मनसुनपछिको वर्षाले कहाँ कति क्षति गर्यो ?
Tuesday, October 19th, 2021, 2:44 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, २ कात्तिक
बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि दुई दिनदेखि देशभर वर्षा भइरहेको छ । वर्षाको बढी असर सूदूर पश्चिम प्रदेशमा देखिएको छ । सूदूरपश्चिममा दुई दिनअघि नै यो प्रणाली भित्रिएको थियो । प्रणाली भित्रिएसँगै सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।
वर्षाका कारण सेती, महाकालीलगायतका नदीमा बाढी आएको छ भने नदीले कटानसमेत गरेको छ । सूदूरपश्चिमका हिमाली जिल्लाहरुमा समेत भारी वर्षा भएपछि बाढी र पहिरो निम्तिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरका मानव सञ्चालित र स्वचालित सबै वर्षा मापन केन्द्रमा वर्षा रेकर्ड भएको छ । मनसुनपछि पनि केही स्थानमा आरीघोप्टे वर्षा भएको छ ।
हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ । सूदूरपश्चिम, कणर्ाली, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानमा अझै भारी वर्षाको सम्भावना भएकाले सचेत रहन विभागले सूचित गरेको छ । कतिपय नदीमा जल सतह बढेको र अझै बढ्न सक्ने भएकाले सतर्कता अपनाउन ध्यानाकर्षण गराइएको छ ।
विभागले गत साता नै मुलुकबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो । मौसमविद्हरुले भने अहिलेको मौसमी प्रणालीलाई मनसुनपछिको मौसमी गतिविधि भनेका छन् । धानबाली भित्र्याउने समयमा भारी वर्षा भएपछि देशभरका किसान मर्कामा परेका छन् ।
दुई जनाको मृत्यु
गृहमन्त्रालयका अनुसार बाढी र पहिरोका कारण कालीकोट र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ भने एक/एक जना घाइते भएका छन् ।
अविरल वर्षाका कारण कालीकोटको महाबै गाउँपालिका-७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युनिसा अधिकारी घाइते भएकी छन् ।
यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ । उनकी ६ वर्षीया छोरी सरिता घाइते भएकी छन् ।
तीन राजमार्ग अवरुद्ध
अविरल वर्षासँगै आएको बाढी-पहिरोका कारण गण्डकी र सुदूरपश्चिम प्रदेशका चार वटा राजमार्ग अवरुद्ध भएका छन् ।
सुदूरपश्चिमको कैलालीको चुरे गाउँपालिका-५ भासुभिरमा पहिरो जाँदा भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । यस्तै डोटीको जोरायल गाउँपालिका-१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग सोमबारदेखि पूणर् रुपमा अवरुद्ध भएको छ ।
यस्तै अछामको चौपाटी गाउँपालिका-६ दुनीभावरमा खसेको पहिरोले चौखुटे अछाम बाजुरा सडक खण्ड सोमबारदेखि अवरुद्ध भएको छ ।
बाढीका कारण बझाङको केदारस्यूँ गाउँपालिका-१ नाडीगौडास्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
विद्युत र टेलिफोन अवरुद्ध
लगातारको वर्षापछिसुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूणर्रुपमा अवरुद्ध भएको छ । सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ ।
सञ्चार सम्पर्क विच्छेद हुुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण संकलन गर्न नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले बताए ।
विद्युत प्राधिकरणका अनुसार वर्षासँगै आएको हावाहुरीले पहाडी जिल्लाका विभिन्न स्थानमा विद्युत पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ ।