नेपालगन्ज शुन्य, सीमापारी उपभोक्ताको भिड
Saturday, October 9th, 2021, 6:00 am
Kalpristha
सई विष्टले हाल दैनिक करिब चार हजार नेपाली उपभोक्ता रुपैडिहा पुगेर किनमेल गरिरहेको बताए । शुक्रबार करिब एकै समयमा नेपालगन्जको व्यस्त मानिने बजार घरबारी टोलमा मानिसहरु औंलामा गन्न सकिने मात्रै थिए भने उता रुपैडिहामा ठेलमठेल घुईँचो थियो ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ असोज
करिब डेढ वर्षयता कोभिडका कारण ठप्प भएको व्यापार दशैंको मौकामा बढ्ने आशामा थिए नेपालगन्जमा कपडा व्यापारी छत्रबहादुर शाही । तर, दशैं आइसक्यो बजारमा ग्राहक छैनन् । दशैं आउनु र नआउनुको कुनै फरक उनलाई महसुस भएको छैन ।
छत्रजस्तै दशैंमा व्यापार बढ्ने आशामा बसेका नेपालगन्जका व्यापारीहरलाई यस वर्षको दशैंले पनि सदाझैं उत्साह थप्न सकेन । ‘उपभोक्ताहरु जम्मै रुपैडिहा पुगेका छन् । यहाँ फाट्टफुट्ट मात्रै आउँछन्,’ उनले दुःखेसो पोखे ।
उता भारतीय बजार रुपैडिहाका कपडा व्यापारी इलियाश राईको भने नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैंले डेढ वर्षदेखि ठप्प व्यापारमा पुनः उत्साह भरिदिएको छ । दशैंको मुखमै सरकारले भारतसँगका सबै सीमानाका खुला गर्ने निणर्य गरेपछि अहिले जमुनाह नाकामा आउजाउमा कुनै रोकतोक छैन । दशैंको लागि किनमेल गर्नेहरुलाई भन्सारले पनि कडाई गरेको छैन ।
ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सई मीनबहादुर विष्ट भन्छन्, ‘बिहान साढे ८ बजेतिरबाट किनमेलका लागि पारी जानेहरुको लर्को सुरु हुन्छ । साँझ पाँच बजेसम्म एक मिनेटपनि नाकामा आउजाउ खाली हुँदैन ।’
सई विष्टले हाल दैनिक करिब चार हजार नेपाली उपभोक्ता रुपैडिहा पुगेर किनमेल गरिरहेको बताए । शुक्रबार करिब एकै समयमा नेपालगन्जको व्यस्त मानिने बजार घरबारी टोलमा मानिसहरु औंलामा गन्न सकिने मात्रै थिए भने उता रुपैडिहामा ठेलमठेल घुईँचो थियो ।
रुपैडिहा कतिसम्म नेपाली उपभोक्तामा निर्भर छ भन्ने प्रभाव त्यहाँका व्यापारीहरु गएको डेढ वर्षमा विस्थापित भएकोले नै पुष्टि गर्ने यहाँका व्यापारीहरु बताउँछन् । कोभिडको समयमा नेपाली उपभोक्ताहरु जान नपाएपछि कतिपय व्यापारीहरु विस्थापित नै भएकोमा अहिले दशैंकै अवसरमा पुनः व्यापार कायापलट भएको उनीहरुको भनाइ छ ।
स्वदेशमै किनमेल गरियो भने त्यसबाट उठेको राजस्व राज्यको ढुकुटीमा जान्छ । सरकारले पनि यतिबेला उपभोक्ता नठगिउन् भनेर अनुगमन र निगरानी गरिरहेको छ । तर यहाँका उपभोक्ताहरु कुनैपनि निकायले अनुगमन र निगरानी नगर्ने भारतीय बजारबाट सामान किनेर उपभोग गरिरहेका छन् ।
किनमेल गर्न जानेहरु यतिखेर बाँकेका मात्रै छैनन् । दशैंकै लागि भनेर कणर्ाली र सुदूरपश्चिमका जिल्लादेखि पनि रुपैडिहा पुग्ने गरेका छन् ।
