बर्दिया अस्पताल पहिलो स्थानमा
Thursday, October 28th, 2021, 7:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ कात्तिक
न्यूनतम सेवा मापदण्ड र सम्पादित कार्य प्रगतिको मूल्यांकनमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा पहिलो स्थान हासिल गर्न सफल भएको छ । लुम्बिनी प्रदेशका १३ अस्पताललाई पछि पार्दै आर्थिक वर्ष ०७७-७८ मा बर्दिया अस्पताल पहिलो भएको हो ।
आर्थिक वर्ष ०७६-७७ मा पनि बर्दिया अस्पताल पहिलो भएको थियो । अस्पतालले ७६.०२ प्रतिशत अंक हासिल गरेको छ । यस्तै कपिलबस्तु अस्पताल तौलिहवाले ७१.७३ प्रतिशत अंक ल्याउँदै दोस्रो भएको छ भने ६६.६७ प्रतिशत अंक ल्याउँदै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर तेस्रो भएको छ ।
आर्थिक वर्ष ०७७-७८ को स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठिमा न्यूनतम मापदण्ड र सम्पादित कार्य प्रगतिको मूल्यांकनमा उत्कृष्ट हुने अस्पताललाई सम्मानित गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्री इन्द्रजित थारु, स्वास्थ्य सचिव डा विकास देवकोटा, स्वास्थ्य निर्देशक डा. विनोद कुमार गिरीले एक कार्यक्रमकाबीच बिहीबार उत्कृष्ट अस्पतालहरुलाई सम्मानित गरे ।
अस्पतालले प्रवाह गर्ने सेवा सुविधा, त्यसको प्रभावकारिता, कर्मचारी व्यवस्थापन, खर्चको पारदर्शिता लगायतका बिषयलाई मूल्यांकनको आधार मान्दै उत्कृष्ट अस्पताल घोषणा गर्ने गरिन्छ ।