पुष्प खेतीमा सरकारको शून्य चासो
Friday, October 29th, 2021, 6:00 am
Kalpristha
विक्रम बुढाक्षेत्री/वीरेन्द्र जैसी
नेपालगन्ज, ११ कात्तिक
फूल हरेक धर्म र समुदायको धार्मिक कार्य, चाडपर्वमा अनिवार्य हुन्छ । हिन्दु धर्मावलम्वी नेपालीको दोस्रो ठूलो पर्व तिहारमा पनि ठूलो मात्रामा फूलको खपत हुन्छ । बाँकेमा फूल उत्पादनको संभावना पनि राम्रो छ । तर उक्त फूल पनि आयात गर्नुपर्ने अवस्था छ । बाँके जिल्ला अझै फूलमा आत्मनिर्भर हुन नसक्दा भारतबाट फूलको आयात भइरहेको छ । पर्याप्त फूल नहुँदा तिहारमा पनि प्लाष्टिकका मालाहरु लगाउनुपर्ने अवस्था छ ।
पुष्प व्यवसायी बिन्दु चर्तीमगर जिल्लामा तिहारको अवसरमा मात्रै ३० क्विन्टल फूलको माग हुने गरेको अनुमान गर्छिन् । तर यसवर्ष करिब १० क्विन्टल मात्रै उत्पादन भएको उनको भनाइ छ । फूलको लागि बाँकेमा अन्य उत्पादनजस्तै अन्य जिल्लाबाट पनि ठूलो मात्रामा माग आउने गरेको उनले बताइन् । ‘अब माग धान्न हामीले पनि भारतबाट आयात गर्नुपर्ने अवस्था छ । दाङ, कैलाली, सुर्खेत लगायतका अन्य जिल्लाबाट माग भइ आएको फूल हामीले भारतबाट मगाउँदै छौँ,’ चर्तीमगरले भनिन् ।
पुष्प कृषकहरुको संख्या र उत्पादन नबढ्नुका पछाडि राज्यसँग फूल खेती प्रबद्र्धन गर्ने कार्यक्रम र योजनाकै अभाव हुनु मुख्य कारण रहेको व्यवसायीहरु बताउँछन् । लुम्बिनी फ्लोरिकल्चर एसोसियसन अफ नेपाल (लुफान)की उपाध्यक्ष समेत रहेकी चर्तीमगर सरकारी निकायहरुसँग हालसम्म पुष्प व्यवसाय प्रबद्र्धन गर्ने कुनैपनि कार्यक्रम नहुने गरेको बताउँछिन् । ‘राज्यले फूललाई अन्य कृषि उत्पादनजस्तो प्राथमिकतामा राखेको छैन । प्रवद्र्धनका यति धेरै कार्यक्रम भएका अन्य क्षेत्रहरुको विकास हुन सकेको छैन भने कार्यक्रम नै नभएकोले यो खेती विस्तार हुन झनै गाह्रो भइरहेको,’ चर्तीमगरले भनिन् । यद्धपि मागका आधारमा सरकारले केही सहयोग भने गरेको उनको भनाइ छ । स्थानीय सरकारहरु सँग त झन् पुष्प व्यवसाय प्रवद्र्धनका लागि कुनैपपनि किसिमका कार्यक्रम छैनन् ।
जिल्लामा प्रदेश सरकार अन्तर्गत रहेको कार्यलय कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल पनि हालसम्म सरकारी योजना तथा कार्यक्रमहरुमा फूल खेतीको प्रवद्र्धन गर्ने छुट्टै कार्यक्रम नरहेको बताउँछन् । किसानहरुको मागका आधारमा मात्रै भ्याएसम्मको सहयोग प्रदान गर्ने गरिएको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्रमा वागवानी विकास शाखाले पुष्प खेतीबारे हेर्ने गर्दछ । तर वागवानी शाखका कार्यक्रममा पुष्प खेतीका कुनैपनि कार्यक्रम छैनन् । प्रमुख ढकाल भन्छन्, ‘कार्यक्रम नै तोकिएर नआएपनि हामीले पुष्प खेती गर्न चाहने किसानहरु स्पष्ट योजनासहित आउनुभयो भने सकेको सहयोग गर्छौँ । यसअघि पनि हाम्रै कार्यालयबाट नभएपनि प्रदेशबाट बाँकेका पुष्प व्यवसायीले सहयोग प्राप्त गर्नुभएको छ ।’
