नेपालगन्ज विमानस्थलमा बँदेलका कारण जोखिम
Tuesday, November 2nd, 2021, 6:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ कात्तिक
नेपालगन्ज विमानस्थलमा बँदेलका कारण मंगलबार एक जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । नेपालगन्जबाट हुम्ला सिमकोटका लागि उड्न लागेको ढल्-ब्ज्द्य नम्बरको जहाजसँग तीन वटा बँदेल ठोक्किएका थिए । जहाजमा ठोक्किएका तीनै वटा बँदेल मरेका छन् ।
नेपालगन्ज विमानस्थलका अनुसार मंगलबार बिहान करिब ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार उक्त जहाज हुम्लाका लागि उड्ने तयारीमा थियो । धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो अनुभुती भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए ।
जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बदेल टुक्रा टुक्रा परेको अवस्थामा फेला परेको थिए । दुर्घटनापछि नेपालगन्ज विमानस्थलको उडान केहीबेर बन्द गरिएको थियो ।
विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेला-बेलामा बदेल जहाजसँग ठोक्किने घटना दोहोरिँदै आएको छ । २०७६ मंसिर १९ मा पनि नेपालगन्ज विमानस्थलमा जहाजसँग बँदेल ठोक्किएको थियो । काठमाडौंबाट नेपालगन्ज ल्याण्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको थियो । त्यतिबेला पनि जहाज दुर्घटनाबाट जोगिएको थियो ।
नेपालगन्ज विमानस्थलको पुर्वदक्षिणमा वन क्षेत्र छ । त्यहाँबाट सहजै बन्यजन्तुहरु विमानस्थल प्रवेश गर्न सक्छन् । नेपालगन्ज विमानस्थल धावन मार्गकै आसपासमा झाडी बढेको छ । उक्त झाडीबाट बेला-बेलामा बँदेल, दुम्सी र स्याल निस्केर धावनमार्गमै आइपुग्ने गरेका छन् । दुई दिनअघि पनि विमानस्थलमा जहाजमा दुम्सी ठोक्किएपनि उक्त घटना बाहिर नआएको पाइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले नेपालगन्ज विमानस्थलमा झाडी बढेकोले वन्यजन्तुको बासस्थान बनेको बताए । झाडी सफा गरिएमा जनावरहरु नजिक बस्न नसक्ने उनले बताए ।
तर नेपालगन्ज विमानस्थलका प्रमुख सुभाष झाले झाडी सफा गराउन बजेट अभाव रहेको बताएको प्रजिअ खत्रीले जानकारी दिए । खत्रीले विमानस्थल प्रशासनले झाडी सफा गर्न बजेट अभाव देखाएपछि सुरक्षाकर्मी लगाएर भए पनि विमानस्थलभित्रको झाडी सफा गर्ने बताएका छन् ।