नेपालगन्ज म्याराथनमा राजेश हमाल पनि दौडिने
Friday, October 29th, 2021, 6:45 pm
Kalpristha
नेपालगन्ज
धारा सातौं नेपालगन्ज म्याराथनमा महानायक राजेश हमाल पनि दौडिने भएका छन् । पश्चिम नेपालको प्रमुख शहर नेपालगन्जमा मंसीर ४ गते सातौं संस्करण हुँदैछ । हमालले २ किलोमिटर कर्पोरेट रनमा भाग लिनेछन् ।
आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले अतिथिको रुपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिनुभयो । अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगन्ज म्याराथनमा महानायक हमालको उपस्थितिले अझ हौसला थपिने बताए ।
नेपालगन्ज म्याराथनमा यसपाली दश वटा इभेन्ट रहेका छन् । फूल म्याराथन, हाफ म्याराथन, १० किलोमिटर मेन्स ओपन, ५ किलोमिटर ओमेन ओपेन्स, ५ किलोमिटर स्कूल बोय, ३ किलोमिटर स्कूल गल्र्स, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट, वाकाथन र ह्वीलचियर प्रतियोगिता रहेका छन् ।
यसपालीको म्याराथनमा सात हजारलाई दौडाउने तयारी भएको छ । देशी, विदेशी धावकसँगै जिल्लाका गन्यमान्य सबै दौडमा सहभागी हुँदैछन् ।
नेपालगन्ज म्याराथनले शहरलाई चिनाएको छ । फूल म्याराथनमा नेपालगन्ज र कोहलपुर जोडिने भएकाले दुई शहरलाई जोड्ने काम गरेको छ ।
नेपालगन्जको वीपीचोकबाट शुरु भएर कोहलपुरको कौशिलानगर पुगेर पुनः वीपीचोकसम्म आइपुग्ने म्याराथनले देश विदेशमा नेपालगन्ज शहरको पहिचान बढाएको ठकुरीको भनाई छ । सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत शहरको चिनारी कायमै राख्न सात बर्ष अघि नेपालगन्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो ।
नेपालगन्ज म्याराथनको उचाई दिन प्रति दिन बढ्दै गइरहेको छ । नेपालगन्ज म्याराथन गत संस्करण टोकियो ओलम्पिकको छनौट प्रतियोगिता बनेको थियो । यो संस्करणका विजेता गोपीचन्द्र पार्कीले प्राविधिक कारणले टोकियो जान नपाएपनि बर्लिन म्याराथनमा सहभागिता जनाएर फर्किएका छन् । यसबाट पनि नेपालगन्ज म्याराथन स्थापित र चर्चित म्याराथन रहेको पुष्टि गरेको छ ।