युद्ध भुल्दै पर्यटन प्रवर्द्धनमा जेलवाङ
Saturday, October 30th, 2021, 11:00 am
Kalpristha
लिलाधर वली
दाङ, १२ कात्तिक
तत्कालिन सरकार र माओवादी विद्रोहिबीच दशवर्षे शशस्त्र युद्धमा संभवतः सबैभन्दा बढी मानविय क्षति व्यहोरेको बस्ती रोल्पा जिल्लाको जेलवाङ नै हो । रोल्पाको सुनछहारी गाउँपालिका-७ मा पर्ने जेलवाङ साविकको एउटा गाउँ विकास समितिका रुपमा थियो । देश संघीय संरचनामा जाँदा तत्कालिन जेलवाङ गाविस अहिले एउटा वडामा सीमित बनेको छ ।
सशस्त्र द्वन्द्वमा सरकार र नेकपा माओवादी पक्षबाट जेलवाङका ७३ जनाले ज्यान गुमाएका थिए । जसमा माओवादीतर्फबाट दश जना र सरकार पक्षबाट ६३ जना मारिएका छन् । ज्यान गुमाउनेमा चार बर्षीय बालकदेखि बोल्न नसक्ने अपांग, महिलाहरुसहित निर्दोष नागरिकहरु मारिनु परेको थियो । देशको परिवर्तनका लागि ठूलो क्षति व्यहोरेका जेलवाङवासीले भने क्षति अनुसारको परिवर्तनको अनुभुति गर्न नपाएको बताउँछन् । परिवर्तनका निम्ति सबैभन्दा धेरै क्षति व्यहोरेको गाउँलाई परिवर्तनका लागि लड्नेहरुले नै भुलेको स्थानीयको आरोप छ ।
अहिले त्यही ऐतिहासिक जेलवाङ गाउँलाई पर्यटकिय केन्द्रका रुपमा विकास गर्ने काम भैरहेको छ । द्वन्द्वमा धेरैले बलिदानी गर्ने गाउँको अध्ययन अनुसन्धानसँगै स्थानीय भाषा, संस्कृति, फलामखानीलाई रोल्पाको प्रसिद्ध पर्यटकिय केन्द्र जलजलासँग जोडेर विकासका लागि काम भैरहेको छ । जसले गर्दा जेलबाङको अध्ययनसँगै जलजला पुग्नका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरु जेलवाङ पुग्ने गरेका छन् ।
जेलवाङ गाउँको विकाससँगै परिवर्तनका लागि ज्यान गुमाउनेहरुको सम्झनामा गाउँमा केही देखिने काम गरिदिए हुन्थ्यो भन्ने स्थानीयको माग उठाउँदै आएपनि सुनुवाई नभएको स्थानीय बताउँछन् । लामो समय द्वन्द्वको पीडा खेपेको जेलवाङ पहिलेको तुलनामा अहिले परिवर्तन भएपनि अपेक्षा गरिएअनुसार विकास हुन नसकेको स्थानीय मनप्रसाद रोका बताउँछन् । ‘दश वर्षअघिको तुलनामा अहिले गाउँमा केही परिवर्तन भएको छ,’ उनले भने, ‘तर स्थानीयले परिवर्तनको अनुभुति गर्ने गरि हुन सकेन ।’
जेलवाङ
गाउँ पुग्नका लागि कच्ची बाटो बनेको छ । गाउँमै उत्पादन भएको बिजुली बत्तीले गाउँ झिलिमिली हुने गरेको छ । प्राथमिक तह पढाई हुने विद्यालय स्तरोन्नती हुँदै माध्यामिक तहसम्म पढाई हुने भयो । गाउँमै प्राथमिक उपचार स्थानीयले पाउने व्यवस्था भएपनि बाटोको अवस्था अहिले राम्रो बन्न नसकेको स्थानीय मनप्रसाद रोका बताउँछन् । स्थानीयवासीको अहिलेको आवश्यकता बाह्रै महिना मोटर चल्ने बाटो भएपनि त्यो बन्न नसकेको उनले बताए । ‘बाटो त बनेको छ । तर खोलामा पुल नहुँदा गाडीहरु गाउँसम्म आउन सक्दैनन्,’ उनले भने, ‘जेलवाङ र नयाँ बस्तीलाई जोड्ने खोलामा पक्की पुलसँगै बाटो निर्माण भए गाउँसम्म मोटर आउने थिए । तर त्यो हुन सकेको छैन ।’ सशस्त्र द्वन्द्वका दृष्टिले ऐतिहासिक गाउँलाई मोटरबाटोसँग जोडिदिए हुन्थ्यो भन्ने स्थानीयको चाहना छ ।
