुपर्नेमा जोड दिइएको छ ।
यस्तै, विद्यार्थी अनुपातमा दरबन्दीको ग्यारेन्टी हुनुपर्ने, शिक्षक आफू पनि मर्यादित दायरामा रहनुपर्ने, विद्यालयमैत्री वातावरण निर्माण र अभिभावक विचको सम्बन्ध समुधुर बनाउन शिक्षकहरु एकजुट हुनुपर्ने, समयानुसार व्यवहारिक र व्यवसायिक पाठ्यक्रम बनाउन सकेको खण्डमा शिक्षक पेशा सम्मानीत हुन सक्ने सहभागीहरुको निष्कर्ष छ ।