मोहम्मद डे मनाइयो
Tuesday, October 19th, 2021, 3:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ कात्तिक
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९६ औं जन्मजयन्ति मनाइँदै छ । ’मोहम्मद डे’ का नामले मनाइने यस पर्वका अवसरमा मुस्लिम समुदायले नेपालगन्जमा मंगलबार जुलुस निकाले । स्थानीय फैजुनब्बी जामा मस्जिदबाट सुरु भएको जुलुस वडा प्रहरी कार्यालय रोड, एमपी स्कुल, त्रिभुवन चोक, विपी चोक, घरबारीटोल हुदै पुनः गौसिया मस्जिदमा पुगेर समापन भएको थियो ।
साथै मस्जिदमा कुरान पाठ, हजरत मोहम्मदका उपदेश स्मरण, सामूहिक भोजन र एकअर्कामा शुभकामना पनि साटासाट गरी पर्व मनाइएको छ ।
र्याली सुरु हुनुअघि जामा मस्जिद क्षेत्रमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल, पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी, जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, नेपाली सेनाका कणर्ेल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, निर्वतमान अध्यक्ष नन्दलाल वैश्यलगायतले शुभकामना आदान-प्रदान गरेका थिए ।
स्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुसलमानसहित विश्वभरिका मुसलमान धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएका छन् ।
नेपालगन्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका इस्लाम धर्मावलम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रविउल्ल अवल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको र उनको निधन ६३ वर्षको उमेरमा साउदीको मक्का मदिनामा भएको थियो ।