त्यसो त जेलवाङबासीका राज्य तथा माओवादी नेताहरुसँग धेरै गुनासाहरु रहेका छन् । सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनेहरुको सम्झनामा गाउँमा सम्झना लायक केही गरिदिए हुन्थ्यो भन्ने छ । गाउँमा मोटरबाटोका लागि खोलामा पुल, गाउँमै उच्च शिक्षा, स्तरीय स्वास्थ्य सेवालगायतका सेवाहरु स्थानीयले गाउँमै पाउन सके राम्रो हुने मनप्रसाद बताउँछन् । तर द्वन्द्व सकिएर शान्ति प्रक्रियामा तत्कालिन विद्रोही पक्ष पटक-पटक सरकारमा पुगिसक्दा पनि नेताहरुले जनयुद्धको ऐतिहासिक गाउँलाई भुलेको स्थानीयको गुनासो रहेको छ । उनीहरुलाई राज्यले मृतकको नाममा दश लाख रुपैयाँभन्दा अरु केही दिन नसकेको दुःखेसो छ ।
पर्यटन विकासका लागि जेलवाङमा होमस्टे
जेलवाङ
जेलवाङका दलबहादुर सुनार साढे आठ वर्ष विदेश बसे । गरिबीसँगै सशस्त्र द्वन्द्वका क्रममा गाउँघरमा बस्ने बातावरण नभएपछि उनी रोजगारीका लागि भारतसँगै साउदी अरब र दुवई देशमा गरी उनले करिव साढे आठ बर्ष श्रम गरे । घरको कमजोर आर्थिक अवस्थाका कारण लामो समय विदेशमा श्रम गरेका दलबहादुर अहिले भने आफ्नै गाउँमा केही गरौ भन्ने उद्देश्यले होमस्टे सुरु गरेका छन् ।
विदेशबाट फर्किएर चार बर्ष पहिले गाउँमा होटेल सञ्चालन गरेका उनले बिदेशमा अनेकौ दुःख पाएपछि स्वदेश फर्किएर आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोच अनुरुप सुरुमा होटेल सञ्चालन गरेपनि दुई बर्षदेखि होमस्टे सुरु गरेको बताउँछन् । दुई बर्ष अघि सुरु गरेको होमस्टेबाट राम्रो आम्दानी समेत गर्न थालेका छन । ‘विदेशमा धेरै दुःख पाएपछि चार बर्षअघि स्वदेश फकिए । त्यसपछि गाउँमा रहेको सरकारीबाट पैसा लिएर सुरुमा होटेल सञ्चालन गरेको थिए,’ दलबहादुर भने, ‘तर पछि स्थानीयको सल्लाह सुझाव अनुसार होमस्टेका रुपमा अघि बढाएको छु ।’
घुमफिरसँगै अध्ययनका लागि जेलवाङमा मानिसहरु आउने क्रम बढ्दै गर्दा कोरोना संक्रमण देखिएपछि दुई वर्ष करिब-करिब सुनसान नै भएको उनी बताउँछन् । तर केही मानिसहरु जेलवाङसँगै जलजला पुग्नका लागि आउने गरेको उनले बताए ।
जेलवाङ होमस्टेमा आउने पाहुनाहरुलाई स्थानीय परिकारका रुपमा ढिडो, मकैको आटो, पहाडी सिमीको दाल, भागोको अचार, लोकल भाले, सिस्नुको सागलगायतका पाहुनाको इच्छाअनुसार व्यवस्था गरिने बताए । ‘सानो लगानीबाट सुरु गरेको होमस्टे विस्तार बढ्दै गएको छ । आफ्नै ठाउँमा काम गर्न पाउँदा खुशी छु,’ उनले भने, ‘होमस्टेमा पाहुनाको चाहनाअनुसारको स्थानीय परिकारको व्यवस्था गर्ने गरेका छौ ।’ उनले बाटोको समस्याका कारण पनि जेलवाङ पुग्नका लागि वर्षातको समयमा समस्या हुने गरेको बताए ।
