देशमा युवाहरुको खडेरी पर्ने खतरा बढ्यो : मन्त्री अथक
Friday, October 29th, 2021, 6:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ कात्तिक
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले अहिलेकै अवस्थामा युवाहरु विदेशिने हो भने आगामी ३० वर्षभित्र नेपालमा युवाहरुको खडेरी पर्ने अवस्था आउने खतरा बढ्दै गएको बताएका छन् । शुक्रबार राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गर्दै मन्त्री अथकले अब युवाहरुलाई देशमै बस्नसक्ने वातावरण बनाउन नयाँ ढंगले सोच्नु र त्यहीअनुसारका योजना बनाउनु प्रमुख दायित्व भएको बताए ।
उनले ४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर योजनाहरु तर्जुमा गर्न परिषदका पदाधिकारी र कर्मचारीलाई निर्देशन दिए । युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिबद्ध भएर काम गर्न आग्रह गर्दैै मन्त्री अथकले भने, ‘भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दिर्घकालीन योजनाको खाका तयार गर्नुहोस् ।’
साधन स्रोतका कारण कुनै पनि योजना संचालनमा समस्या हुने अवस्था आउन नदिने प्रतिवद्धता जनाउँदै मन्त्री अथकले सामान्य कर्मचारी भन्दा माथी उठेर देशभरका युवाहरुलाई सपना देखाउने व्यक्तिका रुपमा आफुलाई उभ्याउन कर्मचारीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा युवा तथा खेलकदु मन्त्रालयका निमिक्त सचिव कमल प्रसाद पोखरेल र सहसचिव विष्णुृराज ढकालले मन्त्रालयले मन्त्रीका रुपमा उर्जावान व्यक्ति पाएको भन्दै अहिलेसम्म विविध कारणले रोकिएका र हुन नसकेका महत्वपूणर् नितिगत कुराहरुलाई अगाडी बढाउने प्रक्रिया सुरु भएको बताए ।
उक्त अवसरमा युवा परिषदका प्रशासकीय प्रमुख बाबुराम ढुंगानाले कार्यालयको प्रगती विवरण पेश गरेका थिए । पछिल्ला वर्षहरुमा परिषदलाई उपलब्ध हुँदै आएको बजेटमा कटौती हुने क्रम बढ्दै गएको भन्दै ढुंगानाले त्यसतर्फ मन्त्रालयले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।