तयारी कपडा व्याग तथा जुत्ता चप्पल खुद्रा ब्यवसायी संघ नेपालगन्जका अध्यक्ष शिव दाहाल कोभिडबाट थलिएको व्यापार दशैंको मौकामा केही मात्रामा भएपनि माथि उठ्ला भनेर गरिएको आशा निराशामा परिणत भएको बताउँछन् । ‘व्यापारीलाई दशैं आएको जस्तो लागेकै छैन । बरु गएको दशैंमा उता जान सहज नभएको अवस्थामा उपभोक्ताहरुले यतै खरिद गरेका थिए । हामीले नाका बन्द हुँदाको त्यो सकारात्मक परीणामलाई बुझ्न सकेनौं,’ दाहालले भने । उनले प्रत्यक्ष राहत उपलब्ध गराउन नसकेको सरकारले नाकामा चाहेजति सामान किनेर ल्याउन कडाई गर्ने हो र भन्सार असुली गर्ने हो भने त्यो पनि ठूलो राहत हुने बताए ।
नेपालगन्ज उद्योण वाणिज्य संघका कार्यसमिति सदस्य भीमबहादुर रानाभाट पनि एकातिर उपभोक्ताको गलत धारणा र अर्कोतिर राज्यको भन्सार नियमको पालनामा उदासिनताका कारण नेपालगन्जका व्यपारीहरु सबैभन्दा ठूलो चाडमा पनि निराश बन्नुपरेको बताउँछन् ।
रुपैडिहा पुग्ने अधिकांश उपभोक्ताको भनाइ हुन्छ, सामान सस्तो पाइन्छ । रानाभाट सीमापार किनमेललाई वस्तुको मूल्यले सही प्रमाणित गर्न नसकिने बताउँछन् । उत्पादनका दृष्टिले नै भारतमा उपभोग्य सामानको मूल्य कम रहेको र नेपालमा ल्याउँदा पर्ने भन्सार महसुल एवं करहरु समेत नजोडिने भारतका सामानमा मूल्यमा फरक स्वतः पर्ने उनको भनाइ छ ।
उनले सीमापार किनमेल गरेको सामानमा कुनैपनि भन्सार नलगाउने हो भने त्यसले यहाँको व्यापार थलामा पर्नुका साथै राजस्वमा पनि असर गर्नेतिर आम उपभोक्ता, व्यवसायी र राज्यका निकायले सोच्नुपर्ने बताए । ‘व्यापारीले भन्सार तिरेर ल्याएका सामान थन्किएर बस्ने अनि सहज छ भन्दैमा सीमापार गएर हजारौँ, लाखौंको सामान किनेर ल्याउनेलाई कुनै नियम नलगाउने हो भने हामीले आत्मनिर्भरताका कुरा नगरे हुन्छ,’ रानाभाटले भने ।
नेपालगन्ज उद्योगा वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले भन्सारमा सबै एउटै नियम लगाउनुको विकल्प नभएपनि सम्बन्धित निकायहरुले अनेक बाहनामा त्यसलाई वेवास्ता गरिको बताए । उनले संघले वर्षौंदेखि राख्दै आएको भन्सारमा एउटै नियमको माग पूरा नभएसम्म अहिलेको समस्या जारी रहने र यहाँको व्यापार खुम्चिरहने चिन्ता व्यक्त गरे ।
किराना व्यवसायीसमेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिन मन्सुरीले अहिलेसम्म भन्सारमा कडाईका गर्नका लागि गरिएका हरेक अनुरोधहरुको वेवास्ता गरिएको बताउँदै अब नाकामा क्यामेरा सहित बस्नुको विकल्प नभएको बताए । ‘अब क्यामेरा लिएर नाकामा बस्छौँ । हामी आफै भिडियो खिच्छौँ । मिडियाले पनि यसमा साथ दिनुपर्छ । यहाँको हालत यस्तो छ भनेर मन्त्रालयमा भिडियो पठाउँछौँ,’ अध्यक्ष मन्सुरीले भने ।