संघीय सरकारमा बाँकेले प्रतिनिधित्व पाउने, गहतराज बन्दै मन्त्री
Wednesday, October 6th, 2021, 7:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० असोज
बाँकेले संघीय सरकारमा मन्त्रीको प्रतनिधित्व पाउने भएको छ । माओवादी केन्द्रले गठबन्धन सरकारमा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निणर्य गरेको हो । गहतराजले कुन मन्त्रालय पाउने भन्ने टुंगो भने लागिसकेको छैन ।
माओवादीले गहजराजसहित तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको हो । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निणर्य गरेको हो ।
बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए भने नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए ।
माओवादीले भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको छ ।
माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनेकी थिइन् ।
को हुन् अथक ?
महेश्वर गहतराज अथक माओवादीका पुराना नेता हुन् । माओवादी जनयुद्धको सुरुवातमा ०५२ साल फागुन १ गते राति भएका चार आक्रमणमध्ये रुकुमको राडीज्युला प्रहरी चौकीमा अथककै नेतृत्वमा आक्रमण भएको थियो । त्यसपछि उनले कैयन् आक्रमणमा मोर्चा सम्हालेका थिए ।
रुकुमको वीरेन्द्र माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्दै गर्दा एकजना साथीको आमाले गरेको जातीय विभेदको नमिठो व्यवहारबाट आफूमा विभेदप्रति घृणा उत्पन्न भएको गहतराज बताउँछन् । ०४३ सालतिर राजनीतिबाटै विभेदको अन्त्य गर्न सकिन्छ भन्ने निस्कर्षमा पुगेको उनी बताउँछन् ।
त्यसपछि राजनीतिमा लाग्ने ध्येयका साथ तत्कालीन मोटो मशालको भातृ संगठन अनेरास्ववियुमा संगठित भए । त्यसको नेतृत्व प्रचण्डको हातमा थियो । ०४५ सालमा उनी अनेरास्ववियुको जिल्ला कोषाध्यक्ष भए । ०४६ सालमा जनआन्दोलनमा बिद्यार्थी हकहितका नारा लगाएर तत्कालीन व्यवस्थाविरुद्ध सडकमा उत्रिए ।
०४८ सालमा मुसिकोट क्याम्पसको स्ववियु सभापतिमा उठेँ तर, हारे । राष्ट्रिय जनमोर्चासँग पार्टी एकता भएपछि अखिल क्रान्तिकारी राप्ती अञ्चल समन्वय समितिको सचिव भएर काम गरे ।
उनी विद्यार्थी राजनीतिमा लामो समय रहेनन् । ०५१ सालमा काठमाडौंमा सम्पन्न अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट विद्यार्थी राजनीति त्यागे ।
माओवादी त्यतिखेर जनयुद्धको अन्तिम तयारीमा थियो । पार्टीले रुकुम र रोल्पालाई प्रमुख आधार बनाएर जनयुद्ध थाल्न खोजेको थियो । जनयुद्ध थालनी गर्न रुकुममा ३२ जनाको प्रारम्भिक टिम तयारी गरियो । त्यसमा ४ जना कमाण्डार छानियो । एउटा कमाण्डर अथक थिए । तत्कालीन चार कमान्डरमध्ये दुई जना गणेशमान पुन र उनी मात्रै अहिले जीवित छन् ।
जनयुद्ध सुरु भएको एक वर्ष पछाडि उनको अन्तरजातीय विवाह भयो । जनयुद्धकै बीचमा उनी पार्टीको जिल्ला सचिव भए । ३ वर्षजति काम गर्दा एक वर्ष जिल्ला इन्चार्ज पनि भए । ०५७ सालमा म पढेकै विद्यालयमा कार्यक्रम गरी हजारौं जनताको बीचमा जनसरकार घोषणा गरियो । त्यो देशकै पहिलो जनसरकार थियो । जसमा उनी जनसरकार उपप्रमुख थिए । पूणर् घर्ती प्रमुख थिए ।
०५८ सालमा पार्टीले रुकुमबाट कणर्ाली खटायो । हुम्ला, जुम्ला, मुगु, कालीकोट जिल्लाको इन्चार्ज भएर उनी एक वर्ष कणर्ाली बसे । त्यसपछि तराई बाँके झरे बाँके, बर्दिया र सुर्खेत हेर्ने गरेर । त्यतिबेला उनी पार्टीको केन्द्रिय समितिमा पनि थिए ।
१२ बुँदे सहमति भइसकेपछि जनआन्दोलनको आधार तयार गर्नका लागि सबैभन्दा पहिले बाँके-बर्दियामा नेकपा माओवादी र स्थानीय सात राजनीतिक दलका बीचमा चारबुँदे सम्झौता गरियो । त्यसबेला काठमाडौंमा जुन स्तरको आन्दोलन उठेको थियो, त्यस्तै स्तरमा बाँके-बर्दियामा आन्दोलन भयो ।
शान्ति प्रक्रियामा आइसकेपछि पार्टीको स्कुलिङ थियो, मनमा विद्रोह र मुखमा संविधानसभा निर्वाचनको नारा । जनता र संगठनलाई परिचालन गर्न सक्ने ठूलो पङ्ती निर्वाचनको प्रक्रियाभन्दा बाहिर रह्यो । असमझदारी भएर होइन कि तत्कालीन राज्य व्यवस्थाले निर्वाचन नै गर्न दिँदैन र त्यो अवस्थामा फेरि आन्दोलनमा जानुपर्छ भन्ने आँकलनमा । पार्टीको त्यो खालको निर्देशन भएकाले ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी पनि उम्मेदवार नभई बाहिर बसे ।
०७० मा संविधान सभाको दोस्रो निर्वाचनमा उनी बाँके क्षेत्र नम्बर १ (हाल निर्वाचन जितेको निर्वाचन क्षेत्र) बाट उम्मेदवार बने तर, पराजित हुन पुगे । अन्ततः गत प्रतिनिभि सभा निर्वाचनमा निर्वाचित भए ।