सूचना व्यवस्थापन प्रभावकारी भए विपद् व्यवस्थापनमा सहज हुने
Friday, May 17th, 2024, 7:29 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, ४ जेठ
सूचना व्यवस्थापन प्रभावकारी भए विपद् व्यवस्थापनमा सहज हुने एक कार्यक्रममा औल्याइएको छ । लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को सहयोगमा नेपालगन्जमा आयोजित विपद् पूर्व तयारी र प्रतिकार्यका लागि आपतकालिन कार्यसञ्चालन केन्द्रको संस्थागतीकरण कार्याशालाका सहभागिहरुले बनाइएका कार्ययोजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका हुन्।
लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा विपद्का क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम् प्रतिनिधि सहभागीले विपद् व्यवस्थापन तथा पूर्वतयारीका लागि सूचना व्यवस्थापनको कार्य प्रभावकारी बनाउनुपर्ने भन्दै विपद् क्षेत्र बढी संबेदनशिल भएकाले यसको जोखिम न्युनीकरण गर्न स्थानीय समुदायस्तरसम्म सचेतना र पुर्व तयारीको सयन्त्रको व्यवस्था गर्नुपर्ने बताएका थिए।
कार्यक्रमको उद्दघाटन गर्दै लूम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थीले पछिल्लो समय विपद् सम्वन्धीका घटनाहरु बढी रहेकाले त्यसको व्यवस्थापन तथा पूर्व तयारीका लागि नीतिगत रुपमा सुधार गर्ने बताउनु भएको छ ।
नेपालगन्जमा शुरु भएको ‘विपद् पुर्वतयारी र प्रतिकार्यका लागि आपतकालिन कार्यसञ्चालन केन्द्रको संस्थागतीकरण’ दुईदिने कार्याशालाको उद्घाटन गर्दै मन्त्री पन्थीले विपद् व्यवस्थापन तथा न्युनीकरण र पुर्व तयारीका लागि सूचना व्यवस्थापन प्रभावकारी बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
विपद व्यवस्थापन तथा पुर्व तयारीका लागि सूचना प्रविधी बढी प्रभावकारी हुने भएकाले त्यसको प्रयोग गरि उच्च प्रविधीको जडान तथा प्रयोगको कार्य जिल्ला तथा स्थानीयस्तरसम्म कार्यन्वयन गर्ने तयारी भईरहेको मन्त्री पन्थीले भन्नुभयो।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विकास निमार्णको काम भन्दा पनि विपद् व्यवस्थापनको मुख्य कुरा भएकाले यसप्रति हामी सबैको चासो र ध्यान जान जरुरी रहेको भन्दै विपद् पूर्वतयारीका लागि स्थानीय तहको भुमिका अझ बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विपद् सम्वन्धी विभिन्न ऐन, कार्यविधी र निर्देशिका निमार्ण गरि प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको भन्दै पश्चिम नेपालको केन्द्रको रुपमा रहेको नेपालगन्जमा विपद व्यवस्थापन केन्द्र स्थापना गर्नुपर्ने जोड दिनुभयो ।
लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्र्तगत जिल्ला प्रशासन कार्यालयका विपद फोकल पर्सन, विभिन्न सरोकारवाला निकायका प्रतिनिधी, सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) अन्र्तगका कर्मचारी, विज्ञ लगायतको सहभागिता रहेको थियो ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा पनि सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ बर्षदेखि काम गरिरहेको छ