संकटकाबीच चल्दै दियो बनाउने पेशा
Friday, October 29th, 2021, 1:05 am
Kalpristha
अंजली राजी
नेपालगन्ज, ११ कात्तिक
कुनैबेला उज्यालो बनाउने सीमित साधनमध्ये एक थिए, माटाका दियो । दशैं तिहारलगायतका चाडबाड तथा धार्मिक संस्कारहरुमा धातु अथवा माटाका दियोहरुको प्रयोग गर्नु अनिवार्य मानिन्छ ।
तर प्रविधिको विकाससँगै बजारमा उज्यालो बनाउने अत्याधुनिक साधनहरुको उपलब्धता छ । सहज र नेत्राकर्षक ती साधनतर्फ आम उपभोक्ताहरु आकर्षित हुनु स्वभाविक नै हो । दैनिक जीवनमा दियोको प्रयोग सुरक्षित र सहज नभएपनि धार्मिक विशेष अवसरमा भने परम्परागत साधनहरुको प्रयोग जोगाइराख्नु आवश्यक छ । तर, चीनमा निर्मित चाड तिहारमा उज्यालो बनाउन मिल्ने विद्युतीय बत्तीहरुले दियोहरु विस्थापित गर्दै लगेका छन् । दीपहरुको लहर बनाई झिलीमिली पार्ने दीपावलीको मौलिक पद्धति हो । उक्त पद्धतिमा आधुनिक बत्तीहरुले हस्तक्षेप गरेका छन् ।
नेपालमा माटाका दियो र अन्य दैनिक जीवनमा उपयोगी साधनहरु बनाइ त्यसैबाट अर्थोपार्जन गर्ने समुदायहरु छन् । उनीहरुको पुख्र्यौली पेशाका रुपमा हालसम्म उक्त पेशा जीवित त छ । तर आधुनिक साधनहरुले उनीहरुले उत्पादन गर्ने साधनको बजारमा हस्तक्षेप गरेपछि रोजगारी र अर्थोपार्जनको एक क्षेत्र र परम्परागत कला हराउने जोखिम बढ्दो छ ।
यो जोखिमकाबीच पनि बाँकेका विभिन्न स्थानमा बसोबास गर्ने माटाका भाडा बनाउने समुदायका मानिसहरु आफ्नो पहिचानसँग जोडिएको पेशा जोगाउन लागिपरेका छन् ।
बाँकेमा माटोका दियो लगायतका समाग्री बनाउने कुमाल समुदायको बसोबास भएको ठाउँमध्ये एक हो नेपालगन्जको नदैगाउँ । नदैगाउँ निवासी ५५ वर्षिया विद्या कुम्हारको दैनिकी माटोसँगै बित्छ । माटाका दियो बनाउनु उनको पुर्खौैली पेशाका साथै जिविकोपार्जनको मुख्य स्रोत पनि हो । माटाका साधन बनाउन सजिलो छैन । विद्या भन्छिन् ‘मट्टी के सँग मट्टी होइजाऊ(माटो सँगै माटो बन) ।’

दियो बनाउन व्यस्त नदैगाउँ निवासी ५५ वर्षिया विद्या कुम्हार
पेशाको विशेषतागत अप्ठ्यारो त छँदै छ । पछिल्लो समय माटोको उपलब्धतामा पनि कमी आउँदै छ । पहिलेको जस्तो उपयुक्त माटो सहजरुपले पाइँदैन । अनेक दुःख गरेर बनाएका माटोका दियोहरु पनि नबिकीदेलान् कि भन्ने पीर उत्तिकै छ । तर यसवर्ष नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा आयोजित एघारहजार दिप प्रज्वलन कार्यक्रमले दियोहरु नबिक्ने समस्या नभोग्नुपर्ने उनको अपेक्षा छ ।
नेपालगन्ज-३ फुलटेक्राका दुर्गा प्रसाद कुमहार(छुट्कौ कुमहार) पनि तिहारका लागि दियो तयार पार्न व्यस्त छन् । उनले दियो बनाउनका लागि माटोको व्यवस्था फुल्टेक्रास्थित तलाउबाट गर्दछन् । यो वर्ष तिहारका अवसरमा बागेश्वरी मन्दिरमा आयोजित एघारहजार दिप प्रज्वलन कार्यक्रमको लागि सातसय दियो बनाउने जिम्मा पनि उनले पाएका छन् । उक्त कार्यक्रमले पनि दियो बनाउनेहरुको यसवर्षको तिहार सुखद हुने उनीहरु बताउँछन् ।

दियो बनाउन व्यस्त नेपालगन्ज-३ फुलटेक्राका दुर्गा प्रसाद कुमहार
एक दिनमा तीन सयदेखि पाँच सयसम्म दियो तयार गर्ने गर्दछन् दुर्गा । बनाएका दियोहरु घरबाटै पनि बिक्रि हुने गरेको दुर्गा बताउछन् । तिहारमा बजारको समस्या नभएपछि अन्य समयमा व्यपार ठप्प हुने गरेको छुट्कौको भनाइ छ । पछिल्लो समय उक्त तलाउमा क्रिकेट स्टेडियम बनाइन लागेपछि माटो नपाइने चिन्ता पनि उनलाई छ ।
दियो बनाउनुजतिकै तीनको व्यापारको पनि चुनौति छ । घरमा पुग्न नसक्ने या थाहा नभएका ग्राहकहरुसम्म पुग्नका लागि उनीहरु नेपालगन्जको त्रीभुवन चोक, धम्बोझी चोक लगायतका स्थानमा सडकमै बसेर व्यापार गर्छन् । त्यसरी व्यापार गरेको नगर प्रहरी र ट्राफिकका नजरमा परेमा सामान जफत गरिदिने र कतिपय अवस्थामा तोडफोड गरिदिने गरेको गुनासो उनीहरुको छ ।
नेपालगन्जमा रहेको कोशेलीघरसम्म उनीहरुको पहुँच अझै पुगेको छैन । त्यहाँसम्म पहुँच पुर्याई उनीहरुका सामानको बजारीकरण र सीपलाई समायनुकल बनाई मागमा आधारित उत्पादन गर्न प्रोत्साहित गर्नेतिर सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।