पालिका भलिबलको उपाधि नेपालगन्जलाई
Monday, November 1st, 2021, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १३ कात्तिक
नेपालगन्ज उप-महानगरपालिकाले जिल्लाव्यापी पालिका स्तरिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार खजुरा स्थित शुक्र रंगशालामा नेपालगन्जले कोहलपुर नगरपालिकालाई २-१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा तेस्रो स्थानका लागि भएको खेलमा राप्तीसोनारीले बैजनाथलाई २-० को सेटमा हरायो । प्रतियोगितामा उपाधि विजेता नेपालगन्जकी लक्ष्मी सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भइन । उनले नगद ५ हजार प्राप्त गरेकी थिइन । यसैगरी कोहलपुरकी निरुता शाही उत्कृष्ट स्पाइकर, कोहलपुरकै नितु सुनार उत्कृष्ट सेटर, नेपालगन्जकी क्रेस्ना चिलवाल उत्कृष्ट सर्भर, बैजनाथकी प्रतिक्षा चौधरी उदयीमान खेलाडीको रुपमा पुरस्कृत भइन । विधागत रुपमा उत्कृष्ट हुनेले जनही २ हजार प्राप्त गरे ।
प्रतियोगिताका विजेता खेलाडीलाई खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु लगायतले पुरस्कृत गरेका थिए ।
बाँके जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा बाँकेका आठ स्थानीय तहका महिला टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको विजेता नेपालगन्जले ५० हजार, उपविजेता कोहलपुरले ३० हजार, तेस्रो भएको राप्तीसोनारीले २० हजार र चौथो स्थान प्राप्त गर्ने बैजनाथले १० हजार रुपैयाँ प्राप्त गर्यो ।