को हुन् बाँके निवासी मन्त्रीहरु ?
Friday, October 8th, 2021, 4:08 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, २२ असोज
संघीय सरकारमा बाँकेका दुईजना मन्त्री बन्ने भएका छन् भने लुम्बिनी प्रदेश सरकारमा एक जना । बाँकेका कांग्रेस नेता गजेन्द्र हमाल र माओवादी नेता महेश्वर जंग गहतराज मन्त्री बन्दै छन् । हमाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र गहतराज युवा तथा खेलकुद मन्त्री बन्दै छन् । यसैगरी गजेन्द्रका भाइ सुरेन्द्र हमाल लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्री बन्दै छन् ।
गजेन्द्र हमाल
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले राणाले पनि मन्त्री बनाउन आग्रह गरेको खुलासा भएको थियो । हमाल प्रधानन्यायाधीश राणाका जेठान हुन् ।
हमाल अहिले सांसद छैनन् तर संविधान अनुसार गैरसांसद ब्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ ।
नेपालगन्ज निवासी हमाल २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष हुँदा नेविसंघको बाँके जिल्ला अध्यक्ष थिए । २०३९ र २०४४ मा वडा अध्यक्ष बनेका हमाल २०५३ सालमा नेपाली कांग्रेस बाँकेको सभापति बनेका थिए । पार्टी विभाजन हुँदा उनले शेरबहादुर देउवालाई साथ दिएका थिए । त्यसपछि उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको बाँके जिल्ला सभापति भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा हमाल बाँके क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए । तर, उनी पराजित भए ।
महेश्वर गहतराज
बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ माओवादीका पुराना नेता हुन् । माओवादी जनयुद्धको सुरुवातमा ०५२ साल फागुन १ गते राति भएका चार आक्रमणमध्ये रुकुमको राडीज्युला प्रहरी चौकीमा अथककै नेतृत्वमा आक्रमण भएको थियो । त्यसपछि उनले कैयन् आक्रमणमा मोर्चा सम्हालेका थिए ।
०४५ सालमा उनी अनेरास्ववियुको रुकुम जिल्ला कोषाध्यक्ष भए । ०४८ सालमा मुसिकोट क्याम्पसको स्ववियु सभापतिमा उठे तर, हारे । राष्ट्रिय जनमोर्चासँग पार्टी एकता भएपछि अखिल क्रान्तिकारी राप्ती अञ्चल समन्वय समितिको सचिव भएर काम गरे । ०५१ सालमा काठमाडौंमा सम्पन्न अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट विद्यार्थी राजनीति त्यागे ।
जनयुद्ध थालनी गर्न रुकुममा ३२ जनाको प्रारम्भिक टिम तयारी गरियो । त्यसमा ४ जना कमाण्डार छानियो । एउटा कमाण्डर अथक थिए ।
०५७ सालमा उनी पढेकै विद्यालयमा कार्यक्रम गरी हजारौं जनताको बीचमा जनसरकार घोषणा गरियो । त्यो देशकै पहिलो जनसरकार थियो । जसमा उनी जनसरकार उपप्रमुख थिए । पूणर् घर्ती प्रमुख थिए ।
०५८ सालमा पार्टीले रुकुमबाट कणर्ाली खटायो । हुम्ला, जुम्ला, मुगु, कालीकोट जिल्लाको इन्चार्ज भएर उनी एक वर्ष कणर्ाली बसे । त्यसपछि तराई बाँके झरे बाँके, बर्दिया र सुर्खेत हेर्ने गरेर । त्यतिबेला उनी पार्टीको केन्द्रिय समितिमा पनि थिए ।
०७० मा संविधान सभाको दोस्रो निर्वाचनमा उनी बाँके क्षेत्र नम्बर १ (हाल निर्वाचन जितेको निर्वाचन क्षेत्र) बाट उम्मेदवार बने तर, पराजित हुन पुगे । अन्ततः गत प्रतिनिभि सभा निर्वाचनमा निर्वाचित भएका थिए ।
सुरेन्द्र हमाल
बाँके प्रदेश सभा—२ ख बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । हमालको जीवनको ठूलो योगदान खेल क्षेत्रमा छ । उनी भारोत्तोलनबाट देशलाई ओलम्पिकमा प्रतिनिधित्व गरेका खेलाडी हुन् ।
सन् १९८४ लास्एन्जेल्स ओलम्पिकमा सहभागिता जनाएका थिए । राजनीतिमा उनी विद्यार्थी जीवनबाटै संलग्न रहे । नेपाल विद्यार्थी संघको तर्फबाट महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिव हुदै सभापति भएर काम गरे ।
कांग्रेसका तर्फबाट २०४९ सालमा तत्कालिन नेपालगन्ज नगरपालिकाको उपमेयरमा निर्वाचित भए । यसपछि पार्टीको विभिन्न पदमा रहेर राजनीति र खेलकुदको व्यवस्थापकिय पक्षलाई सम्हाल्दै आएका थिए । २०७४ सालमा उनी प्रदेशसभा निर्वाचित भएर कांग्रेसको संसदीय दलको सचेतकसमेत बनेका थिए ।