मेडिकल कलेजका कर्मचारी फेरि आन्दोलनमा
Monday, October 18th, 2021, 8:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ कात्तिक
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी फेरि आन्दोलनमा उत्रिएका छन् । आन्दोलन परिचालन समितिका संयोजक यम खड्काका अनुसार तलब भत्ता बृद्धिलगायतका विभिन्न सात बुँदे माग राखेर आन्दोलन सुरु गरिएको हो ।
कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले संयुक्तरुपमा सोमबारदेखि आन्दोलन सुरु गरेको खड्काले बताए ।
आन्दोलनबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकारसम्मेलनमा संयोजक खड्काले पहिलो चरणमा सबै कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएको जानकारी दिए ।
माग सम्वोधन नभए मंगलबार प्रशासनिक कार्यालयहरुमा तालाबन्दी गरिने उनले बताए । त्यसपछि पनि माग संबोधन नभए बुधवारदेखि आपतकालिन सेवा बाहेकका सेवाहरु बन्द गरिने उनले बताएका छन् ।
उनीहरुले राखेका मागहरुमा तलब भत्ता बृद्धि हुनुपर्ने, थप दरबन्दी सृजना गरिनुपर्ने, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्नेलगायत रहेका छन् ।
व्यवस्थापन पक्षले भने कर्मचारीका माग तत्काल पूरा गर्न नसकिने स्पष्ट पारेको छ । मेडिकल कलेजका निर्देशक डा. सुरेश कनोडियाले कर्मचारीका माग जायज भएपनि तत्काल पूरा गर्न सकिने अवस्था नरहेको बताएका छन् ।
यसअघि पनि कर्मचारीहरुले तलबभत्ता सँगै सम्बन्धित माग राखेर आन्दोलन गरेका थिए ।