पुष्प खेतीको विस्तारका लागि अन्य खेतीका लागि जस्तै पुष्प खेतीका लागि पनि कार्यक्रमहरु तय गरिनु आवश्यक रहेको ढकालको स्वीकारोक्ति छ । ‘पुष्प खेती पनि आम्दानीको राम्रो स्रोत हुने र माग पनि बढ्दै गइरहेको क्षेत्र हो । अहिले विशेष अवसरमा मात्रै नभै वर्षभरी नै विभिन क्रियाकलापमा फूलको प्रयोग भइरहेको अवस्था छ । यसकारण सरकारले पनि यो खेती प्रवद्र्धनका कार्यक्रम ल्याउनुपर्छ । हामी त्यहीअनुसार पहल गर्छौँ,’ ढकालले कालपृष्ठसँग भने ।
लुम्बिनी प्रदेशलाई फूलमा पूणर् आत्मनिर्भर बनाउन सरकारले साना कृषकलाई मध्यनजर गरेर बिना धितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने लुफानकी उपाध्यक्ष मगर बताउँछिन् । यसका साथै पुष्प खेतीका फाइदा र खेती गर्ने तरिकाकाबारेमा प्राविधिक ज्ञान दिने कार्यक्रम पनि आवश्यक रहेको उनले बताइन् ।
बाँकेमा पुष्प खेतीको अवस्था
बाँकेमा हालसम्म दुईजना मात्रै व्यवसायिक पुष्प कृषकहरु छन् । एकजना हुन् बिन्दु चर्तीमगर । दुई वर्षअघि नेपालगन्ज-२० स्थित आफ्नै घरछेउमा ६ कठ्ठा जमिनमा फूल खेती गरेर सुरु गरेकी चर्तीमगरले हाल दुई बिघा जमिनका खेती गरिरहेकी छिन् । बैंकको ऋणसमेत गरेर हाल करिब ६० लाख फूल खेतीमै उनले लगानी गरेकी छन् ।
सुरुवातमा उनले सयपत्रीको खेतीबाट सुरु गरेकी थिइन् । हाल गोदावरी, ग्लाडियस र मखमली फूल उत्पादन गरिरहेकी छन् । यस सिजनमा गुलाब, सयपत्र, मखमलीको माग बढी छ । हाल उनको चर्ती फ्लोरा बाँकेको एकमात्र फूल बिक्री केन्द्र पनि हो । उक्त बिक्री केन्द्रबाट फूल र फूल सजावटका सबै सामग्री र सेवाहरु प्रदान गर्ने गरिन्छ ।
एक वर्ष अगाडि प्रदेश सरकारले जिल्लाको फूल बिक्री केन्द्रको रुपमा उनलाई स्वीकृत गरेको थियो । केन्द्रबाट उनले बाँके जिल्ला बाहिरका पाल्पा, रुपन्देही, दाङ, काठमाडौं र आवश्यक परेको खण्डमा भारतबाट फूल आयात गरी बिक्री गर्ने गर्छिन् ।
हाल बाँकेमा उप्तादन हुने फूलले २५ प्रतिशतमात्र बजारको मागलाई पूर्ति गर्न सकेको उनी बताउँछिन् ।
अर्की व्यवसायीक पुष्प कृषक हुन्, कोहलपुर निवासी विष्णु चौधरी । उनले ८ कठ्ठा जमिनम सयपत्री फूलको खेती गरेकी छन् । वर्षमा तीन क्विन्टल फूल उत्पादन हुने गरेपनि यसवर्ष तिहारसम्म मात्र १ क्विन्टल फूलमात्रै उत्पादन हुने उनको अनुमान छ । यो वर्ष पानीका कारण रोयाईमै ढिलाइ हुँदा तिहारभन्दा पछि मात्रै फूल फूल्ने देखिएको विष्णुले बताइन् ।
जिल्लामा अघिल्लो वर्षका तुलनामा यो वर्ष पुष्प खेती हुने क्षेत्रफल भने बढेको छ । फूल खेती गर्ने महिलाहरुको संख्यामा पनि बृद्धि हुने संकेत देखिएको छ । यो वर्ष जिल्लामा दुई बिघा क्षेत्रफलमा पुष्प खेती भइरहेको छ । विशेष गरी आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर फूल खेती गरिएको फूल उत्पादनकहरु बताउँछन् । मगरका अनुसार यो वर्ष पुष्प खेतीमा केही नयाँ महिलाहरु पनि व्यवसायिकरुपले संलग्न भएका छन् ।
