अदालतले माग्यो बीमा भुक्तानी नदिनुको कारण
Tuesday, November 2nd, 2021, 7:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ कात्तिक
कोरोना बीमा भुक्तानी नदिने इन्स्योरेन्स कम्पनीलाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले १५ दिने कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ध्रुवराज चन्दको एकल इजलाशले कोरोना बीमा भुक्तानी नगर्ने नेपालगञ्जका २० बीमा कम्पनीलाई मंगलबार कारण देखाउ आदेश जारी गरेको हो ।
कोरोना बीमा गरेका कम्पनीहरुले बीमितलाई बीमा भुक्तानी नगरेको भन्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा हिंजो रिट दायर भएको थियो । सार्वजनिक सरोकारको बिषय बनाउँदै बाँकेका अभिवक्ता तथा मानवअधिकारकर्मीहरुले रिट दायर गरेका थिए ।
उक्त रिटको सुनुवाई गर्दै बीमा कम्पनीहरुलाई बीमा भुक्तानी नगर्नुको कारण खुलाउन आदेश दिइएको हो । वीमा कम्पनीहरु २०७८ साल असार मसान्तसम्म बीमा रकम भुक्तानी गर्ने अवधि तोकेका थिए ।
तर अहिलेसम्म पनि उनीहरुले बीमा रकम भुक्तानी गर्न नसकेपछि ती कम्पनीहरुलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो । रिटमा बीमा कम्पनीहरुले सम्झौता गरेअनुसारको कोरोना बीमा भुक्तानी गर्न आलटाल गरेको उल्लेख गर्दै सम्झौता अनुसार रकम भुक्तानी गर्न माग गरिएको छ ।