बर्दियामा साहित्यिक उत्सव : प्रसिद्ध कवि मनु मन्जिललगायत आठजना जना स्रष्टाको विशेष प्रस्तुति
Monday, November 1st, 2021, 9:24 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ कात्तिक
बर्दियामा आज एक साहित्यिक उत्सवको आयोजना गरिएको छ । नेपालका प्रसिद्ध कवि मनु मन्जिलसमेतलाई आमन्त्रित गरी बारबर्दिया नगरपालिकाले भव्य कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रसिद्ध कवि मन्जिलसँगै कवि हेम प्रकाश मन्जिल र जीवराज पाण्डेले विशेष कविता वाचन गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरी गजल वाचनमा प्रसिद्ध गजलकारत्रय हुकम धड्कन, प्रदीप रोदन र संगीता थापालाई आमन्त्रण गरिएको छ । यसका साथै बर्दिया, बाँके, सुर्खेत, दैलेख, दाङ, कैलाली, कन्चनपुरसम्मका ६ दर्जनबढी साहित्यिक स्रष्टाहरुको जमघट पनि कार्यक्रममा हुने कार्यक्रमको व्यवस्थापन अगुवाई गरिरहेका गजलकार हरिप्रकाश भण्डारीले जानकारी दिए ।
यसैगरी कार्यक्रममा टिभि रियालिटी शो नेपाल आइडलबाट प्रसिद्धि कमाएका गायक प्रविण बेडवाल र स्थानीय कलाकार युगज्योति क्रियाशिलले सांगीतिक प्रस्तुति दिने कार्यक्रम पनि छ ।
कार्यक्रममा कविता, गजल र सांगितिक प्रस्तुतिहरु गरिने नगरपालिकाका मेयर दुर्गाबहादुर थारु (कबिर)ले जानकारी दिए । उनले समाजलाई नैतिकवान र समुन्नत बनाउन बौद्धिक पुट प्रदान गर्ने साहित्य र संगीतका सर्जकहरुलाई हौसला प्रदान गर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमको व्यवस्थापन गजलकार भण्डारीको अगुवाईमा स्थानीय थारु भाषा उत्थान मन्च (गोचाली परिवार)ले गरेको छ ।