बर्दिया अस्पताल लुम्बिनी प्रदेश कै उत्कृष्ट
Thursday, October 28th, 2021, 8:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, ११ कात्तिक
बर्दिया अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको छ । लुम्बिनी प्रदेशअन्तर्गतका १३ वटा अस्पताल मध्ये न्यूनतम सेवा मापदण्ड र सम्पादित कार्य प्रगतिको मूल्यांकनको आधारमा बर्दिया अस्पताल प्रथम भएको हो ।
आर्थिक वर्ष २०७७÷०७८ को न्यूनतम सेवा मापदण्ड र मूल्यांकनको आधारमा उत्कृष्ट भएको हुनाले अस्पताललाई सम्मान गरिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।
बुटवलमा आयोजित आर्थिक वर्ष २०७७÷०७८ को स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले सम्मान ग्रहण गरे ।
गत वर्षपनि बर्दिया अस्पताल लुम्बिनी प्रदेशको उत्कृष्ट अस्पताल घोषित भएको थियो । पछिल्लो समयमा जनशक्ति अभाव भएपनि बर्दिया अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
विशेषज्ञसहित ५० शैयाको अस्पतालको रुपमा स्थापित भएपनि बर्दिया अस्पतालले विशेषज्ञ सेवा पूर्णरुपमा प्रदान गर्न सकेको छैन । अस्पतालमा १० जना विशेषज्ञ डाक्टर चारजना मेडिकल अधिकृत र एकजना डेण्टल सर्जन गरी १५ जना डाक्टरको दरबन्दी रहेको छ । हाल अस्पतालमा दुईजना एमडिजिपि, एकजना सर्जन एकजना बालरोग विशेषज्ञ र एकजना दाँत रोग विशेषज्ञमात्र विशेषज्ञ डाक्टर रहेका छन् ।