बाँके प्रहरीको कामबारे सुनुवाई
Tuesday, October 5th, 2021, 9:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ असोज
बाँके प्रहरीले सार्वजनिक सुनुवाई गर्दै पछिल्लो तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असार १८ गतेदेखि असोज १८ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
यो अवधिमा एक हजार पाँच सय ५० जनालाई सेवा दिइएको उनले जानकारी दिए । यस्तै यो अवधिमा २ सय ३७ मुद्दा दर्ता भएका छन् । एसपी अधिकारीले अघिल्लो वर्षको यो अवधि भन्दा यसवर्ष पक्राउ पर्नेको संख्या दोब्बरले बढेको बताए ।
यस्तै यो अवधिमा दुई करोड ७८ लाखको राजश्व संकलन भएको एसपी अधिकारीले जानकारी दिए । भारतबाट भन्सार छलिका अवैद्य सामान बरामदबाट राजस्व असुलीमा बढोत्तरी आएको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले प्रहरीले आफ्नो आचरण र व्यवहारलाई सुधार गर्दै जनतामैत्री सेवा दिनुपर्ने माग गरेका छन् । नेपालगन्जमा जडान गरिएका सिसि क्यामेरा बिग्रिएको विषयमा पनि कार्यक्रममा सहभागीले प्रश्न गरेका थिए । युवा अभियान्ता साहिल अन्सारीले उठाएको प्रश्नमा जवाफ दिँदै प्रहरी प्रमुख अधिकारीले केही दिनभित्रै सिसि टिभि क्यामेरा मर्मत भइसक्ने जानकारी दिए ।
कार्यक्रमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, संघका महासचिव चिरञ्जीवि ओलीलगायतले धारणा राखेका थिए ।