बाँकेका अधिकारकर्मी र सरकारबीच सहमति
Tuesday, October 19th, 2021, 4:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ कात्तिक
बाँके जानकी गाउँपालिकाकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी र सरकारबीच सहमति भएको छ । मंगलबार बिहान सरकारले उक्त प्रकरणको अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएसँगै सहमति भएको हो ।
सोमबार र मंगलबार भएको वार्तापछि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान गर्ने सहमति भएको हो । उक्त समितिमा नेपाल प्रहरीका एसएसपी र आन्दोलनकारीका तर्फबाट शेर बागबान सदस्य रहने बताइएको छ ।
गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेसहितको टोली र अन्दोलनकारीका प्रतिनिधिबीच माइती नेपालको कार्यालयमा वार्ता भएको थियो । आन्दोलनकारीका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी र माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला पनि वार्तामा सहभागी थिए ।
सो सहमतिमा हस्ताक्षर भएसँगै रुबीलाई अधिवक्ता मोहना अन्सारीले जुस खुवाएर १२ दिनदेखि जारी अनशन तोडिएको हो । रुबीले हालका लागि अनशन स्थगित मात्र भएको र माग पूरा नभए फेरि कडा आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।
दुई महिलाको शंकास्पद मृत्युबारे अनुसन्धानको माग गर्दै बाँकेबाट पाँच सय २० किलोमिटरको पैदलयात्रा गरी उनीहरू काठमाडौं पुगी माइतीघर मण्डलामा धर्ना दिएका थिए ।
सरकारले सोमबारदेखि आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेको थियो । उक्त प्रकरणमा गहिरो अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्जदेखि २० दिन पैदल हिँडेर काठमाडौं पुगेका अधिकारकर्मी र आफन्तले माइतीघरमा १२ दिनदेखि धर्ना दिएका थिए भने आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खान ११ दिनदेखि आमरण अनशनमा छिन् ।
नन्कुन्नीको घरेलु हिंसाकै कारण ज्यान गएकाले त्यसका दोषी ४ जनालाई पक्राउ गरी अनुसन्धान र कारबाहीको प्रक्रिया अघि नबढेसम्म आन्दोलन स्थगित गर्न नसकिने आन्दोलनरत पक्षको माग थियो । प्रहरीले अहिले नन्कुन्नीका श्रीमान् र जेठाजुलाई मात्र पक्राउ गरेको छ । त्यस्तै, निर्मला कुर्मीको अपहरण, शरीर बन्धक बनाई बेपत्ता पारिएको विषयका दोषीलाई समेत पक्राउ गरी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।