नेपालगन्ज म्याराथनको वेबसाइट सार्वजनिक
Saturday, October 9th, 2021, 7:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ असोज
नेपालगन्ज म्याराथनको वेबसाइट सार्वजनिक गरिएको छ । यसवर्षदेखि म्याराथनमा सहभागी हुन वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने भएको छ ।
म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालगन्ज म्याराथन डट कम वेबसाइट सार्वजनिक गरेको हो ।
यसवर्षको नेपालगन्ज मंसिर ४ गते शनिबार हुनेपनि उक्त कार्यक्रममा जानकारी दिइयो । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिबार म्याराथन आयोजना हुँदै आएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, शिखर प्लाईका निर्देशक प्रदीप दुगर, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र राना र नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले संयुक्त रुपमा वेभसाइटको शुभारम्भ गरेका थिए ।
शनिबारदेखि नै खेलाडी दर्ता पनि खुला गरिएको आयोजक अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । विभिन्न दशवटा विधामा स्पर्धा गर्न सकिने ठकुरीले बताए ।
पुरुषतर्फ म्याराथन (४२.१९५ किमि), महिलातर्फ हाफ म्याराथन, १० किमि पुरुष खुल्ला, ५ किमि महिला खुल्ला, ५ किमि स्कुलस्तरीय छात्र, ३ किमि स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), २ किमि कर्पोरेट रन, एक किमि ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । नगद पुरस्कार राशीमा वृद्धि गरिने आयोजक अध्यक्ष ठकुरीले जानकारी गराए ।
नेपालगन्ज उप-महानगरपालिका उपप्रमुख उमा थापामगरले नेपाल धारा नेपालगन्ज म्याराथनले वर्षेनी स्तरोन्नति गर्दै गएकोमा खुसी व्यक्त गरिन् ।
टाइटल स्पोन्सर केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाछेडले नेपालगन्ज म्याराथनको निरन्तरता र स्तरोन्नतिमा आफुहरु सदैव तत्पर रहेको बताउनुभयो । धारा शुद्ध तोरीको तेल केएल दुगड ग्रुपको उत्पादन हो ।