उनी मात्र होइन जेलवाङलाई पर्यटकिय क्षेत्रका रूपमा अघि बढाउनका लागि सात वटा होमस्टे सन्चालन गरिएको पर्यटन प्रवद्र्धन तथा गेमी होमस्टे संस्थाका अध्यक्ष पृथ्वी पुनले बताए । दश वर्षीय सशस्त्र द्वन्द्वका क्रममा सबैभन्दा मानविय क्षति पुगेको गाउँलाई विकाससँगै जेलवाङको मौलिक साँस्कृतिक पहिचानको संरक्षण गर्दै जलजला र थवाङसंग जोड्ने गरी संस्थाले काम गरिरहेको उनी बताउछन् । त्यससँगै जेलवाङको ऐतिहासिक अर्को विशेष भनेको फलाम खानी समेत रहेकाले फलाम खानीलाई समेत पर्यटनसँग जोडेर विकास गर्न सकिने उनले बताए । जलजलासँगै थवाङ र रुकुमको तक्सेरा र बाग्लुङको ढोरपाटन पुग्ने आधार शिविरका रुपमासमेत जेलवाङलाई विकास गर्न सकिने अध्यक्ष पुन बताउँछन् ।
‘जेलवाङ रोल्पाको मात्र नभएर सशस्त्र द्वन्द्वका क्रममा धेरै जनताले बलिदानी गर्ने ऐतिहासिक गाउँ हो । युद्ध पर्यटनका हिसावले यहाँ धेरै अध्ययनका विषयहरु छन्,’ अध्यक्ष पुनले भने, ‘जेलवाङका ऐतिहासिकतासँगै धार्मिक पर्यटनका रुपमा चर्चित जलजला, थवाङ र ढोरपाटनलाई जोडेर विकास गर्न सकिन्छ ।’ त्यसका लागि रोल्पाका जनप्रतिनिधिसँगै तीनै तहका सरकारहरुले ध्यान दिन आवश्यक रहेको उनले बताए ।
सशस्त्र द्वन्द्वका क्रममा गाउँबाट विस्थापित भएर लामो समय भारतमा माउण्टेन गाइडकारुपमा काम गरेका अध्यक्ष पुनले अहिले माओवादी सशस्त्र द्वन्द्वका क्रममा ठुलो मानवीय क्षति व्यहोरेको जेलवाङ गाउँलाई पर्यटन केन्द्रका रुपमा विकास गर्न अघि बढेका छन् । उनकाअनुसार नेपालका पहाडी क्षेत्रको अध्ययन गर्दै जेलवाङलाई जलजला-भावाङ-तकसेरा-ढोरपाटन हुँदै म्याग्दीसम्म रुट बनाएर काम गर्न सकिने बताए । ‘सशस्त्र द्धन्द्धमा सवैभन्दा मानवीय क्षति भएको गाउँ, मगर र दलित समुदायको मात्र बस्ती, फलाम खानीको गाउँ, सरकार र विद्रोही पक्षहरु लडेका र हिडेको गुरिल्ला ट्रयाकसँगै जेलवाङका धेरै आफ्नै मौलिक तथा साँस्कृतिक विशेषताहरु रहेका छन्,’ अध्यक्ष पुनले भने, ‘जेलवाङका यी विशेषताहरुसँगै यसलाई अन्य रोल्पाका धार्मिक, ऐतिहासिक पर्यटकिय स्थलहरुसँग जोडेर अघि बढाउन आवश्यक छ ।’
त्यसका लागि स्थानीय सरकार सकारात्मक रहेको र होमस्टे सन्चालनका लागि सहयोगसमेत गरेको उनले बताए । तर सानो बजेटका कारण पहाडी क्षेत्रमा काम गर्न अप्ठेरो रहेको उनी बताउँछन् । त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने र यो क्षेत्रमा स्थानीय, प्रदेश र संघीय सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने उनी बताउँछन् । जेलवाङमा पर्यटक ल्याउनका लागि आवश्यक भौतिक पूर्वाधारको विकाससँगै प्रचारप्रसार गर्न सके यसक्षेत्रसँगै जलजला, थवाङ, पूर्वी रुकुमको तकसेरासम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई तान्न सकिने स्थानीय बताउँछन् ।