पुष्प खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले यो वर्ष जिल्लामा थप १० जना पुष्प व्यवसायी थपिएका छन् । चर्ती फ्लोराको आयोजना र जीआईजेडको सहकार्यमा नेपालगन्ज उप-महानगरपालिका-२०, इमामनगरमा गत भदौ अन्तिम शाता १० जनालाई तालिम दिएर पुष्प खेती गर्न प्रोत्सान गरिएको छ ।
यसरी जिल्लामा पहिलोपटक पुष्प खेती तालिम दिएर पुष्प खेती गर्न लगाइएको हो । उनीहरुलाई तालिमपश्चात फूल खेती गर्न बिरुवा, मल र जैविक विषाधी उपलब्ध गराएको थियो ।
गुलाबको शून्य उत्पादन
बाँकेमा थोरैमात्रामा अन्य फूल उत्पादन भएता पनि गुलाब फूलको उत्पादन भने शून्य रहेको छ । जिल्लामा गुलाबको उत्पादन नभएता पनि यसको माग धेरै रहेको छ । जिल्लाका सबै पुष्प व्यवसायी भारतबाट नै गुलाबको फूल आयात गर्ने गर्छन् ।
गुलाब फूलको अत्याधिक माग हुने प्रेम दिवशमा त झन् जिल्लामा गुलाबको फूल पाउनै गाह्रो हुने गरेका व्यापारीहरु बताउँछन् ।
मगर भन्छिन्, ‘अहिलेसम्म बाँकेमा गुलाबको फूल उत्पादन हुन सकेको छैन । गुलाबको फूलका लागि पूणर्रुपमा भारतसँग निर्भर हुनु परेको छ । हामीहरु फूल नै मागअनुसार उत्पादन गर्न सकेका छैनौ भने गुराबको फूल उत्पादन गर्नु त परको कुरा हो ।’
आम्दानीको राम्रो स्रोत
आर्थिक आर्जनका लागि फूल व्यावसाय निकै राम्रो व्यावसायका रुपमा मानिन्छ । छोटो अवधिमा चाडपर्वलाई लक्षित गरेर उत्पादन गरेको फूलबाट राम्रो आम्दानी हुने गरेको बताउँछन् यहाँका व्यावसायी । फूल उत्पादन गर्दै व्यावसाय संचालन गरिरहेकी मगर उत्पादन भएको फूललाई धेरै दिनसम्म राख्न गाह्रो भएतापनि यसबाट आम्दानीको स्रोत राम्रो बनाउन सकिने तर्क गर्छिन् ।
प्रदेश भने फूल उत्पादनमा अब्बल बन्दै
बाँके जिल्लामा फूल उत्पादन हुन नसकेपछि लुम्बिनी प्रदेश भने फूल उत्पादनमा अब्बल रहेको छ । प्रदेशका रुपन्देही, पाल्पा दाङलगायतका जिल्लामा ठूलोमात्रामा पुष्प खेती हुने गरेको छ । बाँके जिल्लाका व्यवसायीले सोही ठाउँबाट फूल आयात गर्ने गर्दछन् ।
प्रदेशमा उत्पादन हुने फूलले स्थानीय ६० प्रतिशतभन्दा बढी पूर्ति गर्न सकेको लुम्बिनी लुफानका अध्यक्ष एवम् फूल व्यवसायी रमेश पाण्डेय बताउँछन् ।
‘अहिले लुम्बिनी प्रदेशभित्र उत्पादन भएको फूलले यहाँको ६० प्रतिशत मागलाई पूरा गरेको छ । बाँकी ५० प्रतिशत भने भारत तथा बाहिरी जिल्लाबाट आउँछ,’ अध्यक्ष पाण्डेले भने ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सयपत्री फूलको उत्पादन हुने गरेको छ । विशेषगरी तिहारका बेला बढी खपत हुने सयपत्री र मखमली फूलको उत्पादनले भने यहाँको ८० प्रतिशत मागलाई पुरा गरेको छ । तर फूलहरु मौसम, ठाउँ र समयअनुसार फुल्ने भएकाले कतिपय फूलहरु माग भएपनि प्रदेशमा उत्पादन नभएके पाण्डेयले बताए ।
अहिलो प्रदेशमा सयपत्री फूल प्रतिकेजी चार सय रुपैयाँमा बिक्री भइरहेको छ भने मखमली फूल प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री भइरहेको छ ।
यसका साथै प्रदेशमा गुलाबको फूलको माग पनि अत्याधिक रहेको पाण्डेय बताए । तर लुम्बिनीमा प्रदेशमा गुलाबको खेती एकदमै न्यून मात्रामा हुने गरेको छ ।